वीरगञ्ज । सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ओकिल अधिकारी ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले शुक्रवार बिहान मिथिला नगरपालिका–४ लालगढबाट रंगेहात पक्राउ गरेको हो ।
अख्तियारका अनुसार, अधिकारी कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा खटिएका एक ठेकेदारलाई विभिन्न बहाना बनाएर सवारी साधन रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र काममा निरन्तर हैरानी दिने गरेका थिए ।
निर्माण कार्यमा अवरोध नगर्ने सर्तमा घुस मागेको उजुरीका आधारमा अख्तियारले निगरानी गरिरहेको थियो ।
सोही क्रममा आज बिहान ठेकेदारबाट ४० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
पक्राउ परेका प्रहरी निरीक्षक अधिकारीमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले जानकारी दिएको छ ।
