सिरहा — ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस भगवानपुरस्थित भन्सार कार्यालयमा भव्य रूपमा मनाइएको छ। कार्यक्रम भन्सार प्रमुख मुकेश पाठकको अध्यक्षतामा विभिन्न सरोकारवालाको सहभागितामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै भन्सार प्रमुख पाठकले भन्सार कार्यालयले राजस्व संकलन मात्र नभई वैध व्यापार प्रवर्द्धन र सीमा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए। उनले भन्सार सेवालाई थप पारदर्शी, छरितो र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले भन्सार कार्यालय स्थापना भएपछि आम सर्वसाधारण र व्यापारीलाई कानुनी रूपमा सामान आयात–निर्यात गर्न सहज भएको बताए। “पहिले धेरै झन्झट र अव्यवस्था थियो, अहिले भन्सार कार्यालय हुँदा सबैले समान रूपमा कानुनी प्रक्रिया अपनाएर व्यापार गर्न पाएका छन्,” अध्यक्ष यादवले भने।
उनले भन्सार र स्थानीय तहबीच समन्वय बढेमा तस्करी नियन्त्रण, राजस्व वृद्धि र स्थानीय आर्थिक गतिविधि सुदृढ हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, व्यापारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सारको भूमिका र जिम्मेवारीबारे जनचेतनामूलक सन्देश पनि प्रवाह गरिएको थियो।


