विराटनगर । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिहरूलाई आर्थिक लेनदेन र सेटिङका आधारमा उत्तीर्ण गराएको आरोपपछि छानबिनमा परेका कार्यालय प्रमुख सतिस सत्याललाई ‘क्लिन चिट’ दिइएको छ ।
उनीविरुद्ध लाइसेन्स परीक्षामा अनुत्तीर्णहरूसँग आर्थिक लेनदेन र सेटिङ गरेको उजुरी परेको थियो । उक्त उजुरीको छानबिनका लागि कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यातायात व्यवस्था महाशाखा प्रमुख उर्मिलादेवी निरौलाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको थियो ।
समितिकी संयोजक निरौलाले छानबिनका क्रममा कार्यालय प्रमुखको संलग्नताको आधार नदेखिएको बताइन् । ‘रिपोर्ट हामीले मन्त्रालयका सचिव र मन्त्रीज्यूसमक्ष बुझाइसकेका छौँ,’ उनले भनिन्, ‘उजुरीमा भनेजस्तो सेटिङ तत्काल देखिएन ।’
पाँच सदस्यीय छानबिन समितिमा मन्त्रालयका कानुनी सल्लाहकार, आईटी विज्ञ र प्रशासनका कर्मचारीहरू सहभागी थिए । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको थियो ।
कार्यालय प्रमुख सत्यालले पनि आफूले सफाइ पाएको बताए । ‘मैले कहिल्यै खराब मनसाय राखिनँ । मलाई कुनै पुरातनवादी सोच, मेडिकलमा असफल बनाई रकम असुली गर्ने समूह/गिरोह तथा मेडिकल कब्जा गरी आफू अनुकूल चलाउने खोज्ने समूहहरूले बदनाम गर्ने अभिप्रायले उजुरी दर्ता गरियो,’ उनले भने, ‘परिमाण स्वरुप मैले आज उक्त उजुरीबाट सफाई पाएको छु ।’
उनले आफ्नो लडाई नयाँ प्रविधिको भएको पनि बताए । ‘यो लडाइँ नयाँ प्रविधिको हो । पहिला पुरानो प्रविधिका आधारमा असफल बनाई रकम असुल्न बानी परेकाहरूका लागि आधुनिक प्रविधि जुन कोशी प्रदेशको कुनै पनि यातायात व्यवस्था कार्यालयले अबलम्बन गरेको छैन, त्यस प्रविधिलाई मैले कार्यान्वयनमा ल्याएँ । फलस्वरुप आज मैले धेरै दुःख पाएँ,’ उनले भने ।
तर आफू यसबाट नआत्तिएको उनले प्रस्ट पारे । आफू बिचौलिया तथा स्वार्थ समूहको ईच्छा अनुकूल कार्य गर्न असमर्थ रहेको पनि उनले बताए ।
