मारुती सिमेन्ट उद्योग अगाडि प्रदर्शन, नसच्चिएसम्म आन्दोलन निरन्तर रहने

मुकेश कुमार यादव

सिरहा । मारुती सिमेन्ट उद्योगको गेट अगाडी प्रदर्शन भएको छ ।

सिमेन्ट उद्योगको गोरखधन्दाविरुद्ध गठित संघर्ष समितिले सोमबार विहान गरेको हो ।

सयौंको संख्यामा सहभागी प्रदर्शनकारीहरुले प्लेकार्डसहित उद्योगविरुद्ध चर्को नाराबाजी गरेको छन् । उनीहरूले ‘सार्वजनिक जग्गा फिर्ता गर, धुवाँ धुलो बन्द गर, रोजगारीमा स्थानीयलाई प्राथमिकता दे’ लगायतका नारासहित प्रदर्शन गरे ।

मारुती सिमेन्ट उद्योगले गोलबजार नगरपालिका र नरहा गाउँपालिकामा पर्ने झण्डै साढे तीन–चार बिघा वनको सार्वजनिक जग्गा अतिक्रमण गरेको छ ।

जग्गा अतिक्रमण मात्रै होइन, सिमेन्ट उद्योगबाट निस्कने प्रदुषित धुवाँले आसपासका बस्ती पनि जोखिममा छन् । मारुति सिमेन्ट उद्योग परिसरमै रहेको शारदा डिष्टिलरीले घुर्मी खोलाबाट बगाउँदै आएको विषादियुक्त पानीले पनि यहाँका सर्वसाधारणको स्वास्थ्यमा विभिन्न किसिमको समस्या देखिनुका साथै अन्नबालीमा पनि गम्भीर क्षति हुँदै आएको छ ।

मारुति सिमेन्ट र शारदा डिष्टिलरीको मनोमानीका कारण गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र नरहा गाउँपालिकासहित घुर्मी नदीको छेउमा रहेका दर्जनौं गाउँका लाखौं जनता प्रत्यक्ष रुपमा प्रभावित छन् ।

यहाँका स्थानीयहरुले जग्गा अतिक्रमण तथा प्रदुषण रोक्न निरन्तर रुपमा आवाज उठाउँदै आएका छन् । तर, यी कारखानाले भने केहि नेता तथा यहाँका जनप्रतिनिधिकै मिलेमतोमा अर्थात् शक्तिको आडमा मनमौजी गर्दै आएका छन् ।

आन्दोलनको कार्यक्रम अन्तर्गत भोलि मंगलबार हड्पिएको सार्वजनिक जग्गामा प्रदर्शन गर्ने कार्यक्रम रहेको समितिका संयोजक तथा तत्कालीन राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्षसमेत रहेका चिरञ्जीवी यादवले जानकारी दिए ।

सिमेन्ट उद्योग नसच्चिएसम्म आन्दोलन जारी रहने उनले बताए । यो आन्दोलन सबैको भएकाले सबैलाई सहभागी भइदिन उनले आग्रह पनि गरे ।