काठमाडौँ । वर्षा सिजन सुरु नहुँदै बीपी राजमार्गको यात्रा चुनौतीपूर्ण बनेको छ । वैशाख यता यो राजमार्ग चार/पाँच पटक अवरुद्ध भइसकेको छ ।
खासगरी भकुन्डेदेखि नेपालथोकसम्म रोशी खोला हुँदै डाइभर्सन गरी यातायात सञ्चालन हुँदै आएको छ । केही घण्टाको वर्षामै रोशी खोलामा भेलबाढी आउने भएका कारण यो खण्डको यात्रा जोखिमपूर्ण हुने गरेको छ ।
हाल बीपी राजमार्गको विभिन्न खण्डमा निर्माण र मर्मतको काम भइरहेको छ । न्यौपानेका अनुसार सडकको सतह (रोड लेभल) भन्दा माथि उठाएर गाडी गुडाउने गरी काम भइरहेको छ । ‘वर्षामा बीपी राजमार्ग मज्जाले चल्छ, हाम्रो तयारी त्यही अनुसार छ,’ उनले भने, ‘पोहोर पनि हामीले वर्षामा सडक चलाएकै हौँ । कुनै ठुलो प्राकृतिक विपद् बाहेक सडक अवरुद्ध हुने छैन ।’
सडकलाई सुरक्षित बनाउन अहिले रिटेनिङ वाल, चेक ड्याम र कफर ड्यामको काम भइरहेको न्यौपानेले जानकारी दिए । साथै, धेरैले बेली ब्रिजको आवश्यकता औँल्याए पनि हाललाई त्यस्तो आवश्यकता नरहेको र सडककै उचाइ बढाएर समस्या समाधान गरिने उनको भनाइ छ । सुरक्षाका कारण हाल रात्रिकालीन समयमा सो सडकमा यात्रा गर्न रोक लगाइएको उनको भनाइ छ ।
यस्तै सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले आगामी वर्षा याममा बीपी राजमार्गमा यातायात सञ्चालन सहज हुने र सडक अवरुद्ध नहुने दाबी गरे । हाल सडक मर्मत र स्थायी संरचना निर्माणको काम तीव्र गतिमा भइरहेकाले वर्षामा आउने बाढीले पनि यातायात अवरुद्ध नहुने उनले बताए ।
अहिले पटक–पटक सडक अवरुद्ध हुने गरेको सन्दर्भमा बोल्दै प्रमुख योगेशले अहिलेको समस्या मौसमी नभई निर्माण व्यवस्थापनका कारण भएको स्पष्ट पारे । सडकका मुख्य भागहरूमा स्थायी पर्खाल लगाउने काम भइरहेकाले सवारी साधनहरूलाई खोलाको बाटो (डाइभर्सन) बाट पठाउँदा बेमौसमी वर्षाले केही अप्ठ्यारो पारेको उनको भनाइ छ ।
‘अहिले काम गर्ने समय भएकाले हामीले गाडीलाई तल खोलाको बाटोमा हालेका हौँ, तर बिचमा पानी आएकाले केही समस्या देखिएको हो, यो वर्षाको समस्या होइन,’ उनले भने ।
योगेशका अनुसार बीपी राजमार्गको मर्मत सम्भारको समग्र प्रगति करिब २७ देखि २८ प्रतिशत पुगेको छ, तर सडकका अत्यन्त जोखिमपूर्ण र संरचना बनाउनै पर्ने ठाउँहरूमा भने ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ । सडकलाई दिगो बनाउनका लागि विभिन्न खण्डमा आरसीसी वाल र प्लम वालजस्ता बलिया र स्थायी संरचनाहरू निर्माण भइरहेका छन् ।
उनले थपे, ‘अहिले धेरै ठाउँमा फाउन्डेसन (जग)भन्दा माथि काम आइसकेको छ । कतै एक त कतै दुई लिफ्ट वाल उठाउने बित्तिकै त्यहाँ फिलिङ गरेर सवारी चलाउन सकिने अवस्था बन्छ ।’
सडक डिभिजन कार्यालयले आगामी १० दिनभित्रै धेरैजसो ठाउँमा सवारी साधनहरूलाई खोलाको बाटोबाट हटाएर मुख्य सडक (एलाइनमेन्ट) बाटै सञ्चालन गर्ने लक्ष्य राखेको छ । बर्खायाम पूर्ण रूपमा सुरु हुनुअगावै यी सबै स्थायी संरचनाको काम सकेर सडक माथिबाटै गाडी चलाउने तयारी गरिएको छ । यसो भएपछि खोलामा बाढी आए पनि राजमार्गको यातायातमा कुनै अवरोध नहुने योगेशले दाबी गरे ।
२०८१ असोज दोस्रो साता परेको अविरल वर्षासँगै आएको बाढीले बीपी राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म करिब ३०.५ किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त भएको थियो । क्षतिग्रस्त राजमार्गको ३.२ किलोमिटर बाहेक २७.३ किलोमिटर खण्डमध्ये काभ्रे र सिन्धुलीतर्फ गरी तीन प्याकेज बनाएर ठेक्का लगाई पुनर्निर्माणको काम भइरहेको छ । ३.२ किलोमिटर जापानले पुनर्निर्माण गर्ने उल्लेख छ ।
साथै ठेक्का लागेका प्रत्येक खण्ड सम्झौता भएको मितिले २ वर्षभित्र सम्पन्न गर्नुपर्ने र दुई लेनमा विस्तार गर्ने सम्झौतामा उल्लेख छ ।
यसमध्ये राजमार्गको भकुन्डेबेंसीदेखि चारसयबेंसीसम्म ११ किलोमिटर खण्ड लामा–नवकान्तिपुर जेभीले १ अर्ब १४ करोड रुपैयाँमा लागतमा पुनर्निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको छ । यस्तै चारसयबेंसीदेखि डालाबेंसीसम्म ९ किलोमिटर सडक खानी–कमलजित–एवान जेभीसँग भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा सम्झौता भएको हो । दुवै ठेक्काको सम्झौता असार २०८२ मा भएको हो ।
पिप्लेदेखि डालाबेंसीसम्मको २.३ किलोमिटर खण्डको ठेक्का उमा एन्ड कम्पनी–भण्डारी–अमरज्योति जेभीसँग कात्तिक २०८२ मा सम्झौता भएको हो । यस खण्डको ठेक्का रकम ६८ करोड ८० लाख रुपैयाँ छ । जापान सहयोग नियोग (जाइका)ले पिप्लेदेखि बर्खेखोलासम्म ३.२ किलोमिटर सडक पुनर्निर्माण गर्ने उल्लेख छ । २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान सहयोगमा जापानले उक्त खण्डमा निर्माण गर्ने जनाएको छ ।
यस्तै बर्खे खोलादेखि नेपालथोकसम्मको ५ किलोमिटर खण्ड सिन्धुलीअन्तर्गत छ । उक्त खण्डको ठेक्का खरीढुंगा–घिसिङ–क्षितिज जेभीले पाएको छ । यस खण्डको लागत भ्याटबाहेक ५५ करोड रुपैयाँमा सम्झौता भएको छ ।
यस्तै जापानले पुनर्निर्माण गर्ने भनिएको ३.२ किलोमिटर खण्डमा अहिले स्थायी पुनर्निर्माण सुरु हुन सकेको छैन । पिप्लेदेखि बर्खेखोलासम्म ३.२ किलोमिटर यस सडक खण्डमा पनि सडक डिभिजन भक्तपुरले वर्षामा समस्या हुन नदिने गरी अस्थायी मर्मतको काम गरिरहेको जनाएको छ ।
जापानी ठेकदार कम्पनीका प्रतिनिधिहरूले हाल कार्यस्थलमै पुगेर प्राविधिक अध्ययन गरिरहेका छन् । निर्माण कार्यकै चरणमा नभए पनि उनीहरूले गर्ने अध्ययनले राजमार्गको भविष्यको सुरक्षा र गुणस्तरमा ठुलो सहयोग पुग्ने विश्वास गरिएको छ ।
वर्षायाम सुरु हुनेबित्तिकै बीपी राजमार्गमा बाढीका कारण सडक अवरुद्ध समस्याले यात्रुहरूले ठुलो सास्ती भोग्दै आएका छन् । तर, अब सडक डिभिजनले बर्खा अगावै स्थायी सुरक्षा पर्खालहरू निर्माण गरिसक्ने भएकाले यात्रा सुरक्षित र भरपर्दो हुने आयोजनाको दाबी छ ।
