काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले नागढुङ्गा–मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका छन्।
पछिल्लो समय यस सडक खण्डको निर्माण कार्यमा देखिएका विभिन्न व्यवधान र ढिलाइबारे प्रत्यक्ष जानकारी लिन मन्त्री लम्साल निरीक्षणमा निस्किएका हुन्।
इन्धन र बिटुमिनको अभावले गर्दा यो सडक खण्ड मात्र नभई देशभरका विभिन्न सडक आयोजनाहरूको निर्माण कार्य समेत सुस्त वा ठप्प भएको अवस्था छ। अन्तर्राष्ट्रिय परिस्थितिका अतिरिक्त स्थानीय स्तरमा हुने अवरोध र ढुङ्गा, गिटी तथा बालुवा जस्ता निर्माण सामग्रीको सहज उपलब्धता नहुनु पनि काम रोकिनुको प्रमुख कारण बनेको छ। निर्माण व्यवसायीहरूले यी समस्याका बारेमा पटक–पटक सरकारलाई जानकारी गराउँदै आए पनि राज्य पक्षबाट पर्याप्त चासो नदिइएको गुनासो बढिरहेको थियो।
निर्माण व्यवसायीहरूको गुनासो र आयोजनाहरूमा देखिएको सुस्ततालाई गम्भीरतापूर्वक लिँदै मन्त्री लम्सालले समस्या समाधानका लागि स्वयं अनुगमनमा सक्रियता देखाएका हुन्। मन्त्रीले अनुगमनका क्रममा निर्माण कार्यलाई गति दिन आइपरेका चुनौती र तिनको निराकरणका उपायबारे सरोकारवालासँग छलफल समेत गरेका छन्।
