राम्रो नैतिकता र राम्रो भिजन भएको योग्य उम्मेदवार र राम्रो नीति भएको राजनीतिक पार्टीलाई पनि किन नेपाली जनताले भोट दिँदैनन् ? किनकि नेपालीहरूले मतदान गर्दा विभिन्न मापदण्डहरूलाई आधार बनाउने गरेको पाइन्छ । आफ्नो राजनीतिक पार्टीप्रति निष्ठा, आफ्नै वंश वा नातागोताका उम्मेदवारलाई समर्थन गर्ने प्रवृत्ति, विगतमा अप्ठ्यारो परेको समयमा कसले सहयोग गर्यो भन्ने आधारमा गुण फर्काउने सोच, आफ्नो शत्रुको ठीकविपरीत उम्मेदवारलाई भोट दिने व्यवहार, आफू वा आफ्ना परिवारका सदस्यलाई कसले जागिर दिलायो, भविष्यमा जागिर वा अन्य अवसर कसबाट प्राप्त हुन सक्छ, भोलि अप्ठ्यारो पर्दा कसले सहयोग गर्न सक्छ भन्ने आशा, तथा साथीसंगीको प्रभावमा परेर पनि मतदान गर्ने गर्दछन् ।
यी दुई भनाइसँग मिल्दोजुल्दो प्रवृत्ति नेपाली समाजमा पाइन्छ ।
अर्को महत्त्वपूर्ण कारण आर्थिक अवस्था हो । ठुलो संख्यामा जनता दैनिक जीवनयापनकै चिन्तामा छन् । दीर्घकालीन नीति, सुशासन र संरचनागत सुधारभन्दा तत्कालीन राहत, व्यक्तिगत सहयोग वा सानो फाइदाले मतदातालाई आकर्षित गरेको पाइन्छ । यसले राम्रो नीति बोकेका पार्टीहरूलाई कमजोर बनाउँछ, किनकि उनीहरूको एजेन्डा तुरुन्त देखिने लाभभन्दा भविष्यकेन्द्रित हुन्छ ।
नेपाली समाज जातको नाममा विभाजित छ, धर्मको नाममा विभाजित छ, भौगोलिक क्षेत्रीयताको नाममा विभाजित छ, धनी गरिब वर्गीयताको नाममा विभाजित छ र लैङ्गिक हिसाबले पनि विभाजित छ, तर विशेषतः नयाँ पुस्ताहरूमा यी कुराहरूको प्रभाव छैन वा कम छ र शहरीया शिक्षित वर्गमा पनि कम भएको मान्न सकिन्छ । अझ गहिरिएर यी विषयहरूमा तल चर्चा गरौँः
नेपालमा लोकतान्त्रिक व्यवस्था स्थापित भएको लामो समय भइसक्दा पनि चुनावी परिणामहरू हेर्दा योग्यता, नैतिकता र दीर्घकालीन भिजन भएका उम्मेदवार तथा स्पष्ट नीति बोकेका राजनीतिक पार्टीहरू अपेक्षाकृत कमजोर देखिन्छन् । यसको सट्टा, पटक–पटक उही अनुहार र उही प्रवृत्ति दोहोरिएको देखिन्छ । यसले नेपाली समाज र राजनीतिक संस्कृतिभित्रको समस्याले गहिरो रूपमा जरा गाडेका केही यथार्थलाई उजागर गर्छ ।
नेपाली समाजमा राजनीतिप्रतिको विश्वास क्रमशः कमजोर बन्दै गएको छ । विगतमा गरिएका वाचा पूरा नहुनु, भ्रष्टाचारका घटना दोहोरिनु र सत्तामा पुगेपछि जनताको आवाज सुन्ने संस्कार कमजोर हुनुका कारण ‘राम्रो मान्छे आए पनि केही बदलिँदैन’ भन्ने सोच धेरैमा बसिसकेको छ । यस्तो निराशावादी मानसिकताले इमानदार र भिजनयुक्त उम्मेदवारलाई पनि भोट दिन नचाहने अवस्था सिर्जना गरेको छ ।
अर्को महत्त्वपूर्ण कारण आर्थिक अवस्था हो । ठुलो संख्यामा जनता दैनिक जीवनयापनकै चिन्तामा छन् । दीर्घकालीन नीति, सुशासन र संरचनागत सुधारभन्दा तत्कालीन राहत, व्यक्तिगत सहयोग वा सानो फाइदाले मतदातालाई आकर्षित गरेको पाइन्छ । यसले राम्रो नीति बोकेका पार्टीहरूलाई कमजोर बनाउँछ, किनकि उनीहरूको एजेन्डा तुरुन्त देखिने लाभभन्दा भविष्यकेन्द्रित हुन्छ ।
नेपाली समाजमा जात, क्षेत्र, नातागोताको राजनीति अझै प्रभावशाली छ । धेरै मतदाताले उम्मेदवारको नैतिकता वा क्षमतालाई भन्दा पनि ‘आफ्नो मान्छे’ भन्ने आधारमा निर्णय गर्छन् । यसले योग्य भए पनि बाहिरबाट आएका, नयाँ सोच बोकेका वा परम्परागत सञ्जालमा नजोडिएका उम्मेदवारलाई घाटा पुर्याउँछ ।
राजनीतिक शिक्षा र सूचनाको अभाव पनि ठुलो समस्या हो । धेरै मतदाताले पार्टीका घोषणापत्र पढ्ने, नीतिगत भिन्नता बुझ्ने वा उम्मेदवारको दीर्घकालीन दृष्टि विश्लेषण गर्ने अवसर वा बानी पाएका छैनन् । भावनात्मक भाषण, लोकप्रिय नारा र सामाजिक सञ्जालमा फैलिने गलत सूचनाले मतदाताको सोच सजिलै प्रभावित हुने गरेको छ । चुनावी प्रक्रियामा पैसाको प्रभाव बढ्दै जानुले नैतिक र सक्षम उम्मेदवारहरू झन् पछाडि पर्दै गएका छन् । ठुलो खर्च गरेर प्रचार गर्न सक्ने, प्रभावशाली सञ्जाल चलाउन सक्ने र शक्ति प्रदर्शन गर्न सक्ने उम्मेदवारहरू बढी देखिने भएकाले जनताको ध्यान पनि उनीहरूतर्फ नै जान्छ । राम्रो नीति र भिजन भए पनि प्रचार र स्रोतको अभावले त्यस्ता उम्मेदवार ओझेलमा पर्छन् ।
अन्ततः राज्यका संस्थाहरू बलियो नहुनु र कानुनको प्रभावकारी कार्यान्वयन नहुनुले जनताको आशा कमजोर बनाएको छ । राम्रो नीति भएका पार्टीहरू पनि सत्तामा पुगेपछि संस्थागत बाधा, आन्तरिक राजनीति र पुरानै संरचनाका कारण अपेक्षित काम गर्न नसक्दा जनतामा ‘नीति कागजमै सीमित हुन्छ’ भन्ने धारणा बलियो भएको छ ।
यसरी हेर्दा, नेपाली जनताले राम्रो नैतिकता, राम्रो भिजन र राम्रो नीति भएका योग्य उम्मेदवार वा पार्टीलाई भोट नदिनु केवल चेतनाको कमी मात्र होइन, यो सामाजिक, आर्थिक र संस्थागत समस्याहरूको परिणाम हो । जबसम्म राजनीतिक शिक्षा, आर्थिक सुरक्षा र संस्थागत विश्वास बलियो हुँदैन, तबसम्म लोकतन्त्रमा गुणस्तरभन्दा पनि प्रभाव र पहुँच नै निर्णायक भइरहने देखिन्छ ।
विभिन्न तहमा, क्षेत्रमा, पार्टी केन्द्रदेखि टोल कमिटीसम्म पार्टीको संगठन र सिन्डिकेटका कारण पनि मतदानमा निर्णायक भूमिका खेल्ने भएकोले लोकप्रिय, जनप्रिय नेता तथा राजनीतिक पार्टीलाई नैतिक समर्थन हुनसक्छ, तर मतदानको सहयोग प्राप्त नहुन सक्छ । तथापि सबैमा यो कुरा लागु हुँदैन । धेरै नेपालीले चुनावलाई राष्ट्रिय पर्वको रूपमा लिन्छन् र अन्य मुलुकको तुलनामा अत्यधिक नेपालीहरू मतदानमा सहभागी हुने गर्दछन् ।
पार्टीभित्र अवसरबाट वञ्चित पार्टीकै नेता कार्यकर्ताहरूले विद्रोह गर्ने, दलभित्र अन्तर्घात गर्ने, दलदलबिच साँठगाँठ गर्ने संस्कार भएकोले सधैँ योग्य, नैतिकवान उम्मेदवार र पार्टीलाई जनताले भोट दिँदैनन् । पछिल्लो समय नेपाली समाज पनि सोसल मिडियामा परनिर्भर भइदिँदा डिपस्टेट अर्थात् प्रभावशाली बाहिरिया मुलुकका विभिन्न निकायहरूको भूमिकाले ठुलो असर पर्ने गरेको देशविदेशको अभ्यासमा देखिन्छ । जस्तैः फेसबुक, एक्स, इन्स्टाग्राम, युट्युबहरू अमेरिकाद्वारा उत्पादित र नियन्त्रित सोसल मिडिया हुन् । सोसल मिडियाले कसको कुन कुरा कसलाई देखाउने, कुन कुरा लुकाउने आदि नियन्त्रण गर्ने भएकोले यसको प्रभाव ठुलो पर्ने देखिन्छ । डिपस्टेटहरूले स्वयं व्यक्तिलाई थाहै नदिई उसलाई एजेन्टको रूपमा काम लगाइरहेको हुन्छ ।
यसर्थ राम्रा सक्षम नेता र राम्रा पार्टीहरूले पैसा बाँड्ने, सोसल मिडियामार्फत अफवाह फैलाउने आदि कार्यविरुद्ध सावधानी अपनाउँदै नयाँ परिवेशअनुसार तयारी गर्न आवश्यक देखिन्छ । सोसल मिडियाको प्रभावकै एक हिस्साको रूपमा गत भदौ २३–२४ को जेनजी विद्रोहलाई लिनुपर्दछ । चुनावको बखत बुझ्नपर्ने एक सवाल ससाना राजनीतिक पार्टीहरू विभाजित हुने र दलबदल बढी हुने भएकोले मत संख्या थपिने वा भोट स्विङ हुने गर्दछ, र त्यही स्विङ भोटले मतपरिणाम अनपेक्षित बनाउन सक्दछ । त्यसैले, त्यस्ता दल वा समूहको साथ लिन सक्नुले परिणाम निर्णायक हुन सक्दछ ।
अन्त्यमा, राम्रो नैतिकता र राम्रो भिजन भएको योग्य उम्मेदवार र राम्रो नीति भएको राजनीतिक पार्टी हुँदैमा, राम्रो काम गरेको प्रभाव भएको व्यक्तिलाई आँखा चिम्लेर जनताले भोट हाल्नेछन् भन्ने बुझ्नु सही होइन । भोट एक, प्रभाव अनेकबाट प्रभावित भई मतदान गर्ने गर्दछन् ।
समय परिवर्तनशील छ, नयाँ पुस्तालाई राजनीतिप्रति चासो छैन, उनीहरूमा वितृष्णा छ भन्दै गर्दा जेनजी विद्रोहले सबैलाई झस्काएको छ, आँखा खोलिदिएको छ । योग्य, नैतिकवान उम्मेदवार र राम्रो नीति भएको पार्टीलाई जनताले भोट दिँदैनन् भन्ने होइन, तर भोट दिने नेपालीहरूको मापदण्डहरूः पार्टीप्रति निष्ठा, आफ्नै वंश वा नातागोता, अप्ठ्यारो परेको समयमा कसले सहयोग गर्यो भन्ने आधार, आफ्नो शत्रुको ठीकविपरीत धारमा उभिने प्रवृत्ति, कसले जागिर दिलायो, भविष्यमा जागिर वा अन्य अवसर कसबाट प्राप्त हुन्छ, भोलि जेलनेल पक्राउ पर्दा कसले सहयोग गर्न सक्दछ भन्ने आडभरोसा, छरछिमेक वरपर साथीसंगीको प्रभावका कारण मतदान गर्ने गर्दछन् ।
अझ पैसाले भोट किन्ने विकृतिले पैसा खर्च गर्ने उम्मेदवारले जित्ने र राम्रो र योग्य पराजित हुने गर्दछन् । उम्मेदवार र राजनीतिक पार्टीले चुनाव जित्न साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर चुनावमा होमिँदा अनपेक्षित खर्च हुने कारण कतिको घरव्यवहार बिग्रने, उठिबास हुने आदि घटनाहरू भएकाले त्यसरी होमिँदै गर्दा उम्मेदवारले आम नेपालीहरूको मतदान गर्ने मापदण्डलाई पनि समयमै ख्याल गर्नु वाञ्छनीय हुन्छ ।
लोकतन्त्रमा योग्य उम्मेदवार हार्नुको मुख्य कारण उम्मेदवार कमजोर हुनु होइन, मतदाताको निर्णय भावना र स्वार्थद्वारा निर्देशित हुनु हो ।


