काठमाडौँ । नेकपा एमालेले पार्टीको संगठनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजाने निर्णय गरेको छ।
आइतबार केन्द्रीय कार्यालयमा आयोजित विशेष बैठकमा संगठन विभागले सदस्यता व्यवस्थापनसम्बन्धी डिजिटल प्रणालीको प्रदर्शनी गर्दै नयाँ सदस्यता वितरण र नवीकरणको सम्पूर्ण प्रक्रिया अब अनलाइनबाटै हुने जानकारी दिएको हो।
बैठकलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष विष्णु पौडेलले अनलाइन सदस्यता नवीकरण अभियान पार्टी जीवनलाई अनुशासित र प्रभावकारी बनाउन कोसेढुङ्गा सावित हुने बताए। उनले पार्टीका हरेक सदस्यको अभिलेखलाई स्पष्ट र पारदर्शी बनाउन यो प्रणाली अनिवार्य रहेको उल्लेख गरे।
संगठन विभागका संयोजक तथा केन्द्रीय सचिव भानुभक्त ढकालले केन्द्रदेखि वडा तहसम्मको अभिलेखलाई एकीकृत डिजिटल प्रणालीमा आबद्ध गरिने जानकारी दिए। यो प्रणाली लागू भएपछि एमालेका सातै प्रदेश, ७७ जिल्ला र ७५३ वटै पालिकाका सदस्यहरूको विवरण एक क्लिकमै हेर्न सकिनेछ।
संगठन विभागले तयार पारेको नयाँ कार्ययोजना अनुसार अब एमालेका सबै तहका नेता तथा कार्यकर्ताको व्यक्तिगत विवरण (बायोडाटा) समेत अनलाइनमा संकलन र अभिलेखीकरण गरिनेछ। यसअघि नै महासचिवको उपस्थितिमा भएको प्रदेश अध्यक्षहरूको बैठकले जेठ मसान्तसम्मलाई सदस्यता नवीकरणको अन्तिम समयसीमा तोक्ने प्रस्ताव अघि सारिसकेको छ। सदस्यता प्रणालीलाई पार्टीको नियमित काम र जिम्मेवारीसँग प्रत्यक्ष जोडिने भएकाले पनि यस पटक डिजिटल नवीकरणलाई विशेष महत्त्व दिइएको हो।
संगठन विभागका संयोजक ढकालका अनुसार तोकिएको समयभित्र अनलाइनमार्फत सदस्यता नवीकरण नगर्ने सदस्यहरू स्वतः सम्बन्धित पार्टी समितिको जिम्मेवारीबाट मुक्त हुनेछन्। अर्थात्, समयमै सदस्यता अद्यावधिक नगरेमा जस्तोसुकै प्रभावशाली नेता भए पनि उनीहरूको पद र जिम्मेवारी स्वतः खारेज हुने गरी नयाँ प्रणाली विकास गरिएको छ।
यसले पार्टीभित्र हुनसक्ने नक्कली सदस्यता र भद्रगोल अभिलेखको समस्यालाई सधैँका लागि अन्त्य गर्ने विश्वास लिइएको छ।
