काठमाडौं । प्रमुख ८ राजनीतिक दलहरूले संयुक्त रूपमा संसद विघटनको विरोध गर्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘भदौ २७ गते राति राष्ट्रपति कार्यालयबाट जारी भएको संसद विघटनसम्बन्धी सूचना नेपालको संविधान, सर्वोच्च अदालतको नजीर र संवैधानिक परम्पराविपरीत छ।’ जननिर्वाचित संस्थामाथि प्रहार गरिएको यो कदम लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक सर्वोच्चतालाई कमजोर पार्ने कार्य भएको भन्दै उनीहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्।
यसैबीच ८ दलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । त्यस्तै आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन पनि माग गरिएको छ ।संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका महेश बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे, एकीकृत समाजवादीका मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरी, जनता समाजवादी पार्टीका वीरेन्द्र प्रसाद महतो, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ र जनमत पार्टीकी प्रमुख सचेतक अनिता देवीको हस्ताक्षर रहेको छ ।



