बरियारपट्टी (सिरहा) – बरियारपट्टी गाउँपालिका वडा नम्बर ३, बरियारपट्टी बजारमा यस वर्ष पनि परम्परागत ईन्द्र मेला महोत्सव भव्यरूपमा आयोजना हुने भएको छ। मेला समिति तथा बजार समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार मेला भदौ १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ।

धार्मिक र सांस्कृतिक कार्यक्रम

महोत्सवको प्रारम्भ भदौ १९ गते कलश यात्राबाट हुनेछ। त्यसपछि भदौ २१ र २२ गते गुडिया म्युजिकल साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ।
भदौ २३ गते चर्चित कलाकार अविनाश झा (कलकतियावालि) र उनकी सम्पूर्ण टिमले विशेष सांगीतिक प्रस्तुति दिने तय भएको छ।

त्यसैगरी, भदौ २० देखि २३ गतेसम्म मैथिली सांस्कृतिक नृत्य ‘सुन्दर वनको सुन्दर फूल’ कार्यक्रम पनि निरन्तर सञ्चालन गरिनेछ। यसले स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धनमा थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

खर्च र तयारी

महोत्सव सम्पन्न गर्न करिब सात लाख रुपैयाँ खर्च हुने अनुमान  मेला समिति अध्यक्ष तथा बजार समिति अध्यक्ष अम्बे यादवले जानकारी दिनुभयो। उहाँका अनुसार, मेला सफल बनाउन स्थानीय व्यापारी, समाजसेवी, युवाहरू र नगरबासी सबैले सहयोग गर्ने प्रतिवद्धता जनाइसकेका छन्।

स्थानीयको उत्साह

व्यापारी कृष्णा साहले मेलाले बजारमा विशेष रौनक ल्याउने बताएका छन्। समाजसेवी बविता कुमार यादवले नेपाल मात्र नभई छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरूको ठूलो घुइँचो हुने विश्वास व्यक्त गर्नुभयो।

बरियारपट्टी बजारमा हरेक वर्ष आयोजना हुँदै आएको ईन्द्र मेला महोत्सव यसपटक अझ आकर्षक र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

सम्वन्धित समाचार :