काठमाडौँ । सहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरणका क्रममा छुटेका र समस्यामा परेका नागरिकलाई तत्काल सम्पर्कमा आउन आह्वान गरेको छ।
मन्त्रालयले शनिबार एक प्रेस नोट जारी गर्दै सहायता आवश्यक भएका र हाल सडकमा अलमलमा परेका नागरिकलाई काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापना गरिएको प्राथमिक दर्ता केन्द्रमा उपस्थित हुन अनुरोध गरेको हो।
होल्डिङ सेन्टरमा नागरिकका लागि आवास र भोजनको मात्र नभई स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा र मनोवैज्ञानिक परामर्श लगायतका आधारभूत सेवाहरू समेत निःशुल्क उपलब्ध गराइएको छ।
आर्थिक अवस्था कमजोर भएका र आफ्नै पहलमा व्यवस्थापन गर्न असमर्थ नागरिकलाई सरकारले उपलब्ध गराउने यी सेवा र सुविधाको लाभ लिन मन्त्रालयले आग्रह गरेको छ। वास्तविक सुकुमबासी र भूमिहीनलाई प्राथमिकतामा राखेर उनीहरूको समस्या समाधान गर्न सरकार लागिपरेको प्रेस नोटमा उल्लेख छ।
नागरिकको सुरक्षित, व्यवस्थित र दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको भन्दै मन्त्रालयले कोही पनि नागरिक अलपत्र पर्नु नपर्ने बताएको छ।
