‘बालेन सरकारले पाँच सय र एक हजारका नोट बन्द गर्दै’, ‘प्रदेश सभा खारेज गर्ने बालेन सरकारको तयारी’, ‘एमाले नेता महेश बस्नेत पक्राउ’ जस्ता शीर्षकहरू, फगत शीर्षक मात्रै हुन् । समाचार होइनन् । तर हाम्रा सामु यी विषयहरू समाचार जस्तै छ्यापछ्याप्ती प्रसारित भइरहेका हुन्छन् । तर यी फेक न्युज अर्थात् मिथ्या सूचना हुन् ।

बालेन सरकारले प्रदेश सभा खारेज गर्दैछ भन्ने कुरा दुई साता अघि फेसबुक, अनलाइन र युट्युबमा फैलियो । भ्रामक स्क्रिन सट र भिडियो क्लिप भाइरल भए । जब कि यो विषयमा आधिकारिक प्रस्ताव या निर्णय सार्वजनिक भएको छैन ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पाँच सय र एक हजारका नोट प्रतिबन्ध गर्दै छन् भन्ने अफवाह सार्वजनिक भयो । नेपाल राष्ट्र बैंकले यो हल्ला मात्रै हो, त्यस्तो कुनै योजना छैन भनेर पुष्टयाई दिन पर्‍यो ।
त्यस्तै केही दिन अघि एमाले सचिव महेश बस्नेत पक्राउ परे भनेर समाचारहरू आए तर उनलाई पक्राउ गरिएकै थिएन ।
यी र यस्तै संवेदनशील विषयलाई पनि अतिरञ्जित ढङ्गले मिडियामार्फत चर्चामा ल्याउने र थप आतङ्कित बनाउने कार्य अझै रोकिएको छैन । प्रत्येकको हातमा मोबाइल छ तर के सही र के गलत भन्ने छुट्याउन सक्ने ल्याकत छैन ।
फेक न्युज, अङ्ग्रेजी शब्दहरू हुन् तर पछिल्लो समय यी शब्दहरूको अत्यधिक प्रयोगसँगै नेपालीकरण गरिए सरह छ । फेक न्युज केवल गलत सूचना मात्र होइन, यो त एउटा जानाजान गरिएको छलकपट हो । गलत सूचना उत्पादन गर्ने र फैलाउने गतिविधि पनि हो ।
सत्यताबाट विमुख झुटो, भ्रमपूर्ण सूचना हो, जसलाई समाचारको रूपमा विभिन्न सामाजिक सञ्जालमार्फत प्रसारण या प्रस्तुत गरिन्छ । यसमा काल्पनिक घटनाहरूलाई पनि वास्तविक रूपमा प्रस्तुत गरिएको हुन्छ । यस्तो गलत सूचनालाई तीन भागमा विभाजन गरेर हेर्ने गरिन्छ । पहिलो, मिसइन्फरमेशन । दोस्रो, डिसइन्फरमेशन । तेस्रो, मालइन्फरमेशन ।
फेक न्युजमा भावनात्मक भाषा, क्लिकबेट हेडलाइन, फेक फोटो, भिडियो वा एआई जेनेरेटेड डिपफेकको प्रयोग गरिन्छ । इन्टरनेट र सामाजिक सञ्जाल (फेसबुक, टिकटक, इन्स्टाग्राम, भाइवर, युट्युब, एक्स आदि) को विकाससँगै यो छिटो र व्यापक रूपमा फैलिँदै गएको छ ।

जनमत प्रभावित गर्नु, राजनीतिक लाभ लिनु, घृणा फैलाउनु वा आर्थिक फाइदा कमाउनु पनि फेक न्युजको उद्देश्य हो ।

फेक न्युजको महामारी 

आम सञ्चारका विज्ञहरूका अनुसार फेक न्युजले कुनै पनि घटनाको वास्तविकता तोडमोड गरी मान्छेलाई भावनात्मक रूपमा प्रभावित पार्ने उद्देश्य राख्छ । यो केवल ‘गलत सूचना’ मात्र होइन– एक किसिमको हतियार हो ।

सत्य–तथ्यभन्दा पनि आक्रोशजन्य भावना जगाउने भाइरल सामग्रीलाई सामाजिक सञ्जालले स्थान दिने र व्यापक बनाउने काम गर्दै आएको छ । सञ्जालका विभिन्न प्लेटफर्म सही ढङ्गले नचलाएकै कारण पछिल्लो समय अनेक चुनौती र दुर्घटना निम्तिरहेको छ । सञ्जालमा सार्वजनिक फेक न्युजले नै अहिले महामारीको रूप लिँदै छ ।

सामाजिक सञ्जाल आफैमा खराब होइन तर त्यसको सदुपयोग भन्दा दुरुपयोग हुने खतरा बढ्दै गएको छ । एउटा फेक सञ्जाल सञ्चालन गरी सामाजिक सञ्जाल मार्फत फेक न्युज भाइरल गराइन्छ । एउटै फेक समाचारलाई एकै समयमा धेरै माध्यमबाट शेयर गराइन्छ । प्रायः गोप्य रूपमा रहने यी व्यक्ति या समूह आफ्नो लक्ष्य र उद्देश्य अनुसार फेक न्युज मार्फत युद्ध फैलाउँछन् ।

नेपालमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि फेक न्युजको बाढी आयो । त्यसताका फैलिएका फेक न्युज, फोटो र भिडियोले अफवाहको बजार ततायो । भदौ २३ गतेको आन्दोलनमा भएको मानवीय क्षति र घाइतेको विषयमा भ्रामक सूचना फैलियो । फेक भिडियोहरू सार्वजनिक गरिए  । दोस्रो दिनको आगजनी र तोडफोड पनि भ्रम फैलाउनेका लागि अवसर बन्यो । सामाजिक सञ्जालमा आएका अनेक फेक न्युज र भिडियो क्लिपले स्थिति थप त्रासदीपूर्ण बनायो ।

इजरायली संस्था सायब्राको प्रतिवेदन अनुसार भदौ २३–२४ को जेनजी विद्रोहमा अनलाइन संवादको ३४ प्रतिशत हिस्सा नक्कली एकाउन्ट र एआईद्वारा निर्मित सामग्रीबाट प्रभावित थियो । १४ लाखभन्दा बढी अन्तर्क्रियामध्ये एक लाख ६४ हजार शङ्कास्पद खाताबाट भएको थियो, जसले ३२ करोड बढी स्क्रिनमा पुगी सरकार विरोधी भाष्यलाई अतिवादी बनाउने प्रयास गरेको थियो ।

फेक न्युज सामान्य गल्ती होइन, यो लोकतान्त्रिक बहसमाथिको हस्तक्षेप हो । फेक न्युज स्पष्ट रूपमा ‘नक्कली’ देखिन्थ्यो भने कोही पनि झुक्किँदैनथ्यो । भ्रमित समाचारले जो कोहीलाई पनि झुक्क्याउन सक्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको एक तथ्याङ्क अनुसार, इन्टरनेट प्रयोगकर्ता सङ्ख्या तीव्र गतिमा बढिरहेको छ तर सोही अनुपातमा मिडिया र डिजिटल साक्षरता बढेको छैन । नेपालमा डिजिटल साक्षरता लगभग ३१ प्रतिशत मात्रै छ । अधिकांश प्रयोगकर्ताले समाचारको स्रोत हेर्दैनन् र हेडलाइन मात्र पढेर प्रतिक्रिया जनाउँछन् । धेरैजसो प्रयोगकर्ता सामाजिक सञ्जालमा भेटिने सबै सूचनालाई समाचार ठान्छन् ।

फलतः उनीहरू भावनात्मक र भ्रामक सामग्रीबाट सजिलै प्रभावित हुन्छन् । धारणा बनाउँछन् र निर्णय लिन्छन् । कसैलाई होच्याउने वा बदनाम गर्ने हेतुले आउने गलत समाचारहरू रातारात सामाजिक सञ्जालमा फैलिएर विभिन्न आपराधिक घटना हुने गरेको उदाहरणहरू पनि छन् ।

थोरै पैसा तिरेपछि सामाजिक सञ्जाल र अनलाइन मिडियामा समाचारहरू नै धेरै माझ पुग्ने गरी बुस्ट गर्न मिल्ने व्यवस्था पनि झनै घातक छ । फेक न्युजले आपसमा अविश्वास सिर्जना गरिदिने, मानसिक तनाव दिने र गलत निर्णय लिन बाध्य पार्न सक्ने स्थिति सिर्जना गरिदिन्छ ।

फेक न्युजले व्यक्तिको जीवनसँगै समाज, राजनीति र अर्थतन्त्र जस्ता विषयमा पनि गम्भीर असर पार्छ । फेक समाचारले एउटा समुदायलाई अर्को विरुद्ध उभ्याउने, विभिन्न जातीय नाममा विभाजन गर्ने जस्ता समाज भड्काउने क्रियाकलापहरू हुन सक्छन् । त्यस्तै राजनीतिक रूपमा हेर्ने हो भने, फेक न्युजको कारणले जनताको निर्णय लिने क्षमतालाई पनि कमजोर बनाएको छ ।

फेक न्युजले जनमत विभाजित गर्ने, निर्वाचन प्रक्रिया प्रभावित पार्ने र लोकतन्त्र नै कमजोर पार्ने काम पनि गरिदिन्छ । जस्तै: नेपालमा एमसीसी सम्झौता, निर्वाचन वा विरोध प्रदर्शनका बेला फेक भिडियो र एआई जेनेरेटेड क्लिपहरू फैलिएका थिए, जसले आम नागरिकमा भ्रम सिर्जना गरिदिएको थियो । स्वास्थ्य क्षेत्रमा खोप विरोधी अफवाह पनि फैलिने गर्छन् जसका कारण रोग र महामारी नियन्त्रणमा अनेक कठिनाइ उत्पन्न भएका छन् ।

वास्तविकता गुमराममा राखी भावनालाई भड्काउने र आफ्नो योजना अनुसार जनताहरूलाई परिचालित गर्न पनि फेक न्युजको प्रयोग गरिन्छ । फेक न्युजले मान्छेमा सहजै आक्रोश, चिन्ता, बदलाको भावना, घृणा फैलाउन र हिंस्रक बनाई दिन सक्छ । जातीय÷धार्मिक तनाव बढाएर सामाजिक सद्भाव खलबल्याई दिन पनि सक्छ ।

यसले सूचनाको विश्वसनीयता र वैधतालाई नै चुनौती दिन्छ र समाजको निर्णय लिने क्षमतामा गहिरो प्रभाव पार्छ । अध्ययन अनुसार फेक न्युज सत्यभन्दा छिटो फैलिन्छ र दीर्घकालीन रूपमा मिडिया र संस्थाप्रतिको विश्वास घटाउँछ । प्रत्येक नागरिकको सही सूचना प्राप्त गर्ने हक; ‘सूचनाको हक’ बाट पनि वञ्चित गर्न सक्छ ।

कसरी चिन्ने फेक न्युज ? 

फेक न्युज के हो भन्ने माथि उल्लेख गरिसकिएको छ । तर फेक न्युज कसरी चिन्ने ? यो प्रश्न हाम्रा सामु चुनौतीका रूपमा तेर्सिएको छ । भनिन्छ कि ‘फेक न्युज त्यो हो जुन फेक न्युज जस्तो लाग्दैन । नक्कली समाचारहरू पनि प्रायः यथार्थजस्तै हुन्छन् । झट्ट हेर्दा हामीले विश्वास गर्ने गरी बनाइएका हुन्छन् ।

फेक न्युजले समाजमा ‘असत्य’ लाई ‘सत्य’ झैँ देखाउने क्षमता राख्छ । हाम्रो समाजमा कथन नै छ नि हजार पटक झुटलाई सत्य भन्दा झुट नै सत्य बन्न जान्छ । तर यस्ता फेक सूचना, सामग्री र समाचार पहिचान गर्नु पर्छ । यसका लागि हामी स्वयंले  सूक्ष्म अध्ययन गर्ने, प्रश्न गर्ने र प्रमाण खोज्ने तर्फ लाग्नु पर्छ ।

निम्न कुरामा ध्यान दिऊँ

– विश्वसनीय सञ्चारमाध्यम, मिडिया वा आधिकारिक वेबसाइट हो कि होइन ? अनलाइन पोर्टलमा सम्पादकीय समूहको नाम तथा जिम्मेवारी लेखिएको छ कि छैन ? त्यो पोर्टलको कार्यालय, सम्पर्क फोन नम्बर, इमेल इत्यादि छ कि छैन ?

– केवल आकर्षक वा आक्रोशपूर्ण हेडलाइन फेक न्युजको पहिलो सङ्केत हुन सक्छ तसर्थ हेडलाइनभन्दा अघि समाचार पढ्ने ।

– धेरै फेक न्युजमा पुरानो वा सन्दर्भविहीन फोटो प्रयोग हुन्छ त्यसैले फोटो वा भिडियोको प्रामाणिकता हेर्ने । जाँच गर्ने ।

– पक्ष, विपक्ष या  श्रोतको कुरा र भनाइ छ कि छैन ? कसैको कोड या तथ्य छ छैन हेर्ने ।

– अत्यधिक भावनात्मक शब्दावली प्रयोग फेक न्युजको मुख्य रणनीति हो तसर्थ भावनात्मक ट्रिगरहरू चिन्ने ।

– कहिल्यै नसुनेको, नखोलेको अनलाइनबाट आएको सूचना/समाचार सही हो कि होइन भनेर पुनरपरीक्षण गर्ने ।

– डिजाइन हेर्दा कुनै प्रचलित संस्थाको नाम र डिजाइनसँग मिल्दोजुल्दो हुन सक्छ त्यसैले त्यसमा पनि ध्यान दिने ।

– बतासे अनलाइनहरु वा युट्युब च्यानलहरूले मात्रै फेक न्युज दिँदैनन् । ठुला पदमा आसीन मान्छेहरूले पनि दिन सक्छन् भन्ने हेक्का राख्ने ।

– सनसनीपूर्ण खुलासा, लाइक, कमेन्ट, शेयर, सब्सक्राइब गर्नुहोस् आदि अनुरोध गरिएको छ भने झनै सचेत हुने ।

– दिइएको लिङ्कमा थिच्दा अन्य ठाउँमा पुगिने, विषयवस्तु एकातर्फ र शीर्षक अर्कोतर्फ हुने अवस्था आयो भने थप सतर्क रहेर जाँचबुझ गर्ने ।

– नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तोकेका सम्बन्धित निकायहरूमा दर्ता गरेका विश्वसनीय र वैधानिक सञ्जालहरू मार्फत प्रकाशित सूचना स्रोतहरूलाई अध्ययन र प्रयोग गर्ने ।

फेक न्युजबाट बच्ने कसरी ?

फेक न्युज एकल प्रयासले रोक्न नसकिए पनि त्यसबाट बच्न र सचेत रहन सकिन्छ । फेक न्युज नियन्त्रणका लागि सर्वप्रथम फेक न्युज के हो ? कसरी बच्न सकिन्छ भन्ने विषय बुझ्न जरुरी छ । फेक न्युज चिनिसकेपछि यसबाट बच्न झनै सजिलो छ ।

– सामाजिक सञ्जालमा देखिने÷भेटिने हरेक पोस्टलाई ‘सत्य’ नठान्ने ।

– कुनै पनि सामग्री लाइक, कमेन्ट, शेयर गर्नु अघि तथ्य जाँच गर्ने ।

– फेसबुक/अनलाइन बहसमा अत्यधिक भावनात्मक प्रतिक्रिया नदिने ।

– आफूले थाहा पाएको मिथ्या सूचना÷समाचारबारे प्रमाणसहित अन्यलाई जानकारी दिने ।

– सनसनीपूर्ण समाचार आयो भन्दै शेयर गर्नुअघि मिडियासम्बन्धी अलि बढी जानकारी राख्ने, चिनेको साथीलाई सोध्ने ।

– स्कुल, कलेजमा डिजिटल साक्षरता पाठ्यक्रम समावेश गर्ने ।

– सामाजिक सञ्जाल कम्पनीहरूलाई एल्गोरिदम सुधारेर फेक सामग्री घटाउने, लेबलिङ र हटाउने नीति कडा बनाउने ।

– राज्य र मिडिया संस्थाले प्रभावकारी फ्याक्ट चेकिङ युनिट या मेकानिजम बनाउने ।

– डिजिटल साक्षरतालाई व्यापक र प्रभावकारी सञ्चालनका साथै लगानी गर्ने ।

– फेक न्युज फैलाउनेलाई कानुनी कारबाही र जनचेतना अभियान फैलाउने ।

पछिल्लो चरण भ्रामक र मिथ्या सूचनाको जालो तोड्ने उपायका रूपमा तथ्य जाँच अपनाइएको छ । कुनै भाइरल सूचना वा दाबीलाई विश्वसनीय प्रमाण सङ्कलन गरी त्यो सही, गलत वा भ्रामक भनी लेबल लगाउने वा निचोडमा पुग्ने प्रक्रिया नै ‘फ्याक्ट चेक’ हो ।

सनसनीपूर्ण खालका सूचना, भिडियो, समाचार शेयर, कमेन्ट गर्नेलाई पनि कारबाही हुनसक्छ । तसर्थ, कुनै समाचार सही हो वा गलत भनेर चिन्न जरुरी हुन्छ । गलत वा भ्रामक सूचना बाहिरबाट मात्रै आउने संकट होइन । हामी भित्रै रहेको सोच, अस्पष्टता र बुझाइले पनि निम्तिन सक्छ तसर्थ सर्व प्रथम हामी स्वयं स्पष्ट, सचेत र जिम्मेवार हुनु पर्छ । सूचना कसरी ग्रहण गर्ने, तिनको कसरी मूल्याङ्कन गर्ने हामीमा निर्भर छ ।

सही सूचना र समाचार प्राप्त गर्नु प्रत्येक नागरिकको अधिकार हो । त्यसैले फेक न्युज प्रकाशित गर्ने, प्रसारण गर्ने जो कोहीलाई पनि नेपालको प्रचलित कानुन अनुसार कडा कारबाही गरिनुपर्छ । फेक न्युज रोक्ने र शुद्ध सूचना÷समाचार प्राप्त गर्ने अवसर सिर्जनाका लागि सञ्चार उपभोक्ता, सञ्चारकर्मी, सञ्चारमाध्यम, सम्बद्ध सरकारी निकायबिच शिक्षा, सजगता र सहकार्य आवश्यक छ ।

(चौलागाईं नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हुन् ।)

सम्वन्धित समाचार :