नेपाल वार एसोसिएसन सिरहा शाखाको निर्वाचन सम्पन्न, ४ बजे सम्म ७८ मत खस्यो
सिरहा, वैशाख २६ — नेपाल वार एसोसिएसन सिरहा शाखाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार सम्पन्न निर्वाचन शान्तिपूर्ण तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। निर्वाचन समितिका अनुसार बेलुका ४ बजे सम्म कुल ८१ मतदातामध्ये ७८ मत खसेको जनाएको छ। उच्च मत सहभागिताले यस पटकको निर्वाचनप्रति कानुन व्यवसायीहरूबीच विशेष चासो र उत्साह रहेको देखिएको छ।
यस निर्वाचनमार्फत १८ सदस्यीय नयाँ कार्यसमिति चयन हुने भएको छ। जसअन्तर्गत अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, सह-सचिव १, कोषाध्यक्ष १, सदस्य ८ तथा पार्षद ५ जना चयन गरिने व्यवस्था रहेको छ।
निर्वाचनमा अध्यक्ष पदका लागि अधिवक्ता सुवोध नारायण गोइत र अधिवक्ता विरेन्द्र कुमार लाम कर्णबीच प्रतिस्पर्धा रहेको छ। त्यसैगरी उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सदस्य पदहरूमा पनि विभिन्न उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। यस पटकको निर्वाचनमा विशेषगरी युवा कानुन व्यवसायीहरूको सक्रिय सहभागिता र उत्साहजनक उम्मेदवारीले चुनावलाई थप प्रतिस्पर्धात्मक बनाएको छ।
निर्वाचनअन्तर्गत सह-सचिव पदमा अधिवक्ता ओम कुमारी साह निर्विरोध निर्वाचित भएकी छन् भने पार्षद पदमा पनि ५ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। बाँकी पदहरूको लागि मतदान प्रक्रिया सम्पन्न भएपछि मतगणना सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ।
यस पटक वार एसोसिएसनको नेतृत्वका लागि दुई समूहबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। दुवै समूहले अदालत र वारभित्र सुशासन, पारदर्शिता, पेशागत मर्यादा, सेवाग्राहीमैत्री वातावरण तथा काममा प्रभावकारिता ल्याउने प्रतिबद्धता व्यक्त गर्दै चुनावी मैदानमा उत्रिएको बताएका छन्।
सिरहा जिल्ला अदालत परिसरमा सम्पन्न मतदान प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित तथा मर्यादित वातावरणमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचनको अन्तिम परिणामप्रति कानुन व्यवसायीहरू मात्र नभई सर्वसाधारणको समेत चासो बढेको देखिएको छ।
