मुकेश कुमार यादव बरियारपट्टी।सिरहाको बरियारपट्टी गाउँपालिका—३ स्थित छोटी भन्सार कार्यालय बुधबारदेखि औपचारिक रूपमा बन्द गरिएको छ । सरकारले देशभरका छोटी भन्सारहरूको सङ्ख्या घटाएर १८ वटामा सीमित गर्ने निर्णय गरेसँगै बरियारपट्टी नाका पनि बन्द हुने सूचीमा परेको हो ।

भन्सार विभागले राजस्व संकलनलाई व्यवस्थित बनाउन र प्रशासनिक खर्च घटाउन यो कदम चालिएको बताए पनि स्थानीय स्तरमा भने यसको चर्को विरोध भइरहेको छ ।

यसअघि नै स्थानीयवासीले यस नाकाको महत्व बुझेर भन्सार जोगाउन पहल गरेका थिए । गत पुस महिनामा स्थानीय जनप्रतिनिधि, बासिन्दा तथा ‘जेनजी’ युवाहरूको समूहले तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई भेटेर ज्ञापनपत्र समेत बुझाएका थिए । उक्त ज्ञापनपत्रमा भन्सार कार्यालय बन्द नगर्न तथा यसलाई व्यवस्थित गरी स्तरोन्नति गर्न जोडदार माग गरिएको थियो । 

तर, जनस्तरबाट उठाइएको उक्त मागलाई बेवास्ता गर्दै सरकारले कार्यालय बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ ।

ठाडी र माडर भन्सारको बीचमा रहेको यो कार्यालयबाट दैनिक पाँच सयभन्दा बढी सेवाग्राहीले सेवा लिने गरेका थिए । कर्मचारीका अनुसार मासिक करिब रु छ लाख रुपैयाँ राजस्व संकलन हुने यस नाकाबाट अधिकांश साना व्यापारीहरूले व्यक्तिगत नाममा राजस्व तिर्ने गर्दथे ।

भन्सार सेवा बन्द भएपछि दैनिक गुजारा चलाउने साना व्यापारीहरू सबैभन्दा बढी मारमा परेका छन् । स्थानीय व्यापारी किरण यादव भन्नुहुन्छ, “हामी साना सामान ल्याएर गरगजीविकोपार्जन गथ्र्यौं, अहिले भन्सार काट्न नपाउँदा व्यापार नै ठप्प भएको छ ।”

नजिकको भन्सार बन्द भएपछि सर्वसाधारणले अब टाढाको ठाडी वा माडर नाका प्रयोग गर्नुपर्ने बाध्यता छ । यसले सर्वसाधारणको समय र खर्च त बढाएको छ नै, साथै सहज विकल्पको अभावमा अवैध मार्ग (चोर नाका) प्रयोग हुन सक्ने र तस्करी बढ्ने जोखिम समेत निम्त्याएको स्थानीयको भनाइ छ ।

यश छोटी भन्सार वाट बरियारपट्टी,सुखिपर नगरपालिका ,अर्नमा गाउँ पालिका,लक्ष्मीपुर पतारी ,धनगढी माई,नगरपालिका ,गोलबजार नगरपालिका र सिरहा नगरपालिका केही वडाको जनता लाभान्वित  थियो ।

सम्वन्धित समाचार :