काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा घरटहरा हटाइरहेका छन् ।
बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा थापाथली क्षेत्रका करिब ४० प्रतिशत घरटहरा हटाइसकिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी पौडेलले आज काठमाडौँको थापाथली क्षेत्र र गैरीगाउँ सिनामङ्गल क्षेत्रका घरहटरा हटाइने जानकारी दिए । “समयले भ्याएसम्म आजै मनोहरा क्षेत्रमा पनि त्यस्ता बस्ती हटाउन सुरु गरिनेछ”, उनले भने ।
यसैबिच, मनोहराका सुकुमबासी पनि घरटहरा छाडेर गएका छन् । उनीहरूलाई सुरक्षाकर्मीले आफ्ना सामग्रीलाई सुरक्षित स्थानमा लैजान अनुरोध गरिरहेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार र आइतबार काठमाडौँ उपत्यकाका नदी किनारामा अवैध ढङ्गले बनाइएका घरटहरा हटाउन निर्देशन दिएका थिए ।
