बरियारपट्टी— मधेश प्रदेश सभा सदस्य जिवछि यादवले महिलाहरू अझैसम्म पनि आफ्ना मौलिक अधिकारबाट वञ्चित रहेको बताउनुभएको छ। उहाँले नेपालको सामाजिक संरचना अझै पनि पुरुषप्रधान रहेको र महिलाहरूलाई औपचारिक भूमिकामा मात्रै सीमित गरिने गम्भीर समस्या रहेको उल्लेख गर्नुभयो।
यादवका अनुसार स्थानीय तहदेखि संघीय स्तरसम्म महिलाको सहभागिता औपचारिक मात्रामा सीमित गरिएको छ। उहाँले भन्नुभयो, “स्थानीय तहमा उप–मेयर वा उपाध्यक्ष पदमा महिलालाई टिकट दिनु पार्टीहरूको बाध्यता बनेको छ। तर के महिला मेयर वा अध्यक्ष बन्ने क्षमता राख्दैनन् ? आजसम्म पनि प्रमुख नेतृत्व भूमिकामा महिलाको सहभागिता न्यून हुनु सामाजिक असमानताको प्रमाण हो।”
उहाँले विकास निर्माणका काममा समेत महिलालाई जिम्मेवारीपूर्ण पदमा भन्दा पनि सदस्य वा सचिवजस्ता औपचारिक भूमिकामा मात्र राख्ने प्रवृत्ति देखिएको बताउनुभयो। “महिलालाई केवल समितिको नाममा राख्ने तर निर्णय लिने अधिकारबाट टाढा राख्ने प्रवृत्ति गलत हो। महिला सक्षम छैनन् भन्ने मानसिकता नै महिला अधिकारको ठुलो बाधा हो,” यादवले भन्नुभयो।
सांसद यादवले महिलालाई केवल घरेलु काममा सीमित राख्ने सोचलाई खण्डन गर्दै भन्नुभयो, “के महिला केवल खाना पकाउने वा बच्चा जन्माउने मात्र कामका लागि हुन् ? यो धारणा नै हाम्रो समाजलाई पछाडि तान्ने कारण हो। महिलाको योगदान, क्षमता र नेतृत्वलाई सम्मान नगरी अधिकारबाट वञ्चित राख्नु अस्वीकार्य छ।”
यादवले अबको राजनीतिक र सामाजिक यात्रामा महिलाको समान सहभागिता सुनिश्चित गर्न सबै दल र सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो। उहाँको भनाइमा, संविधानले दिएको अधिकारलाई व्यवहारमा कार्यान्वयन नगरेसम्म महिलाको अधिकारको सुनिश्चितता सम्भव छैन।
महिलालाई नेतृत्व भूमिकामा अघि सार्न शिक्षा, चेतना, अवसर र आत्मविश्वास अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा पनि उहाँले जोड दिनुभयो। समाजको समग्र विकास महिलाको सहभागिता विना सम्भव नहुने भन्दै यादवले अबको आन्दोलन महिलाको अधिकार र समानताको पक्षमा केन्द्रित हुनुपर्ने बताउनुभयो।


