बरियारपट्टी छोटी भन्सार स्तर उन्नति गर्नुपर्ने माग : गोपालप्रसाद यादव
सिरहा — सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सारको स्तर उन्नति गर्नुपर्ने माग उठेको छ। सिरहा नगरपालिका–१९ का भूपू वडा अध्यक्ष गोपाल यादवले उक्त भन्सारलाई स्तरोन्नति गरी व्यवस्थित सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्।
उनका अनुसार, माडर र ठाडी क्षेत्रमा ठूला भन्सार सञ्चालनमा रहेका भए पनि बरियारपट्टीको भन्सार बीच क्षेत्रमा रहेर पनि उपेक्षामा परेको छ। “यो भन्सार रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा भए पनि राज्यको ध्यान पुगेको छैन,” उनले बताए।
बरियारपट्टी बजार समिति तथा हालका सांसद शिव यादवले समेत यस विषयमा सरकारलाई ज्ञापनपत्र बुझाइसकेका छन्। तर, अहिलेसम्म कुनै ठोस पहल नभएको गुनासो गरिएको छ।
हालसम्म उक्त छोटी भन्सार नाममै सीमित रहेको, आवश्यक पूर्वाधार, जनशक्ति तथा व्यवस्थापनको अभाव रहेको स्थानीयको भनाइ छ। भन्सार व्यवस्थित नहुँदा स्थानीय व्यापारीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। उनीहरूले सामान ओसारपसार गर्न टाढाका भन्सार प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउँदै अतिरिक्त ढुवानी खर्च, समयको नोक्सानी तथा अनावश्यक झन्झट खेप्नुपरेको गुनासो गरेका छन्।
व्यापारीहरूले भन्सारलाई पूर्ण रूपमा सञ्चालनमा ल्याई सहज सेवा उपलब्ध गराउन, राजस्व संकलन वृद्धि गर्न तथा स्थानीय आर्थिक गतिविधि प्रवर्द्धन गर्न सरकारसँग माग गरेका छन्।
