काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकप्रियतावाद र अराजकताको जगमा उभिएका नयाँ शक्तिहरूको भविष्य संकटमा रहेको दाबी गरेका छन् । उनले विचार र सिद्धान्तबिनाको एकता लामो समय नटिक्ने ठोकुवा गरे ।
उनले भने, ‘रवि लामिछानेलाई जेलको झोला बोकाउने बालेनको अभियान थियो, तर चुनावमा स्वार्थका लागि मिले । जहाँ विचार मिल्दैन, त्यहाँ स्वार्थको टकराब सुरु हुनासाथ विग्रह आउँछ । जुन शक्ति जति तीव्रताका साथ उदाउँछ, त्यसको पतन पनि उति नै छिटो हुन्छ । पपुलिज्मले जनताका समस्या समाधान गर्दैन, केवल भ्रम छर्छ ।’
प्रधानमन्त्रीले संसद्मा बोलेर जनतासँग संवाद नगरेकोमा आपत्ति जनाउँदै पोखरेलले प्रधानमन्त्री सुरक्षा निकायका कार्यक्रममा घण्टौँ बोल्नसक्ने तर जनताको सार्वभौम थलो संसद्मा बोल्न डराउने कुरा कस्तो लोकतन्त्र हो ? भन्दै प्रश्न गरे। पोखरेलले संसदीय मोर्चालाई पार्टीको पुनर्जागरण अभियानसँग जोडेर सरकारका अलोकतान्त्रिक र गैरकानूनी कदमको भण्डाफोर गर्न सांसदहरूलाई आह्वान गरे ।
पोखरेलले वर्तमान सरकार र नयाँ भनिएका शक्तिहरूको ‘सुशासन’ को मुकुन्डो उत्रिएको टिप्पणी समेत गरे ।
सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाएको उनले आरोप छ । सभामुखको सम्पत्ति विवरणमाथि प्रश्न उठाउँदै उनले श्रमिकबाट मालिक बन्नु अपराध नभएको तर विदेशमा कमाएको भनिएको सम्पत्ति कुन च्यानलबाट आयो ? राज्यलाई कर तिरिएको छ कि छैन ? भन्नेबारे जवाफ दिनुपर्ने बताए ।
उनले मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउन आलटाल गरेकोप्रति आपत्ति जनाए । एमालेका नेताहरू जुनसुकै अग्निपरीक्षा दिन तयार रहेको बताउँदै उनले नयाँ तयार छन् की छैनन् ? भन्दै प्रश्न गरे ।
कार्की आयोगलाई ’प्रतिशोधको हतियार’ बनाएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दुःख दिने काम भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिए ।
