जनकपुरधाम । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गए पनि धनुषा जिल्लाका गाउँघरमा खासै चहलपहल देखिएको छैन । ग्रामीण भेगका मतदाता जीविकोपार्जनका लागि आफ्नो नियमित दैनिकीमै व्यस्त रहँदा राजनीतिप्रति चासो राख्न नपाएको बताउँछन् ।
नगराइन नगरपालिका, बहुअर्वाका धनीराम आफूजस्ता नागरिकलाई चुनावका कुराले छुन नसकेको बताउँछन् । ‘भोट हालेरमात्र के गर्नु ? हाम्रो भोटले जितेको मान्छे सांसद, मन्त्री हुन्छ, तर हामीलाई फर्किएर पनि हेर्दैन । यही खेतबारीमा काम नगरी हामीलाई खान पुग्दैन,’ उनले भने, ‘कति भोट हालियो तर खोइ विकास ? हामी जस्ताको तस्तै अवस्थामा छौँ ।’
आफूले फागुन २१ गते चुनाव हुन्छ भन्ने सुनेको तर गाउँघरमा त्यसको प्रभाव नदेखिएको धनीरामले बताए । विगतमा जस्तो छलफल, गाउँको एजेन्डा र कसलाई भोट दिने भन्नेबारे अहिलेसम्म चर्चा नभएको उनको भनाइ छ ।

‘वडादेखि पालिका, प्रदेश सभा, प्रतिनिधि सभा चुनावमा भोट हालेकै हो,’ उनले भने, ‘जसलाई जिताए पनि हाम्रो दुःख, समस्या कम गर्ने काम कसैले गरेन । जितेपछि कसैले पनि वास्ता गर्दैन । बेरोजगारी र गरिबी घटेको छैन ।’
जनकपुरधाम उपमहानगरपालिका, रुपैठाका कारी यादवले चुनाव हुन्छ भन्ने आफूले सुनेको तर कहिले हुन्छ भन्नेबारे आफूलाई राम्रोसँग थाहासमेत नभएको बताए । हाँस पालन र माछा पालन फार्म सञ्चालन गर्दै आएका उनले आफूलाई राजनीतिक विषयमा धेरै जानकारी नभएको र त्यतातिर चासो राखेर पनि केही उपलब्धि नहुने बताए ।
यादवले रातोपाटीसँग भने, ‘चुनाव माघमा कि फागुनमा हुने भन्ने त सुनेको हुँ तर ठ्याक्कै कहिले हुने हो भन्ने थाहा छैन ।’

उनले हरेक चुनावमा उम्मेदवार बनेर आउनेहरूले विकासका सम्बन्धमा विभिन्न आश्वासन दिए पनि जनताको जीवनस्तरमा कुनै सुधार आउन नसकेको बताए । ‘पहिले बनेको बाटो त्यही हो, त्यो पनि बिग्रिसकेको छ । ढलान फुटिसक्यो, नाला व्यवस्थित छैन,’ आक्रोश व्यक्त गर्दै उनले भने, ‘मर्मत कसले गर्ने ? जसोतसो एउटा सानो फार्म चलाउँदै छौँ । अनुदानको त कुरै छोडौँ, ऋण मिलाइदेऊ भनेर कुन नेतालाई भनेनौँ ? कसैले हाम्रो कुरा सुन्दैन ।’
पुराना दलमाथि विश्वास टुटिसकेको यादवले बताए । उनले भने, ‘भोट माग्नेबेलामा मात्र उनीहरूले जनतालाई सम्झिने गरेका छन् ।’
जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्धीकी ५५ वर्षीय सैदा खातुनले पनि दलहरूप्रतिको असन्तुष्टि पोखिन् । ‘विकास भएको छ भने नेताको भएको छ, जनताको होइन,’ उनले भनिन्, ‘नेताहरूले आफ्नालागि ठुला घर बनाएका छन् । छोराछोरी विदेश पढ्न पठाएका छन् । हाम्रो विकास भनेको खेतबारीमै दुःख गर्ने, मेहनत जति गरे पनि मेहनत अनुसार आम्दानी नहुने, जनताको विकास त यस्तै हो ।’

कोदालो र खुर्पी चलाएको भरमा चार छोरी र एउटा छोरासहितको परिवार हुर्काएको खातुनले बताइन् । ‘खेत बेचेर छोरीको बिहे गरियो । थोरै पढाएर छोरालाई विदेश पठायौँ, तर एजेन्टले ठग्यो । कमाउन भनेर विदेश गएको छोरा त्यसै फर्कियो, ऋण तिर्न बाँकी छ,’ उनले भनिन्, ‘धेरै नेतासँग सहयोग माग्यौँ, कसैले केही गरेन । देशमै रोजगार हुन्थ्यो भने किन विदेश पठाउने ? चुनावी भाषणमा ठुला कुरा गर्छन्, फ्री भिसा भन्छन् तर हामीले ऋण काढेर छोरालाई विदेश पठाउँदा पनि ठगिएर फर्किनु पर्यो ।’
उनले निर्वाचन जहिले भए पनि आफूहरूलाई चासो नरहेको बताइन् ।
मिथिला नगरपालिका, तारापट्टीका मिथिलेशराम रोजगारीको अवसर नहुँदा जीविकोपार्जनमै साह्रै समस्या भएको बताउँछन् । ब्यान्ड बाजा बजाउने काम गर्दै आएका उनी सिजनमा कमाएको सीमित पैसाले गुजारा चलाउन नसकिने बताउँछन् ।

‘ब्यान्ड बजाउने काम सधैँ हुने होइन, बिहे तथा ब्रतबन्धको सिजनमा मात्र काम हुन्छ,’ उनले भने, ‘अरु काम गरौँ भने केही छैन । बेरोजगारजस्तै छौँ । विदेश जाने पैसा छैन ।’
सरकारले युवाका लागि न काम दिएको छ, न बाहिर जान सहयोग गरेको भन्दै उनले असन्तुष्टि जनाए । उनले देशमा जेनजी आन्दोलनपछि परिस्थिति केही फेरिएको भन्ने सुनेको तर त्यसको अनुभूति गर्न नपाएको बताए ।
चुनावपछि केही हुन्छ भनेर गाउँघरमा बाठाटाठाले भनेको आफूले सुनेको जानकारी दिँदै उनले भने, ‘सरसल्लाह गरेर त्यही अनुसार भोट त हाल्नुपर्ला ।’
मिथिलेशरामले आफ्नो निर्वाचन क्षेत्रबाट को–को उम्मेदवार छन् भन्नेबारे आफूलाई जानकारी नभएको बताए । यद्यपि उनले मत दिने चुनाव चिह्नचाहिँ रोजिसकेको प्रस्ट पारे ।
धनुषा–३ कै सन्तोष चौधरी अब परम्परागत सोचबाट मतदाता पनि माथि उठ्न जरुरी रहेको बताउँछन् । बेथिति, भ्रष्टाचारका कारण मुलुकको विकास हुन नसकेको जिकिर गर्दै उनले पटक–पटक परीक्षण भएर पनि देश र जनताका लागि काम गर्न नसकेकालाई अब मौका दिन नहुने बताए ।
धनुषा, महोत्तरी लगायतका जिल्लाबाट वैदेशिक रोजगारीमा थुप्रै युवा विदेश पुगेको चौधरीले बताए । ‘दिनहुँजसो विदेशबाट कसै न कसैको लास आइरहेको हुन्छ,’ उनले भने, ‘देशलाई यो अवस्थासम्म कसले पुर्यायो ? उनीहरूलाई हामीले अब कुन विश्वासले भोट दिने ?’

देशमै रोजगारीको व्यवस्था हुन्थ्यो भने कसैलाई विदेश जाने रहर नहुने चौधरीले बताए । ‘म पनि विदेश गएर आएको हुँ । अहिले भाडामा खेत लिएर खेती गरेँ, बेमौसमी वर्षाका कारण बाली भएन । समयमा मलखाद आएन । ऋण काढेर खेती गरेको थिएँ तर मेहनत अनुसारको प्रतिफल छैन,’ उनले भने, ‘नेताहरूले देश बर्बाद बनाए ।’
यो चुनावमा मत माग्न आउने उम्मेदवारसँग अब नमस्कार होइन, यी सबै समस्याका बारेमा प्रश्न सोध्ने तयारीमा आफू रहेको उनले बताए ।रातोपाटी


