राजनीतिमा गैँडातन्त्र भन्नाले शक्तिशाली व्यक्तिहरूले (गैँडा जस्ता) आफ्नो स्वार्थको लागि राजनीति र राज्यसंयन्त्रलाई नियन्त्रण गर्ने शासन प्रणालीलाई जनाउँछ। राजनीति र शासन प्रणालीमा शक्तिशाली माफिया, दलाल, डन तथा स्वेतग्रेवीहरूको वर्चस्व रहेको अवस्थालाई आलोचनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले जनाउनको लागि प्रयोग गरिने शब्दावली नै गैँडातन्त्र हो। यसले लोकतन्त्रका आधारभूत मूल्य र मान्यतालाई नियन्त्रण गर्दछ। लोकतन्त्रलाई औपचारिकतामा सीमित गर्दछ। यस्तो शासन प्रणालीमा राजनीतिक तथा आर्थिक निर्णयहरू, सार्वजनिक नीतिहरू तथा राज्य सञ्चालनमा शक्तिशाली र स्वार्थी समूहको वर्चस्व रहेको हुन्छ। गैँडातन्त्रले त्यस्तो अस्वस्थ र बदनाम राजनीतिक वातावरणलाई बुझाउँछ, जहाँ लोकतान्त्रिक, कानूनी र प्रशासनिक मूल्य मान्यताहरू कमजोर हुन्छन् र शक्तिशाली व्यक्ति वा समूहको प्रभावबाट शासन व्यवस्था सञ्चालन हुने गर्छ। त्यसर्थ गैँडातन्त्र भनेको खराब प्रवृत्ति र मनोवृत्ति दुवै हो।

लोकतन्त्रलाई थप लोकतान्त्रिकरण गर्ने, संघीयतालाई पूर्णता प्रदान गरी सर्वस्वीकार्य बनाउने, आधारभूत मानवअधिकारको सुनिश्चित गर्ने, स्वतन्त्र र निष्पक्ष न्यायपालिका कायम राख्ने, जनसहभागिता र समावेशितालाई सुनिश्चित गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने, मौलिक अधिकारको ग्यारेन्टी गर्ने जस्ता लोकतन्त्रका आधारभूत मूल्य मान्यता, भावना, मर्म र आत्मालाई गैँडातन्त्रले आफ्नो चक्रव्यूहमा बन्दी बनाउँछ। ठिक यस्तै अवस्थाबाट नेपाल विगत तीन दशकदेखि कांग्रेस, कम्युनिस्ट र मधेसवादी दलहरूको कहिले एकल र कहिले गठबन्धन रहेको गैँडातन्त्री शासन प्रणालीबाट गुज्रँदै आएको थियो। जसको नेतृत्व पछिल्लो चरणमा ओली र देउवा जस्ता वृद्ध, अनुदारवादी, तानाशाही, पुरातनपन्थी र भ्रष्टहरूले गरेका थिए। लोकतन्त्रका विश्वव्यापी मूल्य र मान्यता विपरीत संसदको पहिलो र दोस्रो ठुलो दल मिलेर सरकार बनाएका थिए। राज्यका ती नै अङ्गहरूलाई निकम्मा बनाएका थिए। संसदले आवश्यक ऐन बनाएन। बनाए पनि तिन गैँडाहरूको हित अनुकूल हुने बनाए। न्यायालयले समयमै निष्पक्ष रूपमा न्याय सम्पादन गरेन। अख्तियारले चयनमुखी अभियोजन गर्न थाल्यो। कार्यपालिका त गैँडाहरूको छँदै थियो। यसरी मुलुक सम्पूर्ण हिसाबले असफल राज्य हुनेतर्फ उन्मुख थियो। तर बालुवाटार र बूढानीलकण्ठमा निरोहरू बाँसुरी बजाउँदै प्रधानमन्त्रीको सपनामा डुबेका थिए। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तिनै गैँडाहरूले प्रत्यक्ष वा परोक्ष रूपमा कब्जा गरेका थिए। नागरिकहरूको सुनुवाइ लगभग समाप्त भएको थियो।

जेनजी विद्रोहले गर्‍यो पुनर्जागरणको शंखघोषः

आजको विश्वव्यापीकरण र एआईको युगमा एउटा सचेत नागरिकले पलपलमा सूचना र प्रविधिको माध्यमबाट विश्वको अध्ययन, अवलोकन र भ्रमण गरिरहेको हुन्छ। विश्वका अधिकांश मुलुकहरूले अपनाएको उन्नत लोकतन्त्र र समृद्ध राष्ट्रसँग आफ्नो देशमा गैँडातन्त्रले सिर्जना गरेका तमाम र सीमाविहीन बेतिथिहरूको तुलनात्मक अध्ययन मुलुकका बौद्धिक वर्ग र जेनजीहरूले निरन्तर गरिरहेका थिए। तर मुलुकमा सन्तुष्टिका सूचकहरू शून्यप्रायः थिए। तर गैँडाहरूको अहङ्कार र घमन्ड भने डाँडो काट्दै गएको थियो। त्यसको ठिक विपरीत समाजमा असन्तुष्टि बढ्दै र थुप्रिँदै गएको थियो। आफ्नो अलोकप्रियतालाई ढाकछोप गर्न सकिन्छ कि भनेर भ्रष्ट र तानाशाहीको छवि बनाएको एमाले र कांग्रेसको सरकारले सामाजिक सञ्जालहरूलाई सूचीकृत गर्ने र करको दायरामा ल्याउने नाममा कुनै कूटनीतिक पहल विना हठात् रूपमा प्रतिबन्ध लगाएर मुलुकलाई अठारौँ शताब्दीतर्फ फर्काउने दुष्प्रयास गर्‍यो।

परिणामस्वरूप सर्वाधिक लोकप्रिय रहेका सामाजिक सञ्जालमार्फत संसारभरि गरिने सम्पर्कबाट नागरिकहरू वञ्चित हुन पुगे। अझ सूचना र प्रविधि तथा सामाजिक सञ्जालमा निर्भर रहने जेनजीहरूको पेशा, व्यवसाय, अध्ययन, रोजगारी तथा योजनाहरूलाई समाप्त गरिदियो। एकातर्फ गैँडातन्त्रले सिर्जना गरेको सेटिङ राज्य, त्यसमा पनि व्याप्त भ्रष्टाचार, बेथिति, बेरोजगारी, अनियमितता त छँदै थियो, हठात् रूपमा सामाजिक सञ्जाल बन्द भएपछि सूचना र प्रविधि नै जीवनको आधार भएका जेनजीहरू यसको विरुद्धमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्नका लागि काठमाडौँ लगायत देशका प्रमुख सहरहरूका सडकमा उत्रिए। भदौ २३ र २४ गते दुवै दिन यो पङ्क्तिकार आन्दोलनको मुख्य केन्द्रबिन्दुको रूपमा रहेको बानेश्वरस्थित संसद भवन अगाडि रहेको सिभिल अस्पतालको दोस्रो तलाको छतबाट प्रत्यक्षदर्शीको रूपमा घटनालाई नियालिरहेको थियो। ०३६, ०४६ र ०६२/०६३ सालको आन्दोलनमा समेत कुनै न कुनै रूपमा सहभागी भएको यो पंक्तिकारले जीवनमा पहिलो पल्ट त्यस्तो अद्भुत, अमानवीय र क्रूर घटना देख्यो जहाँ स्कुल र कलेजको ड्रेसमा रहेका नवयुवाहरूको शान्तिपूर्ण जुलुसमा राज्यले भीड नियन्त्रण गर्ने नाममा स्थानीय प्रशासन ऐन २०२८ संशोधन सहितको दफा ६ को खण्ड ख बमोजिमको प्रक्रिया पूरा नगरी टाउको र छातीमा लाग्ने गरी पट्टटटटटटट गोली प्रहार गर्‍यो। भाग्दै गरेका विद्यार्थीहरूलाई समेत पछाडिबाट गोली प्रहार गरियो। मानौँ घाइते मृग अगाडि भाग्दैछ, पछाडिबाट शिकारीले गोली दाग्दैछ। अश्रुग्याँसका सेलहरू यति फ्याँकिए कि अस्पतालका बिरामी समेत नराम्ररी प्रभावित भए।

एकैछिनमा टाउको र छातीमा गोली लागेर मृत्यु भइसकेका नवयुवाहरूको लाश र ठुलो संख्यामा घाइतेहरू सिभिल अस्पतालमा ल्याउँदा अस्पताल नै अस्तव्यस्त हुन पुग्यो। ट्रमा सेन्टर र वीर अस्पतालको अवस्था पनि उस्तै दर्दनाक थियो। लाग्थ्यो, देशमा यतिखेर पागल यमराजले राज गरिरहेको छ। भोलिपल्ट २४ गते देशव्यापी रूपमा जुन आगजनी र तोडफोड भयो, वास्तवमा त्यो २३ गतेको आततायी रूपमा भएको युवाहरूको नरसंहारको प्रतिवाद वा प्रतिक्रिया थियो। जसलाई भ्रष्ट र अपदस्थ सरकारले घुसपैठ र विदेशीको चलखेल भनी जेनजी विद्रोहलाई अपमान गर्नुका साथै आफ्नो कर्तुत लुकाउने दुष्प्रयास गर्‍यो। जहाँ क्रिया हुन्छ त्यहाँ प्रतिक्रिया हुन्छ — जुन विज्ञानको नियम हो। राज्यका जुन जुन निकायहरू तोडफोड र आगजनी भए, छातीमा हात राखेर भन्नु पर्दा ती निकायहरू पनि निष्पक्ष थिएनन्।

त्यस कारण पनि ती संरचनाहरूले क्षति व्यहोर्नु पर्‍यो। समग्रमा जेनजी विद्रोह सामाजिक सञ्जालमाथि लागेको प्रतिबन्ध विरुद्ध मात्र थिएन। यो त केवल तत्कालीन कारण मात्र थियो। जसको मूल कारण मुलुकमा लामो समयदेखि विद्यमान रहेको भ्रष्टाचार, अन्याय, अत्याचार, माफियाकरण, बेरोजगारी, दण्डहीनता, बेथिति, कुशासन, दलतन्त्र, गुटबन्दी जस्ता अनगिन्ती गैँडातन्त्रले सिर्जना गरेका कारणहरू थिए। लोकतन्त्रको बन्ध्याकरण हुँदै गएको थियो। त्यसर्थ जेनजी विद्रोहले गैँडातन्त्र र यसले सिर्जना गरेका तमाम विकृति र विसङ्गतिहरूको अन्त्य गर्दै नागरिकतन्त्रमा रूपान्तरण गर्नका लागि पुनर्जागरणको शंखघोष गरेको छ।

कसरी गैँडातन्त्रको अन्त्य गर्ने ?

गैँडातन्त्र एक हिसाबले परास्त भएर घाइते अवस्थामा गुण्डु र बुढानीलकण्ठमा छटपटाइरहेको छ। आफ्ना कर्तुत लुकाउनका लागि विभिन्न आरोप र अफवाह फैलाउँदै षड्यन्त्रको तानाबाना बुन्न तल्लीन छ। त्यसर्थ कसरी सदाका लागि गैँडातन्त्रको अन्त्य गर्ने र लोकतन्त्रलाई नागरिकतन्त्रमा रूपान्तरण गर्ने भन्ने सवाल समकालीन नेपाली राजनीतिमा अब एउटा आधारभूत सवाल बनेको छ। प्रजातन्त्रको उन्नत वा विकसित स्वरूप लोकतन्त्र हो भने लोकतन्त्रको उन्नत र विकसित स्वरूप नागरिकतन्त्र हो, जुन शासन व्यवस्थामा हरेक हिसाबले, हरेक क्षेत्रमा नागरिक सर्वोच्चता कायम भएको हुन्छ। जसको शंखघोष जेनजी विद्रोहले गरेको छ।

गैँडातन्त्र अन्त्य गर्ने उपायहरू

१. नागरिक चेतना र सशक्तीकरणमा अभिवृद्धि गर्नेः आम नागरिकलाई राष्ट्रको वर्तमान बेथिति, दुर्गति र अधोगति कर्म र भाग्यको फल होइन, गैँडातन्त्रको परिणाम हो भन्ने विषयहरू उन्नत लोकतन्त्रका पक्षधर बौद्धिक वर्गहरूले विभिन्न माध्यमहरूद्वारा आम नागरिकहरूमा सचेतना अभिवृद्धि गर्दै नागरिकहरूको सशक्तीकरण गर्नुपर्छ। फ्रान्सेली राज्यक्रान्तिको समयमा जस्तै बौद्धिक क्रान्तिको लहर फैलाउनुपर्छ।

२. नागरिक निगरानी बढाउने: विगतमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता, आदर्श, भावना तथा मर्मअनुरूप सञ्चालन नभएको हुँदा अब उप्रान्त संविधानले प्रत्याभूत गरेका समानता, स्वतन्त्रता, कानूनी राज्य, आधारभूत मानवअधिकार, मौलिक हकहरू निर्बाध रूपमा कार्यान्वयन गर्दै यस्ता सार्वजनिक राष्ट्रिय महत्वका विषयहरूमा सचेत नागरिकहरूले स्वतःस्फूर्त रूपमा निगरानी बढाउनुपर्छ। अनियमितता र बेतिथिका विरुद्ध जिहाद छेड्नुपर्छ। आसन्न निर्वाचनमा आफ्नो मताधिकारलाई विवेकपूर्ण ढङ्गले प्रयोग गर्नुपर्छ। झोले, टिके, हुक्के, छाते तथा स्वदासताको मनोवृत्तिबाट मुक्त हुनुपर्छ।

३. दलभित्रको लोकतन्त्रलाई सुदृढ बनाउनेः मुलुक संवैधानिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको दशकौं बितिसक्दा पनि दलभित्रको लोकतन्त्र भने सुषुप्त अवस्थामा रहेको छ। दाजुभाउजू, बा, दाइ, अल्पमत, बहुमत, गुट, जनवाद, केन्द्रीकृतता जस्ता प्राविधिक विषयले दलभित्रको लोकतन्त्रलाई गैँडाहरूले कब्जा गरेका छन्। त्यसर्थ राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने, निश्चित समयपछि नेतृत्व हस्तान्तरण गर्ने जस्ता प्रणालीको विकास गर्न सृजनात्मक आलोचनाको परम्पराको संस्थागत विकास गर्दै लैजानुपर्छ।

४. नियमनकारी निकायहरूलाई स्वतन्त्र र शक्तिशाली बनाउनेः अनियमितता र बेतिथिको नियमन गर्ने संवैधानिक आयोगहरू, न्यायपालिका, शान्ति–सुरक्षा कायम गर्ने सुरक्षा निकायहरू जस्ता निकायहरूलाई स्वतन्त्र, पारदर्शी र शक्तिशाली बनाउनुपर्छ। ताकि यस्ता निकायहरू गैँडाहरूका कठपुतली होइन, दण्डाधिकारी बन्न सकून्।

५. नयाँ पुस्ताको नेतृत्वः पुराना गैँडा प्रवृत्ति र मनोवृत्तिका नेताहरूले नयाँ युगको सार्थक नेतृत्व गर्न सक्दैनन्। यदि उनीहरू लामो समय नेतृत्वमा रहे भने लोकतन्त्र मात्र चक्रव्यूहमा पुग्दैन, मुलुकको पनि ओरालो यात्रा सुरु हुन्छ। जस्तै वर्तमानमा भएको छ। त्यसर्थ हरेक दलमा युवाहरू नेतृत्वमा आउने अभियान चलाउनुपर्छ। समाजले पनि नयाँ विचार र नवप्रवर्तनले लेस भएका युवाहरूलाई प्रोत्साहन गर्नुका साथै समावेशी नेतृत्वलाई समेत सार्थक बनाउनुपर्छ।

६. मुद्दा केन्द्रित राजनीतिक र वैचारिक बहस चलाउनेः आजको युग कुनै वाद, जाति, धर्म, क्षेत्र तथा वर्गजस्ता परम्परावादी र स्वार्थकेन्द्रित राजनीतिको युग होइन। वर्ल्ड सिस्टम, ग्लोबल सिस्टम, बहुध्रुवीय प्रतिस्पर्धा, नागरिक पहिचान, रोबोटिक्स तथा अटोमेशनको युग हो। त्यसर्थ आजको राजनीति यिनै राष्ट्रिय र वैश्विक मुद्दाहरूमा रहेर वैचारिक बहस चलाउँदै अत्यधिक राष्ट्रिय हितलाई आपूर्ति गर्न सक्नुपर्छ।

७. भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनेः भ्रष्टाचार, बेथिति, दण्डहीनता र उन्मुक्ति जस्ता विकृति र विसङ्गतिहरू गैँडातन्त्रका बाइ–प्रोडक्ट हुन्। त्यसर्थ भ्रष्टाचारमा संलग्न गैँडाहरूलाई गोलघरमा नपुर्‍याएसम्म लोकतन्त्र नागरिकतन्त्रमा परिणत हुँदैन। ललिता निवास, यति होल्डिङ्स, गिरिबन्धु, पतञ्जलि, वाइडबडी, भूटानी शरणार्थी, इँटाभट्टा, सहकारी ठगी, पोखरा विमानस्थल, सुनकाण्डजस्ता काण्डका गैँडारूपी नाइकेहरूलाई कानुनबमोजिम कारबाही गर्नुपर्छ। जसको विरुद्धमा जेनजी विद्रोह भयो। आसन्न निर्वाचनले यसको संस्थागत विकास गर्नुपर्छ।

८. सामाजिक दबाबको सिर्जना गर्नेः गैँडातन्त्रबाट सिर्जित विकृतिका विरुद्ध नागरिक समाज, स्वतन्त्र र उत्तरदायी मिडियाहरू, अनुसन्धानात्मक पत्रकारिताको क्षेत्रमा कलम चलाउने पत्रकारहरूले सार्वजनिक सरोकारका मुद्दाहरू उठाएर सामाजिक दबाब सिर्जना गर्दै आउने निर्वाचनमा नागरिकतन्त्रका पक्षधरहरूलाई निर्वाचित गराउने भूमिका खेल्नुपर्छ।

९. सामाजिक अभियानहरू सञ्चालन गर्नेः गैँडातन्त्रको विरुद्धमा र परिवर्तन तथा सुधारका लागि जनदबाब सिर्जना गर्नका लागि लैङ्गिक उत्पीडन र हिंसा विरुद्ध सञ्चालन भएको अभियान, हरित नीति, नविकरणीय ऊर्जा तथा दिगो विकासका लागि दबाब दिने अभियान, बेरोजगारी र भ्रष्टाचार विरुद्ध युवाहरूको अभियान जस्ता अभियानहरू सशक्त रूपमा सञ्चालन गर्नुपर्छ। भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि सामाजिक बहिष्कार गर्ने अभियान चलाउनुपर्छ।

नागरिकहरूको भूमिका:

१. आफैँ सचेत बन्ने र सचेत नागरिकहरूको समूह निर्माण गर्ने।

२. नयाँ र वैकल्पिक राजनीतिक शक्तिलाई मतदान गर्ने।

३. राजनीतिक दलहरूमा सुधारको माग गर्ने।

४. कानूनी राज्यको प्रत्याभूतिको माग गर्ने।

५. भ्रष्टाचार र बेतिथिका विरुद्ध सशक्त आवाज उठाउने।

६. हरेक तहको निर्वाचनमा गैँडातन्त्रका एजेन्टलाई बहिष्कार गर्ने।

यसरी गैँडातन्त्र तोड्नका लागि हरेक नागरिक सचेत हुनुपर्छ। निरन्तर दबाबमूलक आवाज उठाउँदै सामाजिक जागरण फैलाउनुपर्छ। यसको नेतृत्व अब युवा र वैकल्पिक राजनीतिक शक्तिले गर्नुपर्छ। जेनजी विद्रोहले उठाएका मागहरू संस्थागत हुनुपर्छ।

सम्वन्धित समाचार :