काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश २०८३’ मा यसअघि विधेयक र अध्यादेश फिर्ता गर्दा उठाइएका चासो सम्बोधन गरिएको सन्देश पठाएका छन् ।
राष्ट्रपति पौडेलले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पठाएको यही अध्यादेशलाई बहुमतीय प्रणालीको मर्म विपरीत भएको भन्दै फिर्ता पठाइदिएका थिए । अहिलेको सरकारले पठाएको यो अध्यादेशमा पनि त्यही सन्दर्भ उठाउँदै राष्ट्रपति पौडेलले पुनर्विचार गर्न आइतबार पठाएका थिए ।
प्रधानमन्त्री बालेनले प्रष्टीकरणमा ६ जना सदस्य पदमा बहाल भएकै अवस्थामा मात्र बैठक बस्न सक्ने व्यवस्था गरिएको उल्लेख गरेका छन् । ६ जना मध्ये कुनै सदस्य खाली रहने अवस्थाको यो अध्यादेशले कल्पना नगरेको तर्क उनको छ ।
प्रधानमन्त्रीले पदमा बहाल रहेको तर बैठकमा उपस्थित नभएको अवस्थामा बैठक बस्नका लागि गणपूरक सङ्ख्याको कति हुने भन्ने विषय मात्र निर्धारण गरिएको उल्लेख गरेको राष्ट्रपतिको सचिवालयका एक अधिकारीले रातोपाटीलाई बताए ।
संवैधानिक परिषद्को सदस्य सङ्ख्या ६ जना अर्थात् जोर सङ्ख्या भएकाले कुनै पनि निर्णय उपर बराबरी भएको अवस्थामा कसको निर्णय मान्ने अवस्था आउने भएकाले तीन/तीनको सङ्ख्या भएमा परिषद्को अध्यक्ष सहमत भएको पक्षमा बहुमत भएको मानी निर्णय गर्ने व्यवस्था अध्यादेशमा गरिएको बालेनको पत्रमा उल्लेख गरेको ती अधिकारीले बताए ।
