दैनिक अखबारहरू बलात्कारका घटनाले भरिएका छन् । एउटा समाचार पढ्न नपाउँदै अर्को समाचार थपिनु हिजोआज हाम्रो समाजको यथार्थ भएको छ । केही दिनअघि मात्र ‘आठ कक्षामा पढ्ने छात्रा साथीहरूबाटै सामूहिक बलात्कृत’ शीर्षकमा रहेको समाचार सबैतिर फैलिन नपाउँदै यही हप्ता अर्को दर्दनाक घटना बाहिरियो— तिज कार्यक्रममा गएकी बालिकालाई बाटोमै लखेटी लखेटी ढुङ्गा हानेर लडाएर सामूहिक बलात्कार गरी हत्या गरियो ।
डिसेम्बर १६, २०१२ मा भारतको दिल्लीमा एउटा हृदय सन्त्रस्त बनाउने घटना घट्यो— ‘निर्भया हत्या काण्ड’ अर्थात् ‘ग्याङ् रेप’ । साँझको अँध्यारोमा कलेजपश्चात् घर फर्कन गाडी कुरिरहेकी २३ वर्षीया एक युवतीलाई बसभित्रै ६ जनाले सामूहिक बलात्कार मात्रै गरेनन्, बलात्कारसँगै फलामका डन्डीले युवतीका अङ्ग–अङ्ग र यौनाङ्गलाई क्षतविक्षत बनाएर रक्तमुछेल पारी गुडिरहेको गाडीबाट बाहिर फालिदिए । केही दिनपश्चात् हस्पिटलमा युवतीको मृत्यु भयो । ‘जस्टिस फर निर्भया’को नाममा भारत लगायत विश्वका केही स्थानमा आन्दोलनको लहर उर्लियो । निरन्तरको आन्दोलन र खबरदारीका बाबजुद पनि अपराधीलाई सजाय दिलाउन वर्षौं कुर्नुपर्यो । परिवारले भोगेको अनेक सास्तीपश्चात् अन्ततः मार्च २०, २०२० को बिहान चारजना अपराधीलाई एक साथ डोरीमा झुन्ड्याएर मृत्युदण्ड दिइयो तर फाँसीजस्तो भयङ्कर सजायपश्चात् पनि भारतमा बलात्कारका घटनामा कमी आउन सकेन ।
ही तथ्य उजागर गर्दै भारतीय कम्युनिस्ट राजनीतिज्ञ तथा लिबरेसन मासिक प्रकाशन कि सम्पादक कविता कृष्णनले एउटा शोधमूलक सामग्री प्रस्तुत गरिन् । जसका अनुसार अधिकांश बलात्कारका घटना चिनजानका आफन्त र पारिवारिक घेराभित्रैबाट हुने गर्छन् । यतिसम्म कि पिता या सौतेला बाउले छोरीलाई र शिक्षकले विद्यार्थीलाई समेत बलात्कार गर्ने गरेका छन् । यस्तो परिप्रेक्ष्यमा मृत्युदण्डको भयले आफन्त र चिनजानकै सर्कलबाटै पीडितलाई जोर–जबर्जस्ती या मनोवैज्ञानिक रूपमै प्रभावमा पारेर कानुनसम्म पुग्न नदिने खतरा बढेर गएको; बलात्कारपछि ज्युँदो नछाड्ने, मारेर फाल्ने घटना पनि बढ्न सक्ने कविताको लेखमा उद्धृत गरिएको छ । पिता, काका या कोही आफन्तलाई झुन्ड्याइँदै छ भन्ने जानेपछि पीडितले नै मुख नखोल्ने पनि उनले उल्लेख गरेकी छन् । भारतीय महिला अधिकारकर्मी तथा अधिवक्ता फ्लाभिया एग्नेस भन्छिन्, ‘बाबु झुन्डिने थाहा भए छोरीहरू अगाडि आउँदैनन् ।’ जबकि यति क्रूर कानुनबाट भयभीत भएर अपराधीले सतर्कता अपनाउनुपर्ने हो तर उल्टै कानुन नै पीडित ‘होस्टाइल’ हुने सामाजिक, पारिवारिक र मनोवैज्ञानिक कारण बन्न पुगेको छ ।
नेपालमा पनि मुलुकी अपराध संहिता, २०७४ को दफा २१८ मा बलात्कारका दोषीलाई कठोर सजायको व्यवस्था गरिएको छ, तर यत्रो कठोर कानुनी प्रावधानका बाबजुद हिंसाको ग्राफ दिनानुदिन चुलिँदो छ । एकातर्फ राज्यसत्ता नै ‘हिंसामैत्री’ भएका कारण अपराधीको पहिचान र परिचित अपराधीलाई कानुनको दायरामा लिन चुकिरहेको देखिन्छ भने अर्कोतर्फ पितृसत्ताको ‘रिफ्लेक्सन’ घर समाजदेखि अड्डा–अदालतसम्म उल्टै ‘सर्भाइभर’को मानमर्दन गर्न कुनै कसर बाँकी नरहेको नजिर घटनाले दर्शाउँछन् । निर्मला हत्याकाण्डबाट आजसम्म रहस्यको पर्दा खुल्न सकेको छैन, बरु एकपछि अर्को गरी अंगिरा पासीदेखि सम्झना कामीसम्म बलात्कार र हत्याका सिलसिलेवार घटनाले निरन्तरता पाइरहेका छन् । पछिल्ला हिंसाका प्रकृतिले यो तथ्य उजागर गरिरहेका छन् कि आर्थिक, सामाजिक र राजनीतिक रूपमा शक्तिशाली व्यक्ति जस्तोसुकै अपराधी भए पनि कानुन र अदालतले उसको केही बिगार्न सक्दैन ।
चाहे त्यो कुनै विश्वयुद्ध होस् या धार्मिक युद्ध, नेपालकै परिप्रेक्ष्यमा जनयुद्धसम्म आइपुग्दा पनि पुरुषसँग हतियारले युद्ध गरिएको छ भने महिलालाई गिरफ्तार गरी या युद्धबन्दी बनाएर निरन्तर बलात्कार र यौनहिंसा गरिएको इतिहास छ । यसले पनि के देखाउँछ भने कामातुर पुरुषले आफ्नो यौन उत्तेजना मेटाउन मात्रै बलात्कार गर्दैन, घृणाभाव ओकल्न र पराजित करार गरी आफ्नो शक्तिको उन्माद देखाउन पनि महिलालाई बलात्कार गर्छ । आक्रोश घृणा र अहङ्कार यति छ कि बलात्कारपश्चात् पनि मृत शरीरलाई धुजाधुजा पारेर ऊ महिला अस्तित्वमाथि आफ्नो पुरुष वर्चस्व र घृणाभावले अट्टहास गरिरहन्छ ।
लेखक सुसन ब्राउनमिलर भन्छिन्, ‘बलात्कार भनेको पुरुषबाट महिलालाई निरन्तर बलात्कारको डरमा राखेर सम्पूर्ण नारी जातिमाथि पूर्ण नियन्त्रण कायम गर्ने षड्यन्त्र हो ।’
आज एकथरी बुद्धिजीवीहरू यौनहिंसाका मुद्दामा तटस्थ बस्नुलाई नै आफ्नो बौद्धिकता ठानिरहेका छन् । कथित मुक्तिकामीहरू यस्तो विषयमा बोल्नुलाई लाजमर्दो कुरा भनिरहेका छन् ।
‘एगेन्स्ट आवर विल : मेन, वुमन एन्ड रेप’ पुस्तकमा सुसनले भनेजस्तै पिताद्वारा पुत्रीमाथि बलात्कारको मुख्य कारण हो, परिवारमाथि पिताको पूर्ण तानासाही । त्यही तानासाही लाद्ने क्रममा पिताले पत्नीलाई जस्तै बालबालिकालाई पनि आफ्नो ‘सम्पत्ति’ ठान्ने गर्छन् । यही तानाशाहीतन्त्र र सम्पत्तिको मानसिकताको अभिव्यक्ति बलात्कारका रूपमा समेत अभिव्यक्त हुन्छ । एवंरीतले पितृसत्तामा सम्पूर्ण सत्ताको वर्चस्वमा रहेको पुरुषले दोयम दर्जामा सीमित पारिएका महिलालाई भोग्या, सेवक या दास सम्झिएर दमन गर्नका निम्ति बलात्कारको माध्यम अपनाउँछ । निश्चित रूपमा यसले के दर्शाउँछ भने महिला पुरुषबिचको असमान शक्ति सन्तुलन नै मूलतः बलात्कारको मूलभूत स्रोत हो । पुरुषलाई आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक रूपमै सर्वशक्तिमा राखेको पितृसत्तात्मक समाज, घर–परिवार र राज्य संयन्त्र बलात्कारी निर्माण गर्ने मुख्य कारखाना हो ।
के बुझ्न आवश्यक छ भने यौनले आशक्त भएको कामातुर पुरुषले नभएर शक्तिको उन्मादले गर्छ बलात्कार । जसले अहङ्कारको रिहर्सल गर्न महिला शरीरलाई आफ्नो निसानाको केन्द्रविन्दु बनाउँछ । अतः महिला र पुरुष बिचको समान मानवीय अवस्थाविना कठोरभन्दा कठोर सजायले पनि पूर्णरूपमा बलात्कारको सिलसिलामा पूर्णविराम लगाउन नसक्ने नजिर विश्वका विभिन्न अभ्यासले देखाएको छ । आज घरघरमा विद्यालयका कोर्समा समेत यो दर्शाइन्छ कि पुरुष पूजनीय छ, महिला सधैँ उसको सेवकको भूमिकामा छ । यस्तो आभासमा हुर्कंदा एक निर्दोष बालकले पनि ठुलो भएसँगै आफूलाई शक्तिशाली र वर्चस्वशाली ठान्न पुग्छ, उसमा त्यस्तै किसिमको पुरुषत्वको भावना विकास हुन सक्छ । हाम्रा धर्म–संस्कृति, रीति, परम्पराले यसलाई झनै बल दिइरहेका छन् । शास्त्रमा कुनै स्त्रीलाई बलात् हिंसा गरेका पुरुष पात्रहरू ईश्वर र पुजनीय कहलिएका छन् । यसले स्त्रीलाई जोरजुलम गर्नुलाई मर्दाङ्गिनी गर्वको विषय जसरी प्रोत्साहित गरेको छ । यसमा रोक लगाउनका निम्ति समान हैसियत र समान मानवीय अवस्थाको अभ्यास घरबाटै, समाजबाटै, विद्यालय र राज्यका निकायबाटै हुन आवश्यक छ ।
आज एकथरी बुद्धिजीवीहरू यौनहिंसाका मुद्दामा तटस्थ बस्नुलाई नै आफ्नो बौद्धिकता ठानिरहेका छन् । कथित मुक्तिकामीहरू यस्तो विषयमा बोल्नुलाई लाजमर्दो कुरा भनिरहेका छन् । यस्तो विषयमा के बोलिरहेको भनेर हाँसो र मजाकको विषय बनाइरहेका छन् । आज पनि विश्वभर महिलालाई डसेर शारीरिक र मानसिक रूपमै आघात पारिरहेको यौनहिंसाका मुद्दालाई बेवास्ता गरेर केवल बौद्धिकता छाँट्नु, सुन्दर समाज र मुक्तिको परिकल्पना गर्नु फगत दिवास्वप्नमा मात्रै होइन ?
स्त्रीकै गर्भबाट जन्मिएर स्त्रीमाथि नै यति विघ्न घृणाभाव ओकल्ने, शक्तिको अहङ्कार गर्ने र तानाशाहीतन्त्र लाद्न महिला शरीरलाई आँगन बनाउने विषाक्त पुरुषत्व कसरी निर्माण भइरहेको छ ? यस्तो सामाजिक अवस्थितिको कारक र निवारणमाथि गम्भीर बहस, अभियान र निरन्तर सङ्घर्ष अपरिहार्य छ । महिलामाथि घाउ थोपरेर उन्मुक्त हाँस्ने परपीडक र रोगी समाजको शल्यक्रियाका निम्ति बौद्धिक विमर्श र सामूहिक अभियानको अभाव खड्किरहेको छ ।


