नेपालको बहुदलीय लोकतान्त्रिक अभ्यासमा नेपाली कांग्रेस केवल एउटा दल मात्र होइन, एउटा ऐतिहासिक चेतना हो । यसले सत्ताका चक्रहरू मात्र होइन, राज्यको वैचारिक दिशा, नागरिक स्वतन्त्रताको संरचना र लोकतान्त्रिक संस्कृतिको बौद्धिक आधार निर्माणमा निर्णायक भूमिका खेलेको छ । तर आजको राजनीतिक परिवेशमा, जहाँ दलहरूबिचको भिन्नता क्रमशः धुमिलिँदै गएको छ, त्यही कांग्रेसको मौलिक विशिष्टता के हो र त्यसलाई कसरी जोगाउने भन्ने प्रश्न अत्यन्त गम्भीर बनेको छ ।
नेपाली कांग्रेसको पहिलो र सबैभन्दा केन्द्रीय विशिष्टता लोकतन्त्रप्रतिको सैद्धान्तिक निष्ठा हो । कांग्रेसका लागि लोकतन्त्र केवल सत्ता प्राप्तिको माध्यम होइन, शासनको नैतिक आधार हो । इतिहासले देखाएको छ– राणा शासनविरुद्धको संघर्षदेखि ००७ साल, ०१५ को संविधान, ०४६ को जनआन्दोलन र ०६२/०६३ को परिवर्तनसम्म– कांग्रेस सधैँ सत्ताभन्दा लोकतन्त्रको पक्षमा उभिएको दल हो ।
कांग्रेसको विशिष्टता सङ्कटमा किन ?
आज नेपाली कांग्रेसमाथि उठ्ने सबैभन्दा गम्भीर आरोप हो– वैचारिक धुम्मपन । व्यवहारमा कांग्रेस र अन्य दलहरूबिच नीति, शैली र प्राथमिकतामा फरक देखिन छाडेको अनुभूति आमनागरिकमा छ । सत्ता साझेदारीका नाममा गरिने असैद्धान्तिक गठबन्धन, अवसरवादी निर्णय र स्पष्ट वैचारिक आवाजको अभावले कांग्रेसको ऐतिहासिक पहिचान कमजोर बनाएको छ ।
अर्को सङ्कट हो– नेतृत्वको व्यक्तिकेन्द्रिकता । कांग्रेसले सधैँ संस्थागत नेतृत्वको अभ्यास गरेको दाबी गर्छ तर व्यवहारमा निर्णय प्रक्रिया सीमित व्यक्तिहरू वरिपरि घुमिरहेको अनुभूति बढ्दो छ । यसले पार्टीको आन्तरिक लोकतन्त्र मात्र होइन, बाह्य विश्वसनीयतालाई पनि क्षति पुर्याएको छ ।
तेस्रो, नयाँ पुस्तासँग संवादको सङ्कट । लोकतन्त्र, समाजवाद र स्वतन्त्रताको भाषा आजका युवाका लागि पर्याप्त छैन, जबसम्म त्यो रोजगारी, शिक्षा, प्रविधि र अवसरसँग जोडिँदैन । कांग्रेसको वैचारिक सम्पदा आधुनिक भाषामा रूपान्तरण हुन नसक्दा युवा पुस्ता आकर्षित हुन सकेको छैन ।
कांग्रेसको विशिष्टता कसरी जोगाउने ?
- पहिलो—वैचारिक पुनर्पाठ र स्पष्टता । कांग्रेसले आफ्नै इतिहास, समाजवादी–लोकतान्त्रिक दर्शन र राष्ट्र निर्माणमा खेलेको भूमिकालाई पुनः परिभाषित गर्नुपर्छ । हामी केका लागि फरक छौँ ? भन्ने प्रश्नको स्पष्ट उत्तर बिना कुनै राजनीतिक दल दीर्घकालीन बन्न सक्दैन ।
- दोस्रो– आन्तरिक लोकतन्त्रको पुनर्स्थापना । नेतृत्व चयन, नीति निर्माण र निर्णय प्रक्रियामा तल्लो तहसम्मको सहभागिता सुनिश्चित हुनुपर्छ । असहमति दबाउने होइन, संस्थागत बहसमा रूपान्तरण गर्ने संस्कार कांग्रेसको पुनर्जागरणको आधार बन्न सक्छ ।
- तेस्रो– नीतिमा निरन्तरता र सत्तामा नैतिकता । सत्ता प्राप्तिका लागि गरिने असैद्धान्तिक सम्झौताले अल्पकालीन लाभ दिन सक्छ, तर दीर्घकालीन पहिचान मेटाउँछ । कांग्रेसले सत्ता भन्दा मूल्यलाई प्राथमिकता दिने साहस पुनः देखाउनुपर्छ ।
- चौथो– नयाँ पुस्तासँग वैचारिक सेतु निर्माण । डिजिटल लोकतन्त्र, हरित अर्थतन्त्र, सामाजिक सुरक्षा, उद्यमशीलता र अवसरको राजनीति– यी विषयमा कांग्रेसले आफ्नो मध्यमार्गी दृष्टिकोण स्पष्ट गर्नुपर्छ । पुरानो मूल्य, नयाँ भाषा– यही सूत्र आजको आवश्यकता हो ।
निष्कर्ष
नेपाली कांग्रेसको मौलिक विशिष्टता यसको इतिहासमा मात्र होइन, यसको दर्शनमा निहित छ– लोकतन्त्रप्रतिको अटुट विश्वास, समावेशी राष्ट्रवाद, मध्यमार्गी राजनीति र आन्तरिक बहसको संस्कृति । तर विशिष्टता स्मृतिमा होइन, अभ्यासमा जोगिन्छ । यदि कांग्रेसले आफ्नो आत्मालाई पुनः चिनेन भने, यो पनि भीडमा हराउने एउटा दल मात्र बन्न सक्छ । तर यदि उसले आफ्नै मूल्यलाई साहसका साथ पुनः अँगाल्यो भने, नेपाली लोकतन्त्रलाई मार्गदर्शन गर्ने क्षमता अझै कांग्रेससँग बाँकी छ ।
लोकतन्त्र कमजोर हुँदा कांग्रेस आवश्यक हुन्छ; तर कांग्रेस कमजोर हुँदा लोकतन्त्र आफैँ असहाय बन्छ । नेपाली कांग्रेसका मौलिक विशिष्टता जोगाउन पार्टी सभापतिमा डा. शेखर कोइरालाको नेतृत्व अपरिहार्य बनेको छ ।


