काठमाडौँ । चुनावको मुखमा बजारमा चामल र खाने तेलको मूल्य बढेको छ । खाने तेलमा प्रतिकार्टुन ५०० रुपैयाँसम्म बढेको गुनासो आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । यस्तै चामलमा भने प्रतिबोरा १०० रुपैयाँसम्म बढेको गुनासो आएको उनले बताए ।

चामल र खाने तेलमा अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको गुनासो आएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरेको थालेको विभागले जनाएको छ ।

विभागका एक अधिकारीका अनुसार तेलको बट्टा वा कार्टुनमा तोकिएको एमआरपी २९० रुपैयाँ छ भने व्यापारीहरूले २६५ देखि २७० रुपैयाँसम्म बिक्री गरिरहेका छन् । ‘एमआरपीभित्रै बिक्री भइरहेको हुनाले कानुनतः कारबाही गर्न कठिन छ, तर व्यावहारिक रूपमा मूल्य बढेको सत्य हो,’ ती अधिकारीले भने ,‘फ्याक्ट्रीबाटै मूल्य बढेर आएको देखिएको छ ।’

विभागको प्रारम्भिक अनुगमन र विश्लेषणअनुसार बजारमा तेलको मूल्य बढ्नुमा मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र दैनिक मूल्य निर्धारण हो । अहिले अन्तर्राष्ट्रिय बजारमै खाने तेलको कच्चा पदार्थको मूल्य प्रतिब्यारेल करिब ३ हजार रुपैयाँले बढेको दाबी गरिएको छ । व्यवसायीहरूले तेलको मूल्यलाई सुनको भाउजस्तै गरी निर्धारण गर्ने गरेका छन् । स्टकमा रहेको पुरानो तेल भए पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा भोलिपल्टै बजार भाउ बढाउने प्रवृत्ति देखिएको छ ।

खानेतेलमा मूल्य वृद्धिसँगै अभावसमेत देखिन थालेको अनुगमनबाट थाहा भएको विभागका अधिकारी बताउँछन् । ‘उद्योगबाट बजारको आपूर्तिमा समस्या देखिएको छ, माल खासै छैन । ३–४ दिन अगाडिदेखि सहज आपूर्ति छैन,’ ती अधिकारीले भने ।
तेलको अभाव हुनका कारण

खाने तेलको मूल्य वृद्धि र अभाव सिर्जना हुनुका पछाडि मुख्य तीन कारण देखिएका छन् । एक उद्योगीका अनुसार भारतीय बजारमा उच्च माग, नगद कारोबारको आकर्षण, कच्चा पदार्थको मूल्यवृद्धिले समस्या निम्त्याएको हो ।

चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) मा ५७ अर्ब ४३ करोड ७१ लाख २८ हजार रुपैयाँ बराबरको ३ लाख ६६ हजार ९८४.११ लिटर बराबर भटमास तेल आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । उक्त तेलमध्ये ५६ अर्ब ८ करोड २४ लाख २६ हजार रुपैयाँ बराबरको २ लाख ७२ हजार २७५.९९ लिटर भटमासको तेल भारतमा निर्यात भएको देखिन्छ ।

‘भारतमा चिसो मौसम र नजिकिँदै गरेको होली पर्वका कारण तेलको खपत र माग उच्च भएको छ । नेपालमा अधिकांश कारोबार उधारोमा हुने तर भारत निकासी गर्दा वा भारतमा बिक्री गर्दा नगद भुक्तानी पाइने भएकाले व्यवसायीहरू निर्याततर्फ आकर्षित भएका छन्,’ ती उद्योगीले भने, ‘अन्तर्राष्ट्रियबजारमै कच्चा तेलको मूल्य बढेको असर पनि देखिएको छ ।’

भारतमा होलीपर्व र जाडोका कारण माग बढ्नु तथा नेपालभन्दा भारतमा नगद कारोबार सहज हुनुले मूल्य बढेको उनको बुझाइ छ ।

तेल आयात–निर्यातको अवस्था के छ ?

अघिल्लो वर्षको तुलनामा आयात बढेको देखिन्छ । २०८१/८२ को ६ महिना (साउन–पुस) मा २४ अर्ब ४० करोड ८३ लाख २८ हजार रुपैयाँको १७०११३.३४ लिटर भटमास (सोयाबिन)को तेल आयात भएकोमा यो वर्षको सोही अवधिमा ५७ अर्ब ४३ करोड ७१ लाख २८ हजार रुपैयाँ बराबरको ३ लाख ६६ हजार ९८४.११ लिटर आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

यस्तै सनफ्लावर (सूर्यमूखी) तेल पनि आयात बढेको छ । गत वर्ष सोही अवधिमा १३ अर्ब  ७२ करोड २७ लाख ६३ हजार रुपैयाँको ९८८७८.८८ लिटर तेल आयात भएकोमा चालु वर्षको सोही अवधिमा ४३ करोड ६७ लाख ७७ हजार रुपैयाँको ५६ हजार १६९.७४ सनफ्लावर तेल आयात भएको उल्लेख छ ।

चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) मा ५७ अर्ब ४३ करोड ७१ लाख २८ हजार रुपैयाँ बराबरको ३ लाख ६६ हजार ९८४.११ लिटर बराबर भटमास तेल आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । उक्त तेलमध्ये ५६ अर्ब ८ करोड २४ लाख २६ हजार रुपैयाँ बराबरको २ लाख ७२ हजार २७५.९९ लिटर भटमासको तेल भारतमा निर्यात भएको देखिन्छ ।

सो अवधिमा ४३ करोड ६७ लाख ७७ हजार रुपैयाँको ५६ हजार १६९.७४ सनफ्लावर  तेल आयात भएकोमा ४ अर्ब ७८ करोड ४४ लाख ८८ हजार रुपैयाँको २२ हजार २६७.१५ लिटर सनफ्लावर तेल निर्यात भएको उल्लेख छ ।

चामलको मूल्य बढ्नुको कारण

भारतबाट तेस्रो मुलुकमा निर्यात बढेको कारण देखाउँदै नेपालमा चामलको मूल्य बढ्न थालेको छ । नेपाली बजारमा अहिले चामलको मूल्य प्रतिबोरा १०० रुपैयाँसम्मले बढेको उद्योगी विभोग अग्रवालले बताए ।

स्वदेशी उत्पादनले माग धान्न नसक्ने र आयातमा निर्भर हुनुपरेका कारण भारतीय बजारमा हुने सानो हलचलले पनि नेपाली भान्सा महँगो बन्दै गएको व्यवसायीको विश्लेषण छ ।

अग्रवालका अनुसार, नेपालमा धान उत्पादनको सिजन भर्खर सकिएको भए पनि मूल्य बढ्नु स्वाभाविक मानिँदैन । सामान्यतया धान भित्र्याएको तीन महिनापछि मात्र मूल्य बढ्ने गर्छ, तर डेढ महिनामै मूल्यवृद्धि भएको छ । यसको मुख्य कारण भारतले बङ्गलादेशलाई २ लाख मेट्रिक टन चामल निर्यात गर्ने सम्झौता गर्नु रहेको ती उद्योगी तर्क गर्छन् ।

‘नेपाल चामलमा आत्मनिर्भर छैन, हामीले भारतकै धान प्रयोग गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘भारतबाट बङ्गलादेशमा चामल जाने पक्का भएपछि भारतमै धानको मूल्य बढेको छ, जसको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो ।’ अहिले मोटो तथा मसिनो दुवै प्रकारका चामलमा प्रतिबोरा औसत १०० रुपैयाँले मूल्य बढेको छ ।

स्वदेशी उत्पादनले माग धान्न नसक्ने र आयातमा निर्भर हुनुपरेका कारण भारतीय बजारमा हुने सानो हलचलले पनि नेपाली भान्सा महँगो बन्दै गएको व्यवसायीको विश्लेषण छ ।

सम्वन्धित समाचार :