काठमाडौँ । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले नेपालको वर्तमान संविधान, न्यायपालिका र राजनीतिक दलहरूको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका छन् । संविधान निर्माणमा संलग्न शक्तिहरूले नै यसलाई क्षतविक्षत पार्ने प्रयास गरेको उनको टिप्पणी छ ।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता भट्टराईले प्रतिनिधिसभाको पहिलो र दोस्रो विघटनबाट संविधानलाई ‘डिरेल’ गर्ने र यसको ‘चीरहरण’ गर्ने कार्य प्रारम्भ भएको बताए ।
अदालतको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै भट्टराईले भने- ‘विगतमा अदालतले दुवै पटक संविधानलाई ट्र्याकमा ल्याइदिएको थियो, तर अहिले हाम्रो अदालतमा त्यो हिम्मत छ भन्ने मलाई महसुस हुन छोडेको छ । अदालत संविधानको मर्मअनुसार चल्न नसक्ने अवस्थामा पुगेको छ र पछिल्ला घटनाक्रमले न्यायालय भय र त्रासको भरमा टिकेको भान हुन्छ । अहिलेका राजनीतिक दलहरू प्राइभेट लिमिटेड कम्पनी (प्रालि) जस्ता भएका छन् । तिनलाई प्रतिरोध गर्ने क्षमता कसैमा पनि देखिएको छैन ।’
दलहरू विचार र सामूहिक निर्णयका आधारमा चल्न छोडेको उनको आरोप छ । दलहरूमा आन्तरिक लोकतन्त्रको अभाव र न्यायालयको कमजोर उपस्थितिले गर्दा आगामी दिनहरू थप चुनौतीपूर्ण रहेको उनको निष्कर्ष छ । –न्युज एजेन्सी नेपाल
