काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसदलाई राष्ट्रिय राजनीतिको वास्तविक ऐनाको रूपमा चित्रण गर्दै यसको गरिमा जोगाउन सभामुख र संसदले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षार्थ संसदको भूमिका निर्णायक हुने उल्लेख गर्दै उनले संसद विभिन्न विचारधाराहरूको संगमस्थल भएकाले यहाँ देखिने मतभेद र बहसलाई लोकतन्त्रको सुन्दर पक्षका रूपमा स्वीकार्नुपर्ने बताएका हुन् ।
सर्वदलीय बैठकमा भएका छलफलका आधारमा सबै राजनीतिक दलहरू सदनलाई सुचारु रूपले चलाउन सहमत देखिएकाले बैठक सञ्चालनमा कुनै अवरोध नहुनेमा उनी विश्वस्त देखिए । संसदले देशको राजनीतिक संस्कार र पहिचान झल्काउने भएकाले यसको संरक्षक र प्रवक्ताको रूपमा सभामुखको भूमिका अत्यन्तै संवेदनशील र ओजपूर्ण हुने उनको भनाइ छ ।
