रौतहटमा बुधवार बिहान भीषण आगलागी भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित पूर्वपश्चिम लोकमार्गको जंगलमा गुडिरहेको बसमा आगलागी भएको हो।
काठमाडौंबाट चन्द्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बुधबार बिहान करिब ७ः२० बजे अचानक आगो लोगेको हो। बसको ब्याट्रीको तार सर्ट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट बुझिन आएको प्रहरीको भनाइ छ।
घटनाबारे जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेशकुमार झाको नेतृत्वमा घटनास्थलतर्फ प्रहरीको टोली परिचालित भएको थियो। स्थानीयवासी, प्रहरी र बारुण यन्त्रको सहयोगमा आगो करिब ८ः१५ बजे नियन्त्रणमा आएको थियो।
घटनामा कुनै मानवीय क्षति भएको छ। आगो लागेर बस पूर्णरूपमा क्षतिग्रस्त भएको छ। बसमा आगो लागेर करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट करिब तीन किलोमिटर पश्चिममा रहेको छ। बसमा आगो लागेर बल्न थालेपछि दुवैतिरबाट सवारी साधनको आवागमन अवरुद्ध भएको थियो।
आगो नियन्त्रणमा आएपछि बाटो खुलाइएको छ। अहिले स्थिति सामान्य भइसकेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।


