सिरहा । जिल्लाभर करिब ३ हजारभन्दा बढी सिटी रिक्साहरू सञ्चालनमा रहेपनि यातायात भाडादरमा कुनै नियमित व्यवस्था नहुँदा सर्वसाधारण ठगिन बाध्य भएका छन्।चार देखि ६ जनाको क्षमता भएको सिटी रिक्सामा ८–१० जना यात्रु च्यापच्याप पारेर राखिने तथा टिकट वा दररेट नहुँदा चालकहरूले मनपरी भाडा असुल्ने गरेको यात्रुहरूको गुनासो छ। क्षमताभन्दा बढी यात्रु चढाउँदा दुर्घटनाको जोखिम समेत उच्च हुने देखिएको छ।
जिल्ला ट्राफिक कार्यालय सिरहा लहानका सई अनुरुद भुजेलका अनुसार,२०८१/७२ मा ९० र२०८२/८३ मा अहिलेसम्म ५० वटा दुर्घटनामा सिटी रिक्साहरू संलग्न रहेका छन्।
भुजेलले भने, सिटी रिक्सा र इ रिक्सा छोटो दूरीको लागि हो “राजमार्गमा सिटी रिक्सा तथा ई–रिक्सा अनुमति बिना चलाउन नमिल्ने प्रावधान छ। भाडादर निर्धारणको अधिकार गाउँपालिका/नगरपालिकामा रहेकाले दररेट नतोकिँदा चेकजाँचमा समस्या उत्पन्न भइरहेको छ र उल्टै विविध आरोप ट्राफिकलाई सहन परेको छ।”
औरही गाउँपालिका–३ का अशोककुमार यादव भन्छन् —
“लहानको पशुपति माविबाट बरियारपट्टी बसस्ट्यान्डसम्म ६० रुपैयाँ मागेपछि ट्राफिक बोलाएँ, तब मात्र पैसा फिर्ता भयो। भाडा कति हुनुपर्ने हो? कसैलाई जानकारी छैन।”
यता, सिरहा जिल्लाभर ११ ट्राफिक प्रहरी बिट कार्यरत रहे पनि प्रभावकारी नियमन नहुनु रहस्यमय रहेको यात्रुहरूको टिप्पणी छ।
यात्रुहरूले विशेष गरी मडार–सिरहा, सिरहा–भगवानपुर ,भगवानपुर लहान ,लक्ष्मीपुर पतारी-धनगढी ,सितापुर-भोटियाटोलर बरियारपट्टी जिरोमाइल,औरही- कसहा लगायत रुटमा मनपरी भाडा असुल्ने गरेको बताएका छन्।
उता, चालकहरूले मासिक ३ सय रुपैयाँ ट्राफिकलाई बुझाउनु पर्छ भन्दै सिटी रिक्स संघलाई रकम तिर्ने गरेको स्रोत बताउँछ। यही आर्थिक संरचना निगरानी नहुनुको कारण भएको यात्रुहरूको ठम्याइ छ।
यात्रुहरूको माग
भाडादर सूची सार्वजनिक गर्नुपर्ने
क्षमताभन्दा बढी यात्रु चढाउने कार्य तत्काल रोक्नुपर्ने
चोरी सवारी साधन चिन्न र नियन्त्रणमा कडाइ अपनाउनुपर्ने
ट्राफिक प्रहरीको नियमित चेकजाँच अनिवार्य गर्नुपर्ने


