नेपालगञ्ज । पछिल्ला वर्षमा नेपालगञ्जको स्वरूप उल्लेख्य रूपमा बदलिएको छ । फराकिला सडक, सडक किनारमा रोपिएका विभिन्न जातका बोटबिरुवाले यहाँको हरियाली प्रवद्र्धनसँगै सहरको सौन्दर्य बढाएका छन् ।
साँघुरा र धुलाम्मे सडक कालोपत्र गरिएका छन् भने हरियालीले नगरको शोभा बढाएको छ । रातानीला गुलमोहर र बेगमबेलीले नेपालगञ्जको सौन्दर्य चम्काएको छ । ‘क्लिीन नेपालगञ्ज, ग्रीन नेपालगञ्ज’का अध्यक्ष विनोद कर्ण पूर्वाधार विकाससँगै हरियाली थपिएकामा दङ्ग छन्।
तत्कालीन ब्रिटिश–इण्डियाबाट बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता पाएपछि प्रधानमन्त्री जङ्गबहादुर राणाले लखनउस्थित हजरतगञ्जको नमुनाका रूपमा नेपालगञ्ज बसाएको अभिलेख पाइन्छ । उनले सुब्बा सिद्धिमान राजभण्डारीलाई बस्ती बसाउन खटाएपछि हालको त्रिवेणीचोकदेखि दक्षिणतर्फ १०८ फिट चौडा सडकको दायाँ–बायाँ घर निर्माण गरिएको अभिलेखमा छ ।
