सिरहा, बरियारपट्टी — सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ स्थित छोटी भन्सार कार्यालयमा भन्सार काट्ने प्रक्रिया अचानक बन्द गराइएको छ। सम्बन्धित निकायबाट आएको भनिएको मौखिक आदेश का कारण नियमित रूपमा सञ्चालन हुँदै आएको सेवा अवरुद्ध हुँदा स्थानीय व्यापारी तथा सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
बरियारपट्टीको उक्त छोटी भन्सार माडर र ठाडी भन्सारको बीचमा पर्दछ, जहाँ दैनिक रूपमा ५ सयभन्दा बढी सेवाग्राही आउने गरेका छन्। भन्सार कर्मचारीको अनुसार यस भन्सारबाट मासिक करिब ५ लाख रुपैयाँ भन्दा राजस्व संकलन हुँदै आएको थियो, जसमा अधिकांश साना व्यापारीहरूले व्यक्तिगत नामबाट राजस्व तिर्ने गरेका थिए।
भन्सार सेवा बन्द भएसँगै दैनिक उपभोग्य सामग्री आयात गर्ने साना व्यापारीहरू सबैभन्दा बढी समस्यामा परेका छन्। “हामी साना सामान ल्याएर दैनिक गुजारा चलाउँछौँ, तर अहिले भन्सार काट्न नपाउँदा व्यापार नै ठप्प भएको छ,” स्थानीय व्यापारी किरण यादवले गुनासो गरे।
यस्तै, सर्वसाधारणले आवश्यक सामग्री ल्याउन अन्य भन्सार नाका प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना भएको छ। यसले समय र खर्च दुवै बढाएको छ भने अवैध मार्ग प्रयोग गर्ने जोखिम पनि बढेको स्थानीयहरूको भनाइ छ।
स्थानीय सरोकारवालाहरूले बिना लिखित सूचना मौखिक आदेशका भरमा सेवा बन्द गर्नु पारदर्शिता र कानुनी प्रक्रियाविपरीत भएको भन्दै तत्काल स्पष्ट निर्णय सार्वजनिक गर्न र भन्सार सेवा पुनः सञ्चालन गर्न माग गरेका छन्।
हालसम्म सम्बन्धित भन्सार कार्यालय वा उच्च निकायबाट यस विषयमा औपचारिक धारणा सार्वजनिक नभएकाले अन्योलता झन् बढेको छ। प्रभावित स्थानीयवासी तथा व्यापारीहरूले यथाशीघ्र समाधानको अपेक्षा गरेका छन्।
