विश्वभर अहिले प्रेस स्वतन्त्रताका बारेमा चर्चा चलिरहेको छ । प्रत्येक वर्ष मे ३ का दिन औपचारिक रूपमा विश्वभर यो दिवस मनाउने गरिन्छ । मे ३ का छेउछाउका दिनमा यसै दिवससँग सम्बन्धित कार्यक्रमको आयोजना गर्ने गरिएको छ । नेपालमा पनि यस दिवससँग सम्बन्धित विविध कार्यक्रमहरु आयोजन गर्ने गरिएका छन् ।
यो वर्ष अर्थात २०२६ पनि अपवाद छैन, केही कार्यक्रम नेपालमा पनि तय गरिएका छन् । राज्यपक्षले यो दिवस मनाउन प्रायः अरुचि देखाउने गरेको पृष्ठभूमिमा वर्तमान सरकार पनि अपवाद बन्न सकेको देखिँदैन । पत्रकारिताको स्वतन्त्रता, व्यावसायिकता र सुरक्षाको पैरवी गरिने सन्दर्भमा महत्त्वपूर्ण मानिने यो दिवससँग सम्बद्ध कुनै कार्यक्रम घोषितरुपमा नेपाल सरकारका तर्फबाट सार्वजनिक गरिएको छैन ।
पत्रकारिताको भविष्यलाई लिएर विश्वव्यापीरुपमा चिन्ता व्यक्त गरिरहिएको बेला नेपाललगायत सम्पूर्ण विश्वलाई पत्रकारिताको उद्देश्य र दायित्वका सन्दर्भमा एक पटक पुनः चेतना जागृत गर्न/गराउन यो नारा कालजयी महत्वको छ भन्ने कुरा स्वीकार गर्नैपर्छ । नेपालको बदलिँदो राजनीतिक परिवेशमा यो नाराको महत्व अझै सान्दर्भिक बन्न पुगेको छ । यो विषय अर्थात् नारा स्वयंमा निकै महत्त्वपूर्ण मात्र छैन विगतको तुलनामा अर्थपूर्ण पनि छ ।
उक्त नाराका आधारमा यस दिवसका सन्दर्भमा आयोजित हुने कार्यक्रमहरूमा स्वतन्त्र पत्रकारिताले विश्व शान्ति, लोकतन्त्र र दिगो विकासमा पुर्याउने योगदानका साथै पत्रकारहरूको सुरक्षा, गलत सूचनाको चुनौती र पत्रकारितामा कृत्रिम बौद्धिकताको प्रभावबारे छलफल हुने विश्वास गरिएको छ । वास्तवमा यो नारा अत्यन्तै महत्त्वपूर्ण र सान्दर्भिक रहेकोमा दुई मत छैन ।
यसले सूचनाको शुद्धता र पत्रकारिताको नैतिकतामार्फत शान्ति स्थापनामा जोड दिएको मान्न सकिन्छ । मानवअधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन आवश्यक रहेको यथार्थ स्वीकार गरिएको यो नारामार्फत पत्रकारिताको कालजयी महत्वलाई विश्वसामु पुर्याउने लक्ष्य राखिएको छ ।
आजको पत्रकारिता प्रविधिबाट निर्देशित हुन बाध्य छ भन्दा अनुचित हुँदैन । विशेष गरी इन्टरनेटको विकास भएपछिका दिनमा सञ्चार र पत्रकारिता क्षेत्रमा प्रविधिको हस्तक्षेप बढेको छ र यसका राम्रा नराम्रा दुवै प्रभाव अनुभूत गरिएको छ भन्दा अतिशयोक्ति हुँदैन । डिजिटल प्रविधिको अभावमा एक प्रकारले पत्रकारिता कर्म असम्भव प्रतीत भइरहेको वर्तमान विश्वमा पत्रकारिता गर्ने शैली पनि व्यापक प्रभावित छ । बुझ्नुपर्ने कुरा के हो भने शैलीमात्र प्रभावित भएको हो, पत्रकारिताको सिद्धान्त, मूल मर्म र उद्देश्यमा कुनै परिवर्तन आएको छैन ।
पत्रकारिताको भविष्यलाई लिएर विश्वव्यापीरुपमा चिन्ता व्यक्त गरिरहिएको बेला नेपाललगायत सम्पूर्ण विश्वलाई पत्रकारिताको उद्देश्य र दायित्वका सन्दर्भमा एक पटक पुनः चेतना जागृत गर्न/गराउन यो नारा कालजयी महत्वको छ भन्ने कुरा स्वीकार गर्नैपर्छ । नेपालको बदलिँदो राजनीतिक परिवेशमा यो नाराको महत्व अझै सान्दर्भिक बन्न पुगेको छ । यो विषय अर्थात् नारा स्वयंमा निकै महत्त्वपूर्ण मात्र छैन विगतको तुलनामा अर्थपूर्ण पनि छ ।
एउटा कुरा निश्चित हो, यस पटकको नाराबाट युनेस्को पत्रकारिताको सार्वकालिक दायित्वका सम्बन्धमा गम्भीर छ भन्ने कुरा प्रमाणित भएको छ । हो, इन्टरनेटमा आधारित डिजिटल प्रविधिले पत्रकारिताका माध्यमहरुलाई तीव्र बनाएको छ । प्रभावकारी पनि बनाउने प्रयत्न गरेको छ । आमव्यक्तिमा सूचनाको शीघ्र सम्प्रेषणलाई सहज बनाएको छ । पत्रकारितालाई व्यावसायिक पत्रकारहरूको कित्ताबाट नागरिक पत्रकारिताको कित्तामा पुर्याउने काम गरेको छ ।
माथि उल्लेख गरिएका सन्दर्भमध्ये कति विषय उचित र कति अनुचित हुन्, त्यसका बारेमा बहस चल्दै गर्ला । तर वर्तमान अवस्थाले दुईवटा कुरा बडो गम्भीर ढंगले सोच्न उत्प्रेरित गरेको छ । पहिलो, पत्रकारिताको रचनात्मक (क्रिएटिभ) र विश्वसनीयताको पक्ष कमजोर बन्दै जानु । दोस्रो हो, डिजिटल प्रविधिको व्यवस्थापन र नियमनको वहानामा प्रेसमाथि राज्यको बढदो हस्तक्षेप ।
यी यस्ता प्रमुख कारण हुन् जसका आधारमा वर्तमान विश्वमा प्रेस, विचार तथा अभिव्यक्ति स्वतन्त्रता जोखिममा परेको अनुभव गरिएको छ र मानवअधिकार, विकास, सुरक्षाका सन्दर्भमा अनेक प्रश्न उब्जिने अवस्थाको सिर्जना भएको छ । पत्रकारले अल्छीलाग्दो पाराले सजिलो कार्यशैली अपनाउन खोज्दा ‘अल्गोरिदम’ जस्ता आधुनिक प्रविधिको प्रभाव अत्यधिक बढेको छ र पत्रकारिताको मौलिक स्वरुपमा क्षयीकरण भइरहेको छ भन्दा गलत ठहर्दैन ।
प्रविधिको अनियन्त्रित, अवैज्ञानिक र असान्दर्भिक प्रयोगका कारण मानिसको सोच्ने र विचार निर्माण गर्ने प्रक्रिया नै प्रभावित भइरहेको छ । र, मिडियाले सकारात्मक हस्तक्षेप गर्न सकिरहेको छैन भने मिडिया वा प्रेसको कार्यशैली तथा प्रभावकारिताबारे सोच्ने कि नसोच्ने ? यी सबै कुराको सम्बन्ध मानवअधिकार, विकास तथा सुरक्षासँग छ कि छैन भनेर विश्लेषण गर्ने कि नगर्ने ? बहस अपेक्षित छ ।
आजको विश्वमा सूचना सङ्कलन र सम्प्रेषणका सन्दर्भमा प्रयोग गरिने विभिन्न संयन्त्रका कारण आजको मानिस पाइलापाइलामा असुरक्षित बन्न पुगेका छन् । कहाँसम्म भने मानिसले के सुन्न, हेर्न र पढ्न मन पराउँछ वा पराउँदैन भन्ने व्यक्तिगत रुचीसम्बन्धी जानकारीमा पनि प्रविधिको नियन्त्रण स्थापित हुन पुगेको छ । व्यक्तिगत तथ्य र तथ्यांकको त कुरै भएन । यस आधारमा एउटा प्रश्न गर्न सकिन्छ, आधुनिक सञ्चार प्रविधिको उपयोग/दुरुपयोग गरेर आजका विश्वका सरकारहरू नागरिकको मौलिक अधिकारमाथि चुनौती थप्न उद्यत हुने सम्भावना रहन्छ कि रहन्न ?
प्रविधिको प्रयोगले पत्रकारितालाई प्रतिस्पर्धी बनाएको छ । शीध्र सूचना संप्रेषणका लोभमा र अरुभन्दा बढी लाइक, कमेन्ट र शेयर प्राप्त गर्ने अपेक्षमा पत्रकारले पत्रकारिताका माध्यमबाट आफूसँग भएका सूचना विना प्रशोधन हतारमा सम्प्रेषण गरिरहेको छ । यसबाट सर्वाधिक प्रभावित भइरहेको छ मानवअधिकार । शीघ्र सूचना सम्पेृषणको प्रवृत्तिले सूचनाको सत्य स्थापित गर्न आवश्यक सम्पादकीय प्रक्रिया (एडिटोरियल प्रोसेस) र ‘गेट किपिग’ को अवधारणालाई अनुसरण गर्न सकेको हुँदैन ।
यसले निश्चय पनि समाचारमा विश्वसनीयताको संकट निम्त्याउँछ । नेपालको अवस्था पनि अपवाद छैन । यतिखेर यहाँका सञ्चारमाध्यमले विश्वसनीयताको संकट बेहोर्न बाध्य हुनुपरेको छ । यसको एक मूल कारण यही डिजिटल प्रविधिआधारित प्रतिस्पर्धा हो ।
आजको पत्रकारिता प्रविधिबाट यति बढी प्रभावित भइसक्यो कि मानिसले प्रतिस्पर्धा गर्न सक्ने सम्भावनाका सन्दर्भमा क्रमशः चुनौती थपिँदै छन् । आज पत्रकारितामा रोबोट र आर्टिफिसियल इन्टेलीजेन्स अर्थात कृत्रिम बौद्धिकताको प्रयोग भइरहेको अवस्था छ । प्रविधिको यस हदसम्मको प्रयोगले पत्रकारितालाई क्रमशः परनिर्भरतातर्फ धकेलिरहेको छ भन्दा अस्वाभाविक हुँदैन । यस्तोमा पत्रकारिताको मौलिकतामाथि संकट निम्तिन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।
युनेस्कोको नारा नेपालका सन्दर्भमा पनि सान्दर्भिक रहेको पक्षमा दुई मत हुन सक्दैन । इन्टरनेटको विकासपछि न्यू मिडिया निकै सशक्त ढंगले उपस्थित भएको छ । यसले सामाजिक सञ्जाल र अनलाइनको प्रयोगलाई जनसामान्यको पहुँचमा ल्याएको छ । आज सूचना सम्प्रेषणका लागि पत्रकार नै भइरहनुपर्छ भन्ने मान्यता क्रमशः अस्वीकृत भइरहेको छ ।
यसको एकमात्र उपाय छ, त्यो हो पत्रकारको स्वसक्रियता । पत्रकारले प्रविधि निर्देशित कन्टेन्ट (विषय) मा भर पर्नुको साटो आफू सक्रिय हुनु आवश्यक छ । यो अवस्थाको उपस्थितिमा मात्र युनेस्कोले तय गरेको नाराले सार्थकता प्राप्त गर्न सक्नेछ, होइन भने पत्रकारिताको अवस्था दिनानुदिन ओराले लाग्ने निश्चित छ । यो अवस्थाबाट सूचना र विचारको नियन्त्रणमा विश्वास राख्ने सरकारहरूलाई त खुसी नै लाग्ला तर अधिकार गुमाउन बाध्य जनसामान्यका लागि भने यो भन्दा ठुलो दुखदायी अवस्था अरू हुने छैन ।
माथि पनि चर्चा गरियो, नेपाल पनि माथिको अवस्थाको अपवाद छैन । पछिल्लो समयमा नेपालमा डिजिटल प्रविधिले उत्पन्न गरेको प्रभावका कारण त समस्या उत्पन्न भएकै छ व्यवस्थित र नियमन गर्ने नाममा पत्रकारिता क्षेत्रमा राज्यको हस्तक्षेप बढेको अनुभव गरिएको छ । कतिपय सन्दर्भमा पत्रकारिता मानसिक दबाबको सिकार भएको अनुभव गरिँदै छ । सूचना सङ्कलन, सम्पादन र सम्प्रेषणसँग सम्बन्धित समस्याका साथै विज्ञापन—व्यवसायको अनिश्चितताको उपस्थितिमा पत्रकारिताले आफ्नो निर्दिष्ट लक्ष्य प्राप्त गर्न कठिन हुने कुरामा विमति हुन सक्दैन । यस्तोमा युनेस्कोको नाराले अर्थ प्राप्त गर्नु सहज हुँदैन ।
युनेस्कोको नारा नेपालका सन्दर्भमा पनि सान्दर्भिक रहेको पक्षमा दुई मत हुन सक्दैन । इन्टरनेटको विकासपछि न्यू मिडिया निकै सशक्त ढंगले उपस्थित भएको छ । यसले सामाजिक सञ्जाल र अनलाइनको प्रयोगलाई जनसामान्यको पहुँचमा ल्याएको छ । आज सूचना सम्प्रेषणका लागि पत्रकार नै भइरहनुपर्छ भन्ने मान्यता क्रमशः अस्वीकृत भइरहेको छ ।
तर जनसामान्यको पहुँचमा पुगेका डिजिटल प्लेटफर्महरु मार्फत् सम्प्रेषित सूचनाको आँधीबेहरीले विश्वसनीयताको संकट निम्त्याएको छ, यसमा दुई मत हुन सक्दैन । यस आधारमा भन्न सकिन्छ, पत्रकारिताले आफ्नो मौलिक महत्व र प्रक्रिया गुमाउँदै छ । यसैले त युनेस्कोले आफ्नो नारामार्फत सम्पूर्ण विश्वलाई घचघच्याउने कार्य गरेको छ ।
आशा गरौं, प्रेस स्वतन्त्रताको प्रवर्द्धनका माध्यमबाट मानवीय विकास र सुरक्षा सुनिश्चित गर्न आवश्यक वातावरणको निर्माणका दिशामा सरोकारवालाहरू सक्रिय हुनेछन् ।
