वासिङ्टन डिसी । भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्ने सैन्य अपरेसनको गोप्य सूचनाका आधारमा अनलाइन सट्टेबाजी गरेको आरोपमा एक अमेरिकी सैनिक पक्राउ परेका छन्। अमेरिकी सेनाको विशेष बलमा कार्यरत ग्यानन केन भ्यान डाइकले मादुरो पक्राउ पर्नुअघि नै क्रिप्टोमा आधारित पोलिमार्केट नामक प्लेटफर्ममा लाखौँ डलरको बाजी थापेको भन्दै अमेरिकी न्याय विभागले मुद्दा दायर गरेको हो।
मादुरो पक्राउ पर्ने निश्चित समय र परिणामबारे सैन्य टोलीमै रहेका डाइकलाई पहिल्यै जानकारी भएको र सोही सूचनाका आधारमा उनले करिब ४ लाख ९ हजार डलर मुनाफा आर्जन गरेको अनुसन्धानबाट खुलेको छ। उत्तर क्यारोलिनास्थित फोर्ट ब्रागमा कार्यरत यी सैनिकले ‘अपरेसन एब्सोल्युट रिजोल्भ’ नामक सैन्य अभियानको योजना र कार्यान्वयनमा संलग्न रहँदा प्राप्त गरेको अति गोप्य जानकारीलाई व्यक्तिगत फाइदाका लागि दुरुपयोग गरेको दाबी गरिएको छ।
पोलिमार्केटले नै आफ्नो प्लेटफर्ममा शंकास्पद कारोबार भएको पहिचान गरी न्याय विभागलाई खबर गरेपछि यो घटना बाहिर आएको हो। विभागले यसलाई स्पष्ट रूपमा ‘इन्साइडर ट्रेडिङ’ र संघीय कानुनको उल्लंघन भनेको छ। डाइकविरुद्ध सरकारी सूचनाको अवैध प्रयोग, चोरी, कमोडिटी ठगी र सम्पत्ति शुद्धीकरण लगायतका गम्भीर आरोपहरू लगाइएको छ।
