हेटौँडा । हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले विकासको प्रक्रिया सुरुवाती चरणमा निर्मम र क्रुर देखिए पनि त्यसको अन्तिम नतिजा सधैँ सुन्दर हुने बताएकी छन्।

हाल देशैभर चर्चाको विषय बनेको सुकुमबासी बस्तीमा डोजर चलेको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएकी हुन्।

मेयर लामाले सुकुमबासी नागरिकको रोदन र क्रन्दन सुन्दा सरकारको कदम कठोर लागे पनि भग्नावशेषमा बन्ने सुन्दर पार्क, फराकिला सडक र नदी किनारको व्यवस्थापनले भविष्यमा एउटा कालजयी सिर्जना दिने विश्वास व्यक्त गरेकी छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग काठमाडौं महानगरको प्रमुख हुँदा नजिकबाट काम गरेको अनुभव सुनाउँदै उनले प्रधानमन्त्रीमा देश निर्माणका लागि भिन्न चेतना, दृढ हठ र अनौठो आँट रहेको दाबी गरिन्। बालेनको यो आँटलाई जनता र समय दुवैले साथ दिएको उनको तर्क छ।
सार्वजनिक जग्गामा बस्न बाध्य नागरिकहरूलाई नियतिले सुकुमबासी बनाएको भन्दै मेयर लामाले उनीहरूको अपहेलना नगर्न आग्रह गरेकी छन्। ‘उहाँहरू हाम्रै दाजुभाइ हुनुहुन्छ, परिस्थितिले सुकुमबासी बनाएको हो,’ उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूले विस्थापित सुकुमबासीका बारेमा गर्नुभएको चिन्ता सार्वजनिक भइसकेको छ, सरकारले उनीहरूलाई अलपत्र पार्दैन र पार्नु पनि हुँदैन।’
उचित व्यवस्थापनको तयारीका साथ नै प्रधानमन्त्रीले बस्ती खाली गर्न निर्देशन दिएको उनले स्पष्ट पारिन्। विगतमा माइतीघर मण्डला, शान्ति बाटिका र पशुपति पार्किङ क्षेत्र निर्माण गर्दा भएका विरोध र आलोचनाको स्मरण गराउँदै लामाले अहिले ती क्षेत्रमा भएको विकासले नै विनाशपछिको सुन्दरता प्रमाणित गरेको उल्लेख गरिन्।
सडक चौडा बनाउँदा वा सार्वजनिक जग्गा खाली गराउँदा विरोध गर्नुको साटो विकासमा हातेमालो गर्न उनले सबैलाई आह्वान गरेकी छन्।
सम्पत्तिले एक–दुई पुस्तालाई मात्र खुसी दिने तर सुन्दर र सम्पन्न देशले अनन्त पुस्तासम्म खुसी पुस्तान्तरण गर्ने भन्दै मेयर लामाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश निर्माणमा लाग्नुपर्नेमा जोड दिएकी छन्। उनले सुकुमबासीको नागरिक हक र अधिकारको ख्याल गर्दै उनीहरूलाई पनि सरकारी निकायको विरोध नगर्न र विकासमा सहयोग गर्न अनुरोध गरेकी छन्।

सम्वन्धित समाचार :