मनु यादव निरज : सिरहा : ठाडी भन्सार कार्यालय भगवानपुर गाउँपालिका-४ सिरहाले लिलाम गर्न नमिल्ने अवैध सामान नष्ट गरेका छन् । विभिन्न समयमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका २५ वटा भन्सार मुद्दाका रू. ८ लाख ३४ हजार ७७६ रुपैयाँ बराबरको मूल्यका सामान नष्ट गरिएको हो।

ठाडी भन्सारको गस्ती टोल र नेपाल प्रहरी, सशस्त्र प्रहरीले बरामद गरी ठाडी भन्सार कार्यालयमा दाखिला गरेका पेय पदार्थ, सूर्तीजन्य पदार्थ, मदिरा , किटनाष्क औषधी, रजनिगन्धा , पान मसाला तथा अन्य अखाद्य वस्तुहरू नष्ट गरिएको ठाडी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मुकेश पाठकले जानकारी दिनुभयो।

उहाँका अनुसार स्वास्थ्यका लागि हानिकारक तथा कानुन अनुसार लिलाम गर्न नमिल्ने भएकाले ती सामानलाई कानुनी प्रक्रिया पूरा गरी आगो लगाएर नष्ट गरिएको हो।
भन्सार प्रमुख पाठकका अनुसार जथाभावी फाल्दा सर्वसाधारणले उठाएर लैजाने, वातावरण प्रदूषित हुने तथा गाड्दा पनि प्लास्टिकजन्य वस्तु नकुहिने भएकाले आगो लगाएर नष्ट गरिएको हो। समान नष्ट गर्ने प्रक्रियामा समितिको ढिलाइ हुदाँ सामान धेरै जम्मा भएको बताइएको छ।
ठाडी क्षेत्रका अभयनगर, मरिकटोल, कुसन्डी, झाझपट्टी, बरहरि र कचनारी लगायतका ग्रामीण ठाउँबाट अवैध तस्करी तथा आयात–निर्यात रोक्न प्रहरी प्रशासनले विभिन्न उपाय अपनाउँदै आए पनि तस्करीका घटना अझै बढ्दो क्रममा रहेको स्थानीयको भनाइ छ।
