वीरगन्जस्थित एकीकृत जाँच चौकी (आइसीपी) र ड्राइपोर्टको पार्किङ स्थलमा ती सवारी साधन थन्किएका हुन् । जेनजीको आन्दोलनपछि विकसित घटनाक्रमले गर्दा भन्सार कार्यालयमा कर्मचारी प्रशासनको उपस्थिति छैन ।

भन्सार कार्यालयमा कोही कर्मचारी नहुँदा मालवाहक सवारीसाधन रोकिएको चालकहरूको भनाइ छ । पाँच दिनदेखि सबै सवारीसाधन आइसीपीको भन्सार पार्किङ स्थलमा थन्किएको उनीहरू बताउँछन् ।

त्यहाँ रहेका कतिपय सवारी साधनको जाँच पास भएको छैन भने जाँचपास भएका गाडीहरू पनि सुरक्षा ग्यारेन्टी नहुँदा गन्तव्यतर्फ जान नसकेका हुन् ।

vansar gadi pic1

भारतको मध्य प्रदेशबाट धनियाँ लिएर आएका फिरोज खानले आफ्नो गाडी भन्सारमा ६ दिनदेखि थन्किएको बताए । ‘आन्दोलनको अघिल्लो दिन आइपुगेको थिएँ,’ उनले भने- ‘६ दिनदेखि गाडी भन्सारमै थन्किएको छ ।’

भन्सार कार्यालयमा कुनै कर्मचारी नहुँदा जाँच पास (भन्सार) बुझाउन नसकिएको उनको भनाइ छ । उनले भने- ‘अब चाँडै गाडी पठाइएन भने सबै सामान बिग्रिने सम्भावना हुन्छ । हामीलाई पनि खान–बस्न कठिनाइ भइरहेको छ ।’

चालक खानका अनुसार नेपालस्थित भन्सार पार्किङमा एक हजारभन्दा बढी मालकवाहक सवारीसाधन छन् । पूरै पार्किङस्थल मालबाहक गाडीले भरिएको उनले बताए ।

भारतको उत्तर प्रदेशका चालक अनुज कुमारले आफ्नो गाडी ६ दिनदेखि रोकिएको बताए । गाडीको भन्सारसम्बन्धी काम पूरा भइसके पनि सुरक्षा व्यवस्था नहुँदा सामान पुर्याउन नसकिएको उनको भनाइ छ ।

‘कुखुराको दाना लिएको आएको हुँ,’ उनले भने, ‘हेटौंडामा पुर्याउनुपर्ने हो, तर अगाडि लिएर जान समस्या छ ।’ उनले लामो समय अलपत्र पर्दा खाना–बस्न समस्या हुँदै गएको बताए ।

vansar ma gadi pic

राजस्थानका रवि बैनाको समस्या पनि उस्तै छ । ‘पाँच दिनदेखि यहीँ बसिरहेको छु,’ उनले भने, काठमाडौँका लागि काठको सामान लिएर आएको छु, तर अगाडि जान सकिएको छैन ।’ उनका अनुसार राजस्थानकै मात्र ३५ वटा गाडी पार्किङस्थलमा छन् ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख विष्णु प्रसाद ज्ञवालीले नेपालमा प्रवेश गरेका मालकवाहक सवारीसाधनहरूलाई सम्बन्धित ठाउँमा पठाउने काम भइरहेको प्रतिक्रिया दिए ।

रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘वीरगन्ज भन्सारमा आएका गाडीहरू हामीले पठाइरहेका छौँ । हिजो पनि औषधि, ग्यास, खाद्यान्न बोकेका गाडीहरू पठाइयो । आज साँझ पनि पठाउने तयारी गरिएको छ ।’

सम्वन्धित समाचार :