नेपालको लोकतान्त्रिक यात्रामा केही राजनीतिक दल केवल ‘दल’ मात्र होइनन्, इतिहासका संवाहक पनि हुन् । ती दलहरूभित्र पनि नेपाली कांग्रेस एउटा त्यस्तो राजनीतिक संस्था हो, जसले नेपाली समाजमा लोकतन्त्र, नागरिक स्वतन्त्रता, बहुलवाद र संवैधानिकताको विचारलाई संस्थागत गर्न निर्णायक भूमिका खेलेको छ ।
त्यसैले नेपाली कांग्रेस कमजोर हुनु केवल एउटा दल कमजोर हुनु होइन, लोकतान्त्रिक संस्कार नै कमजोर हुनु हो । र, नेपाली कांग्रेस ऐक्यबद्ध हुनु केवल संगठनात्मक आवश्यकता होइन, वर्तमान नेपालको लोकतान्त्रिक भविष्यसँग जोडिएको ऐतिहासिक आवश्यकता हो ।
लोकतन्त्र केवल चुनाव जित्ने प्रक्रिया होइन । लोकतन्त्र भनेको संस्थागत संयम, शक्ति सन्तुलन, संवाद, असहमतिको सम्मान र विधिको शासन हो । तर पछिल्लो समय नेपालमा एउटा डोपामिन राजनीति विकसित भइरहेको देखिन्छ, जहाँ निर्णयभन्दा प्रदर्शन, संस्थाभन्दा व्यक्तित्व, बहसभन्दा उत्तेजना र प्रक्रियाभन्दा लोकप्रियता बढी महत्त्वपूर्ण बनाइँदैछ ।
यसै कारणले अहिले नेपाली कांग्रेसको ऐक्यबद्धता केवल दलगत प्रश्न होइन, लोकतान्त्रिक प्रतिरक्षाको प्रश्न बनेको छ । नेपाली कांग्रेस र लोकतन्त्रको ऐतिहासिक सम्बन्ध छ । नेपालमा लोकतन्त्रको इतिहास पढ्दा नेपाली कांग्रेसलाई अलग गरेर पढ्न सकिँदैन । राणा शासनविरुद्धको आन्दोलनदेखि ००७ सालको परिवर्तन, पञ्चायतविरोधी संघर्षदेखि ०४६ को जनआन्दोलन र गणतन्त्रसम्मको यात्रामा कांग्रेसले लोकतान्त्रिक चेतनाको वाहकको भूमिका खेलेको छ ।
हिले कांग्रेस स्वयं गम्भीर आत्मसंकटबाट गुज्रिरहेको छ । संगठनात्मक अविश्वास, अनुशासनको राजनीतिक प्रयोग, सदस्यता वितरणमा अपारदर्शिता, पुस्तागत अविश्वास र नेतृत्वबिचको मनोवैज्ञानिक दूरीले पार्टीलाई कमजोर बनाइरहेको छ । अझ खतरनाक कुरा के भने, कांग्रेसभित्रको संघर्ष वैचारिक भन्दा बढी व्यवस्थापकीय र व्यक्तिगत स्वरूपमा झर्दै गएको छ ।
जब कुनै लोकतान्त्रिक दल आफ्नो आन्तरिक लोकतन्त्र गुमाउन थाल्छ, तब उसले समाजमा लोकतन्त्रको रक्षा गर्ने नैतिक बल पनि क्रमशः गुमाउँदै जान्छ ।
आज नेपालमा प्रणाली भन्दा व्यक्तिलाई ठुलो बनाउने प्रवृत्ति बढ्दो छ । सामाजिक सञ्जालको युगले यो प्रवृत्तिलाई अझ तीव्र बनाएको छ । कुनै पनि संस्थागत प्रक्रियालाई ढिलासुस्ती भनेर खारेज गर्ने र एकल निर्णयलाई निर्भीक नेतृत्वका रूपमा प्रस्तुत गर्ने शैली लोकप्रिय बनिरहेको छ । वालेन्द्र शाहको राजनीतिक उदय यही सामाजिक मनोविज्ञानको परिणाम हो । उनले भ्रष्ट, थाकेका र जनताबाट टाढिएका पुराना दलहरूप्रति रहेको असन्तोषलाई प्रतिनिधित्व गरे ।
तर समस्या त्यहाँबाट सुरु हुन्छ, जहाँ जनअसन्तोषलाई संस्थामाथिको अविश्वासमा रूपान्तरण गरिन्छ । लोकतन्त्रमा जनमत महत्त्वपूर्ण हुन्छ, तर जनमतलाई पनि संस्थागत मर्यादा, कानुनी प्रक्रिया र संवैधानिक सीमाभित्र सञ्चालन गरिनुपर्छ । यदि कुनै लोकप्रिय नेता ‘म नै राज्य हुँ’ भन्ने मनोविज्ञानतर्फ उन्मुख हुन्छ भने लोकतन्त्र क्रमशः सङ्कुचित हुन थाल्छ । अदालत, संसद, दल, सञ्चारमाध्यम र नागरिक समाजलाई बाधक शक्तिका रूपमा चित्रण गरिनु लोकतन्त्रका लागि शुभ संकेत होइन । लोकतन्त्रको मृत्यु सधैं ट्यांकबाट मात्र हुँदैन, कहिलेकाहीँ अत्यधिक ताली र उत्तेजित भीडबाट पनि हुन्छ ।
त्यसैले अहिले नेपाली कांग्रेसले आफ्नो ऐतिहासिक जिम्मेवारी सम्झन आवश्यक छ । यदि लोकतान्त्रिक शक्ति स्वयं विभाजित र दिशाहीन रह्यो भने खाली भएको राजनीतिक ठाउँ व्यक्तिवादी शक्ति केन्द्रहरूले भरिदिन्छन् । नेपाली कांग्रेस किन एक हुन सकिरहेको छैन ? कांग्रेस भित्रको संकट केवल नेतृत्वको टकराब होइन; त्यो संरचनागत र मनोवैज्ञानिक दुवै संकट हो ।
पहिलो, पार्टीभित्र विश्वासको गम्भीर अभाव छ । नेतृत्वले एक अर्कालाई प्रतिस्पर्धी मात्र होइन खतराका रूपमा हेर्न थालेको छ । दोस्रो, सङ्गठनात्मक निर्णयहरूमा पारदर्शिता कमजोर भएको छ । क्रियाशील सदस्यता वितरणदेखि केन्द्रीय समिति चयनसम्म धेरै तहमा निष्पक्षताको प्रश्न उठेको छ । तेस्रो, अनुशासनिक कारवाहीलाई कहिलेकाहीँ राजनीतिक अस्त्रका रूपमा प्रयोग गरिएको अनुभूति कार्यकर्तामा छ । चौथो, कांग्रेसले नयाँ पुस्तालाई पर्याप्त सम्मानजनक स्थान दिन सकेको छैन भने नयाँ पुस्ताले पनि सङ्गठनात्मक धैर्य गुमाउँदै गएको देखिन्छ ।
यसै कारणले पार्टीभित्र समानान्तर मनोविज्ञान विकसित भएको छ । एक पक्षले आफूलाई वैधानिक शक्ति ठान्छ, अर्को पक्षले आफूलाई नैतिक शक्ति । जब वैधानिकता र नैतिकता अलग–अलग ध्रुवमा उभिन्छन्, तब संगठन कमजोर हुन्छ । यस्तो अवस्थामा काँग्रेसलाई केवल भाषणले होइन, संरचनात्मक सहमतिले जोड्न सकिन्छ । त्यसका लागि केही साहसी राजनीतिक निर्णय आवश्यक छन् ।
पहिलो, एकताको महाधिवेशनको अवधारणा अगाडि बढाइनुपर्छ । अहिलेको विवादलाई सामान्य प्रक्रियाले समाधान गर्न कठिन देखिन्छ । एकताको महाधिवेशनले नयाँ वैधानिक र नैतिक सुरुआतको अवसर दिन सक्छ । दोस्रो, चौधौं महाधिवेशनबाट बनेको कार्यसमिति र विशेष महाधिवेशनपछिको संरचनालाई समायोजन गरेर साझा कार्यसमिति बनाइनुपर्छ । यो केवल भागबन्डा होइन, पारस्परिक स्वीकृतिको प्रक्रिया हुनेछ ।
तेस्रो, सबै पक्षको प्रतिनिधित्व हुने कार्यसम्पादन समिति गठन गरिनुपर्छ । कांग्रेसलाई अहिले ‘विजेता’ वा ‘पराजित’को मनोविज्ञानबाट बाहिर निकाल्नु आवश्यक छ । चौथो, आगामी महाधिवेशन निष्पक्ष र विश्वसनीय बनाउन स्वतन्त्र तथा सर्वस्वीकार्य निर्वाचन समिति गठन गर्नुपर्छ । यदि संगठनभित्र निर्वाचन प्रक्रियामै विश्वास रहेन भने लोकतन्त्रको कुरा केवल नारामा सीमित हुन्छ ।
पाँचौँ, विगतका अनुशासनिक कारवाहीहरूको पुनरावलोकन गरिनुपर्छ । राजनीतिक असहमतिलाई अपराधझैं व्यवहार गरियो भने पार्टीभित्र भयको संस्कृति विकसित हुन्छ । काँग्रेसलाई दण्डको संगठन होइन, संवादको संगठन बनाउनु आवश्यक छ । छैटौं, क्रियाशील सदस्यता वितरण पूर्णतः पारदर्शी बनाइनुपर्छ । सदस्यता नै यदि नियन्त्रणको साधन बन्यो भने लोकतान्त्रिक प्रतिस्पर्धा असम्भव हुन्छ ।
र अन्ततः, पन्ध्रौं महाधिवेशनलाई केवल नेतृत्व चयनको कार्यक्रम होइन, एकताको महाधिवेशनका रूपमा रूपान्तरण गर्नुपर्छ । यसका साथै डा. शेखर कोइराला र गगन थापाबिच उन्नत समझदारी किन आवश्यक छ ? भन्नेबारेमा पनि त्यति नै गम्भीर विमर्श गर्नुपर्छ ।
डा. शेखर कोइराला कांग्रेसको परम्परागत लोकतान्त्रिक विरासत, सङ्गठनात्मक धैर्य र वैचारिक निरन्तरताका प्रतिनिधि हुन् । गगन थापा नयाँ पुस्ताको आकांक्षा, गतिशीलता र परिवर्तनको भाषाका प्रतिनिधि हुन् । यदि यी दुई धारबिच विश्वासपूर्ण सहकार्य निर्माण भयो भने कांग्रेसले पुरानो अनुभव र नयाँ ऊर्जालाई एउटै राजनीतिक दिशामा जोड्न सक्छ ।
आज कांग्रेसभित्र सबैभन्दा धेरै चासोको विषय डा. शेखर कोइराला र गगन थापाबिचको सम्बन्ध हो । यी दुई नेता केवल दुई व्यक्ति होइनन्; कांग्रेसभित्रका दुई मनोविज्ञानका प्रतिनिधि पनि हुन् ।
डा. शेखर कोइराला कांग्रेसको परम्परागत लोकतान्त्रिक विरासत, सङ्गठनात्मक धैर्य र वैचारिक निरन्तरताका प्रतिनिधि हुन् । गगन थापा नयाँ पुस्ताको आकांक्षा, गतिशीलता र परिवर्तनको भाषाका प्रतिनिधि हुन् । यदि यी दुई धारबिच विश्वासपूर्ण सहकार्य निर्माण भयो भने कांग्रेसले पुरानो अनुभव र नयाँ ऊर्जालाई एउटै राजनीतिक दिशामा जोड्न सक्छ । तर यी दुईबिच अविश्वास बढ्यो भने त्यसले केवल नेतृत्व विभाजन गर्दैन; कांग्रेसको भावी पुस्तालाई पनि विभाजित बनाउँछ ।
इतिहासमा धेरै लोकतान्त्रिक दलहरू व्यक्तित्व संघर्षका कारण कमजोर भएका छन् । कांग्रेसले त्यो गल्ती दोहोर्याउनु हुँदैन । अहिलेको आवश्यकता ‘को ठूलो नेता’ भन्ने होइन, ‘कसरी ठूलो लोकतान्त्रिक शक्ति निर्माण गर्ने’ भन्ने हो ।
डा. शेखर र गगनबिचको उन्नत समझदारी व्यक्तिगत समीकरणभन्दा माथिको कुरा हो । त्यो कांग्रेसको भावी वैचारिक पुनर्निर्माणको आधार बन्न सक्छ । यदि उनीहरू साझा न्यूनतम लोकतान्त्रिक कार्यक्रम, सङ्गठनात्मक सुधार र निष्पक्ष महाधिवेशनको एजेन्डामा सहमत हुन्छन् भने कांग्रेस पुनर्जीवित हुन सक्छ ।
नेपाल अहिले केवल सरकारको संकटमा छैन; राजनीतिक संस्कृतिको संकटमा छ । संस्थामाथिको अविश्वास, व्यक्तिपूजा, उत्तेजनात्मक राजनीति र वैचारिक शून्यताले लोकतन्त्रलाई क्रमशः कमजोर बनाइरहेको छ । यस्तो बेला नेपाली कांग्रेसको ऐक्यबद्धता कुनै साधारण दलगत घटना हुँदैन । त्यो लोकतान्त्रिक सन्तुलन पुनस्र्थापित गर्ने प्रक्रिया बन्न सक्छ । कांग्रेसले अब बुझ्नुपर्छ– विभाजित कांग्रेसले केवल आफूलाई होइन, लोकतन्त्रलाई पनि कमजोर बनाउँछ । र, इतिहासले सधैं त्यही दललाई क्षमा गर्दैन, जसले आफ्नो ऐतिहासिक जिम्मेवारीको क्षणमा आफूलाई नै प्राथमिकता दियो ।
नेपाली कांग्रेसभित्र ‘इलु इलु’ अर्थात् ‘आई लभ यु’को खोजी गर्नु भनेको सतही रोमान्स खोज्नु होइन; त्यो पार्टीभित्र हराउँदै गएको विश्वास, आत्मीयता, सहअस्तित्व र राजनीतिक सहिष्णुताको पुनर्खोज हो । आज कांग्रेसभित्र विचारको द्वन्द्वभन्दा बढी मनोवैज्ञानिक दूरी देखिन्छ । एउटै पार्टी भित्रका नेताहरू एक अर्कालाई सहयात्रीभन्दा प्रतिस्पर्धी र प्रतिस्पर्धीभन्दा पनि ‘सक्नुपर्ने अवरोध’ जस्तो व्यवहार गर्न थालेका छन् । यस्तो अवस्थामा संगठन संरचनाले मात्र पार्टी जोगिँदैन; पार्टीलाई जोड्ने भावनात्मक र नैतिक काख पनि चाहिन्छ । त्यही काख हो– राजनीतिक इलु इलु ।
लोकतान्त्रिक दलहरू केवल विधानले टिक्दैनन्, उनीहरू ‘म्युचुअल अकोमोडेशन’ले टिक्छन् । अर्थात ‘तिमी पनि आवश्यक छौ, म पनि आवश्यक छु’ भन्ने स्वीकारोक्ति । कांग्रेसको संकट यही स्वीकारोक्तिको संकट हो । सबै पक्ष आफूलाई असली कांग्रेस ठान्छन्, तर अर्को पक्षलाई कांग्रेसकै अनिवार्य हिस्साका रूपमा स्वीकार गर्न कठिन मान्छन् । त्यसैले अहिले कांग्रेसभित्र इलु इलु खोज्नु भनेको एकअर्कालाई समाप्त गर्ने होइन, सह–अस्तित्व स्वीकार गर्ने संस्कार खोज्नु, असहमतिलाई शत्रुता नबनाउने परिपक्वता खोज्नु, पुस्ताबिच संवाद पुनर्स्थापित गर्नु र संगठनलाई केवल सत्ता प्राप्तिको मेसिन होइन, साझा लोकतान्त्रिक घर बनाउनु हो ।
शेखर कोईराला र गगन थापाबिच उन्नत समझदारीको बहस पनि मूलतः यही इलु इलुको राजनीतिक संस्करण हो । यसको अर्थ व्यक्तिगत प्रेम होइन; पारस्परिक ऐतिहासिक आवश्यकता बुझ्नु हो । कांग्रेसको इतिहास हेर्दा ठूला आन्दोलनहरू त्यतिबेला सफल भएका छन्, जब नेताहरूले व्यक्तिगत महत्त्वाकाङ्क्षा भन्दा साझा उद्देश्यलाई माथि राखेका छन् । र, कांग्रेस कमजोर त्यतिबेला भएको छ, जब ‘म बिना पार्टी चल्दैन’ भन्ने अहंकार ‘हामी बिना लोकतन्त्र चल्दैन’ भन्ने चेतनाभन्दा ठूलो बनेको छ ।
आजको समयमा यो प्रश्न अझ महत्वपूर्ण छ, किनकि बाहिर व्यक्तिवादी र उत्तेजनात्मक राजनीति बलियो हुँदैछ । यदि लोकतान्त्रिक शक्ति स्वयंभित्र आत्मीयता, विश्वास र संवाद बाँकी रहेन भने लोकतन्त्र केवल चुनावी अङ्कगणितमा सीमित हुन्छ । कांग्रेसभित्र अहिले धेरै कुरा छ– गुट छ, रणनीति छ, समीकरण छ, महाधिवेशन छ, शक्ति संघर्ष छ । तर सायद अभाव एउटा कुराको छ– तिमी हा¥यौ भने म कमजोर हुन्छु भन्ने लोकतान्त्रिक संवेदनाको ।
त्यसैले कांग्रेसभित्र इलु–इलुको खोजी वास्तवमा प्रेमको होइन, लोकतान्त्रिक सहजीवनको खोजी हो ।
