स्वतन्त्र उम्मेदवारका रूपमा राजनीतिमा उदाएका बालेन्द्र (बालेन) शाह अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन् । उनी बलियो जनाधारका साथ यतिखेर प्रधानमन्त्री छन् । उनी चटक देखाएर वाहवाही बटुल्न चाहन्छन् । उनी दोस्रो जंगबहादुर बन्न चाहन्छन् ।

जनभावनालाई तुरुन्त सन्तुष्ट पार्ने प्रयासमा उनले परम्परागत दलहरूलाई चुनौती मात्र दिएनन् बरू उनीहरूको भूमिका पुनः परिभाषित गर्न बाध्य बनाइदिए । यस्तो परिवेशमा, नेपालको पुरानो र संस्थागत रूपमा बलियो दल नेपाली कांग्रेसको भूमिका कस्तो रह्यो र अब कसरी बढ्ने भन्ने प्रश्न अत्यन्त महत्त्वपूर्ण छ ।

नेपाली कांग्रेस लामो समयदेखि लोकतान्त्रिक आन्दोलनको धरोहर बोकेको दल हो । यसको राजनीतिक संस्कृति, प्रक्रिया, संस्थागतता र दीर्घकालीन नीति निर्माणमा आधारित छ । तर बालेन शाहको शैली यसको ठिक उल्टो, छिटो निर्णय, प्रत्यक्ष हस्तक्षेप र सामाजिक सञ्जालमार्फत जनसम्पर्कमाथि आधारित छ । यसै कारणले कांग्रेसलाई दुई विकल्पबिच उभ्यायो ।
एक, नयाँ नेतृत्वसँग सहकार्य गर्दै परिवर्तनलाई आत्मसात गर्ने । दोस्रो, त्यसको आलोचना गर्दै आफ्नै परम्परागत राजनीति जोगाउने । वास्तवमा, कांग्रेसले यी दुईबिच स्पष्ट र सुसंगत रणनीति बनाउन सकेन । परिणामस्वरूप, कतै समर्थन, कतै आलोचना र कतै मौनताको मिश्रित अवस्था देखियो ।

बालेन शाहका केही कदम, जस्तै अवैध संरचना हटाउने अभियान, सार्वजनिक स्थानको संरक्षण वा प्रशासनिक कठोरता एकथरिले मन पराए, कोही पीडित बने । तर यी कदमहरू कहिले काहीँ कानुनी प्रक्रिया, मानवअधिकार वा दीर्घकालीन नीतिसँग ठोक्किने जोखिममा पनि पर्न सक्छन् । यही ठाउँमा नेपाली कांग्रेसको भूमिका महत्त्वपूर्ण हुनुपर्ने थियो ।

कांग्रेसले एउटा जिम्मेवार प्रतिपक्षका रूपमा काम गर्दै यी प्रश्नहरू उठाउन सक्थ्योः के सबै कारबाही विधिसम्मत छन् ? के निर्णयहरू पारदर्शी र उत्तरदायी छन् ? के तिनीहरूले दीर्घकालीन समाधान दिन्छन् वा केवल क्षणिक सन्तुष्टि ? तर व्यवहारमा, कांग्रेसले यस्तो बौद्धिक र संस्थागत प्रतिपक्षको भूमिका पूर्ण रूपमा निर्वाह गर्न सकेन । आलोचना भएपनि त्यो प्रायः प्रतिक्रियात्मक र असंगठित देखियो ।
बालेन शाहको शासन शैलीलाई ‘चटके सरकार’ भन्न सकिन्छ, जहाँ निर्णयहरू तत्काल जनसन्तुष्टि दिने खालका हुन्छन् । यस्तो राजनीतिले दीर्घकालीन संस्थागत प्रक्रियालाई कमजोर पार्ने खतरा रहन्छ । नेपाली कांग्रेसले यसलाई वैचारिक रूपमा चुनौती दिन सक्थ्यो ।

तर समस्या के भयो भने, काँग्रेस स्वयं पनि कहिलेकाहीँ यही शैलीको दबाबमा आयो । सामाजिक सञ्जालमा लोकप्रियता गुम्ने डरले काँग्रेस नेताहरूले स्पष्ट वैचारिक प्रतिवाद गर्न हिचकिचाए । यसले कांग्रेसलाई न त पूर्ण समर्थनकर्ता बनायो, न त प्रभावकारी आलोचक । बरु एक प्रकारको ‘अलमलिएको दर्शक’ बनाइरहेको छ ।

वैचारिक संकट र नेतृत्वको अभाव छ । संगठन कानुनी र नैतिक उल्झनमा छ । बालेन शाहको उदयले केवल एउटा व्यक्तिको लोकप्रियता मात्र देखाएन, यसले परम्परागत दलहरूको वैचारिक संकट पनि उजागर गर्‍यो । काँग्रेसको समस्या केवल संगठनात्मक होइन, वैचारिक पनि हो ।

के कांग्रेस अझै पनि परिवर्तनको वाहक हो ? कि ऊ केवल ‘स्टाटस को’ को रक्षक हो ? जब कुनै नयाँ नेतृत्वले जनताको अपेक्षा छिटो सम्बोधन गर्न थाल्छ, पुराना दलहरूले आफ्नो वैचारिक धार स्पष्ट गर्नुपर्छ । कांग्रेस यसमा कमजोर देखियो ।

यतिबेला लोकतन्त्रको दीर्घकालीन सन्तुलन बिग्रेको छ । लोकतन्त्र केवल लोकप्रिय निर्णयहरूको खेल होइन; यो प्रक्रिया, संस्थागतता र उत्तरदायित्वको सन्तुलन हो । बालेन शाहको शैलीले के लोकतन्त्रमा ऊर्जा थपेको छ ? भन्ने प्रश्न उठिरहेको बेला त्यसलाई सन्तुलित गर्न परम्परागत दलहरूको भूमिका अनिवार्य हुन्छ ।

नेपाली काँग्रेसले, यहाँ लोकतान्त्रिक अभिभावकको भूमिका खेल्न सक्थ्यो– लोकप्रियता र प्रक्रियाबिच सन्तुलन कायम गर्ने, संस्थागत मूल्यहरूको रक्षा गर्ने, दीर्घकालीन नीति निर्माणमा जोड दिने । तर काँग्रेसले यो भूमिका स्पष्ट रूपमा देखाउन सकेन ।

यद्यपि काँग्रेसले सुरुमा स्पष्ट रणनीति बनाउन नसकेको देखिन्छ, अवसर अझै समाप्त भएको छैन । कांग्रेसले निम्न उपाय अपनाउन सक्छ । पहिलो, बालेन शाहसँग सहकार्य गर्दै संस्थागत सुधारलाई मजबुत बनाउने । दोस्रो, आवश्यक ठाउँमा तथ्य आधारित र रचनात्मक आलोचना गर्ने । तेस्रो, आफ्नो वैचारिक स्पष्टता पुनःस्थापित गर्ने

यसले कांग्रेसलाई केवल प्रतिक्रियात्मक दलबाट ‘प्रोएक्टिभ’ लोकतान्त्रिक शक्ति बनाउन सक्छ । बालेन्द्र शाहको उदयले नेपाली राजनीतिमा एउटा नयाँ अध्याय सुरु गरेको छ, जहाँ व्यक्तित्व, प्रविधि र जनभावना प्रमुख छन् ।

यस्तो समयमा नेपाली काँग्रेसको भूमिका अझ महत्त्वपूर्ण हुन्छ । तर हालसम्म कांग्रेसले न त पूर्ण रूपमा प्रतिपक्षको जिम्मेवारी निभाउन सकेको छ, न सहकार्यको अवसरलाई सदुपयोग गर्न सकेको छ । यदि लोकतन्त्रको रक्षक र परिवर्तनको वाहकका रूपमा कांग्रेसले आफ्नो एतिहासिक भूमिका पुनः प्राप्त गर्न चाहन्छ भने उसले स्पष्ट रणनीति, वैचारिक दृढता र सक्रिय सहभागिता देखाउनै पर्छ ।

नत्र, नयाँ नेतृत्वहरूको उदयले उसलाई क्रमशः अप्रासंगिक बनाउँदै लैजाने खतरा रहन्छ ।

अन्ततः प्रश्न केवल बालेन शाहको होइन; प्रश्न के हो भने नेपाली कांग्रेस जस्तो पुरानो राजनीतिक दलले नयाँ युगको राजनीतिसँग आफूलाई कसरी पुनः आविष्कार गर्छ । यसै उत्तरले नेपालको लोकतान्त्रिक भविष्य निर्धारण गर्नेछ ।

सम्वन्धित समाचार :