काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारतको भ्रमणको औपचारिक निमन्त्रणा पठाएका छन् । मौरिससमा आयोजित हिन्द महासागर सम्मेलनको साइडलाइनमा भारतीय समाचार च्यानलका पत्रकार सिधान्त सिबलसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण र नेपालको नयाँ परराष्ट्र नीतिका विषयमा विस्तृत जानकारी दिएका हुन् ।
परराष्ट्रमन्त्री खनालका अनुसार नेपालमा निर्वाचन सम्पन्न हुनेबित्तिकै भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहलाई टेलिफोन गरेर बधाई दिएका थिए । सोही बधाई सन्देशमार्फत मोदीले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिएको र प्रधानमन्त्री शाहले उक्त निमन्त्रणा स्वीकार गरिसकेको खनालले स्पष्ट पारेका छन् ।
भारत भ्रमणको मिति भने तत्काल तय भइसकेको छैन । मौरिससमै भारतीय विदेशमन्त्री एस. जयशंकरसँगको पहिलो प्रत्यक्ष भेटवार्तामा परराष्ट्रमन्त्री खनालले द्विपक्षीय सम्बन्ध र आगामी भ्रमणबारे छलफल गरेका थिए ।
