काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेश यादवले सीमा क्षेत्रमा जनतामाथि दोहोरो असुरक्षा बढ्दै गएको गम्भीर आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै नेता यादवले प्रहरी र तस्कर दुबैतर्फबाट मधेसका जनता असुरक्षित रहेको बताएका हुन् ।

 

दुई दिनअघि सप्तरीमा तस्कर र प्रहरीबिच झडप हुँदा प्रहरीको गोली लागेर मृत्यु भएको थियो । सोही सन्दर्भमा सप्तरीका नेता यादवले सादा पोसाकमा परिचालित घुमुवा प्रहरी, स्थानीय युनिटहरूसँगको सेटिङ्ग र ठुला तस्करको पहुँचकै कारण तस्करी व्यापक भइरहेको गुनासो गरेका छन् । “सम्प्रेषण नहुँदा र सम्मानजनक भागबन्डा नहुँदा समस्या उत्पन्न हुन्छ,” उनले भनेका छन् ।

उनले मधेसमा ठुलो रकम लिएर प्रशासनिक सरुवा गरिने चलन रहेको आरोप पनि लगाएका छन् । “जनपद र सशस्त्र प्रहरी पोस्टको रकम तय गरिएको हुन्छ ।” नेता यादवले भने, “असुल्न सक्नेहरूको सरुवा मै भाउ बट्टा तय गरिएको हुन्छ ।”

पूर्वमन्त्री यादवले राज्यको दृष्टिकोण अझै औपनिवेशिक रहेको भन्दै गम्भीर आपत्ति जनाएका छन् । “काठमाडौँमा पानीको फोहराले काम चलाउने प्रहरीले मधेसमा गोली प्रयोग गर्छन्,” उनले भने, “तर दोष प्रहरी मात्र होइन, हाम्रो गुलामी मानसिकताको पनि छ भनेर सोच्न जरुरी छ ।”

नेता यादवले प्रशासनद्वारा सञ्चारकर्मी, राजनीतिकर्मी तथा सामाजिक व्यक्तिहरूलाई आफ्नो वकालत गरिदिने पात्रका रूपमा उपयोग गरिने गम्भीर आरोप पनि लगाएका छन् । “कसलाई थुनाउने, मुद्दा लगाउने, छुटाउने—सबैमा प्रशासनले चलखेल गर्छ,” उनले उल्लेख गरेका छन्, “दलाल प्रवृत्तिका चाटुकारहरूको भाउ बढ्दो छ ।”

सप्तरीको राजगढमा प्रहरीको गोलीबाट ज्यान गुमाएका लालु यादवको प्रसङ्ग उठाउँदै उमेश यादवले गम्भीर प्रश्न उठाएका छन् । “उनीसँग कुनै हतियार बरामद भएको छैन, नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाउन सकिन्थ्यो,” उनले भनेका छन्, “तर, प्रहरीको व्यवहार ‘मन मिले सत्कार, नमिले बलात्कार’ मानसिकताको उपज हो ।”

माओवादीका नेता यादवले सीमामा भारतीय तस्कर र स्थानीय तस्करबिचको साँठगाँठले कुनै दिन मधेसी जनताको ज्यान नै जोखिममा पार्न सक्ने चेतावनी पनि दिएका छन् । “सिमानामा प्रहरीको बाक्लो उपस्थिति हुँदा पनि असुरक्षा बढिरहेको छ,” उनले भने, “यो दीर्घकालीन समस्याको सङ्केत हो ।”

उनले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज, व्यापारी तथा युवाहरूलाई गम्भीर र संवेदनशील बन्न आग्रह गर्दै राज्यका अङ्गहरूले आफूलाई जनताको सेवक ठान्नुपर्ने उल्लेख गरेका छन् । “राज्यको असमावेशी चरित्र, सिंहदरबारका शासकको नियतमै समस्या छ,” उनले लेखेका छन् ।

सम्वन्धित समाचार :