जनकपुरधाम । प्रत्येक वर्ष खेती गर्ने समयमा किसानले रासायनिक मलको अभाव झेल्नुपर्ने बाध्यता निम्तिन्छ । समयमै मल आपूर्ति नहुँदा किसानले सिजनमै मलको अभाव सामना गर्नुपर्ने नियति छ ।
यतिबेला मकै बालीका लागि रासायनिक मल आवश्यक पर्छ । केही महिनामै धान खेतीका लागि पनि मलको जोहो गर्नुपर्ने बाध्यतामा किसान छन् ।
रोपाइँ गर्ने समय आउन लाग्दा सरकारको अनुदानको मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधाममा मधेसका लागि डीएपी र युरिया मलको मौज्दात आवश्यकता बमोजिम छैन ।
एक पटक रासायनिक मल प्रयोग गरिसकेको खेतमा अर्को पटक रासायनिक मल प्रयोग नगर्दा धान, गहुँ लगायतका बालीको उत्पादकत्व निकै कम हुने गरेको किसान बताउँछन् । त्यसैले खेती गर्दा रासायनिक मल प्रयोग गर्नैपर्ने वाध्यता रहेको उनीहरूको भनाइ छ ।
मधेस प्रदेशका लागि चाहिने मलको अनुपातमा कम उपलब्ध भएकाले अहिले मलको अभाव देखिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेस प्रदेशका बाली विकास अधिकृत रविन बस्नेतले बताए ।
उनले भने, ‘मलको परिपूर्र्तिका लागि सोझै खरिद गर्ने अवस्था नरहेकाले साल्ट ट्रेडिङ र कृषि सामग्री मार्फत औपचारिक/अनौपचारिक सम्पर्क गर्दा बाहिरबाट आउने सम्भावन न्यून रहेको खबर पाएका छौँ ।’ संघीय मन्त्रालयबाट वैकल्पित उपाय अपनाउन भनिएकाले सोही अनुसार काम अगाडि बढाएको उनको भनाइ छ ।
कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश वीरगंजका सूचना अधिकारी दिनेश शर्माका अनुसार मुलुकका लागि जति रासायनिक मल चाहिएको छ, सो अनुसार आपूर्ति हुन नसक्दा अभाव बढेको हो । उनले भने, ‘माग र आपूर्ति समान छैन । मुलुकका लागि १७ देखि १८ लाख मेट्रिक टन मलको आवश्यकता छ, तर सरकारले ३ देखि ४ लाख मेट्रिक टन रासायनिक मलमात्र ल्याउन सकेकाले अभाव सिर्जना हुँदै आएको छ ।’
शर्माका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण खरिद गरिएको सामान पनि रोकिएको अवस्था छ । यद्यपि पटक–पटक युरिया मल ल्याइएकाले यस वर्ष युरिया मलको अभाव हुने छैन, डीएपी मलको अभाव देखिन सक्ने उनको भनाइ छ ।
कृषि सामग्री प्रादेशिक कार्यालयको साउन १ देखि चैत ३० गतेसम्मको आवधिक तथ्याङ्क अनुसार युरिया मल २७ हजार ४३१ मेट्रिक टन, डीएपी १० हजार २१५ मेट्रिक टन, पोटास ४ हजार ७५८ मेट्रिक टन, चुन ५२ मेट्रिक टन लगायत अन्य मल गरी जम्मा ४२ हजार ६२८ मेट्रिक टन मल स्टक छ ।
