काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले सङ्गठन र स्वतन्त्र विद्यार्थी युनियनको खारेजीबारे माउ पार्टी नेपाली कांग्रेसको धारणा माग गरेका छन्।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा बसेको पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरूको सदस्यता अद्यावधिक गर्ने बारेको बैठकमा अध्यक्ष शेर्पाले नेविसंघको विधान, स्ववियुको महत्त्व र समसामयिक राजनीतिक परिस्थितिमा पार्टीको भूमिकाबारे धारणा माग गरेका हुन्।

अध्यक्ष शेर्पाले करिब दुई वर्षअघि पारित भएको भनिएको नेविसंघको नयाँ विधान अहिलेसम्म केन्द्रीय समितिलाई उपलब्ध नगराइनु आपत्तिजनक भएको बैठकमा बताएको जानकारी दिए । सङ्गठनलाई विधि र विधानअनुसार सञ्चालन गर्न विधान तत्काल सार्वजनिक गर्न बैठकमा माग गरेको पनि बताए।
सरकारले विद्यार्थी सङ्गठनहरू तथा विद्यार्थीबाट निर्वाचित स्वायत्त संस्था स्ववियु खारेज गर्ने तयारी गरिरहेको भन्दै अध्यक्ष शेर्पाले यसबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आग्रह गरे।

उनले भने, ‘स्ववियु विद्यार्थीहरूको हकहित संरक्षण गर्ने र नेतृत्व विकास गर्ने नर्सरी हो। यो कुनै राजनीतिक दलसँग आबद्ध संस्था होइन। स्टुडेन्ट काउन्सिलको तुलनामा स्ववियु मोडल अझ प्रभावकारी छ। त्यसैले यसको खारेजीबारे नेपाली कांग्रेसको स्पष्ट धारणा तत्काल सार्वजनिक हुनुपर्छ।’

सम्वन्धित समाचार :