काठमाडौँ । नेकपा एमालेले युवा पुस्ताका सांसद सुहाङ नेम्वाङलाई छोडेर पाका पुस्ताका रामबहादुर थापा बादललाई संसदीय दलको नेता बनाएसँगै  पार्टीभित्र असन्तुष्टि देखिएको छ ।

संसदीय दलको नेता चयनको विरोधमा एमाले नेता कार्यकर्ताहरूले सामाजिक सञ्जालमा नेतृत्वको आलोचनामात्र गरेका छैनन्, मसाल जुलुस नै निकालेर विरोधमा उत्रिएका छन् ।

बुधबार एमाले पार्टी कार्यालय च्यासलमा भएको निर्वाचनमा उपाध्यक्ष बादल ‘सर्वसम्मत’ संसदीय दलको नेता चयन भएका थिए । दलको नेताका लागि युवा सांसद सुहाङ नेम्वाङले आकांक्षा राखेर उम्मेदवारी फाराम भरेपनि अन्तिम समयमा उम्मेदवारी दर्ता नै गरेनन् । आफ्नो जित नहुने अवस्था देखेपछि सुहाङले उम्मेदवारी दर्ता नगरेको उनी आफैँले बताइसकेका छन् ।

थापा दलको नेता चयन भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले युवा पुस्ता र पार्टीका शुभचिन्तकहरूलाई हतोत्साहित नहुन आग्रह गर्दै यो आफ्नो पहिलो पाइला मात्र भएको र देश तथा जनताको हितमा निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
‘हामीले पार्टीभित्र रहिसकेपछि दलको नेता चयन गर्ने बेलामा लोकतान्त्रिक अभ्यासलाई अवलम्बन गर्ने प्रयास गरेका हौँ । यहाँ कुनै पनि दबाब भएको छैन’, सुहाङको भनाइ थियो ।
सुहाङले नतिजा आफूले अपेक्षा गरेअनुसार नभए पनि अर्को उम्मेदवारलाई बढी योग्य ठानेर यो परिणाम आएको हुन सक्ने तर त्यसलाई आफूले स्विकार्ने बताए । ‘आजको नतिजाले नेकपा एमालेभित्र रहेका कमजोरीहरूलाई सुधार्दै आत्मसमीक्षा र आत्मालोचना गर्ने अवसर दिएको छ । यसले भविष्यमा पार्टीलाई अझ सुदृढ बनाउनेछ’, सुहाङको भनाइ छ ।
त्यसो त बादललाई नै दलको नेता बनाउनुपर्ने पक्षमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल लगायतका नेताहरूले सांसदहरूलाई दबाब दिएको थाहा पाएर नै सुहाङले उम्मेदवारी दर्ता नगरेको बताइएको छ ।
यसको खुलासा एमाले उपमहासचिव योगेश भट्टराई र पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डे लगायतका नेताहरूले नै गरिसकेका छन् ।

नयाँ संसदमा अन्य पार्टीका सांसदहरूको बाहुल्यता रहेका बेला एमाले संसदीय दलको नेतामात्र भएपनि युवालाई बनाउनुपर्छ भन्ने आवाज उठ्दै आएको थियो । यसले थोरै भएपनि पार्टीमा रूपान्तरण र पुस्तान्तरणको सन्देश जाने विश्वास एमालेका नेता कार्यकर्ताहरूको अपेक्षा रहँदै आएको थियो ।

तर यस्तो अपेक्षाविपरीत ७० वर्ष उमेर कटेका थापा दलको नेता बनेसँगै एमालेभित्रको उक्त आवाज दबिन पुगेको छ । ३६ बर्से सुहाङको साटो ७० बर्से थापा नेता चयन गरेसँगै एमालेमा जड्किएको पुरातन प्रवृत्ति नहटेको चर्चा भइरहेको छ ।

थापा दलको नेता चयन भएपछि एमाले उपमहासचिव भट्टराईले दलको नेता छान्न अपनाइएको तरिका र शैलीले सिङ्गो पार्टीपंक्तिलाई थप चिन्तित बनाएको सार्वजनिक प्रतिक्रिया दिएका छन् । ‘केही दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरूका बिचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो यो राम्रो भएन’, भट्टराईले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् ।

भट्टराईले निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नुभएको समग्रमा आन्दोलनले बहुआयामिक प्रतिकुलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठनमार्फत बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नु पर्नेमा दबाबमा नेता चयन गरेर गल्ती गरिएको बताएका हुन् ।

त्यस्तै पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि दलको नेता चयनप्रति लक्षित गर्दै एमालेभित्र आन्तरिक लोकतन्त्र कति कमजोर र सङ्कुचित छ भन्ने स्पष्ट पारेका छन् ।

साथै उनले गत चुनावमा एमाले ९ सिटमा खुम्चिँदा पनि अझै चेत नखुलेको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन् । ‘संसदीय दलको नेता चयन प्रक्रियाले एमालेभित्र आन्तरिक लोकतन्त्र कति कमजोर र सङ्कुचित भइसकेको छ भन्ने स्पष्ट पारेको छ’,  पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा सम्भावना बोकेको युवा सांसदले प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थक समेत नपाउने वातावरण सिर्जना हुनु लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद विषय हो ।’

नेता पाण्डेले जब नेतृत्व ‘म नै पार्टी र पार्टी नै म’ भन्ने भ्रममा बाँच्छ र निर्वाचनको गम्भीर पराजयलाई पनि सामान्य ठान्छ, त्यहाँ सुधारको ढोका बन्द हुने भन्दै यस्तो दमनकारी प्रवृत्तिले संगठनलाई गतिशील होइन, अधोगतितर्फ मात्र धकेल्ने बताएका छन् ।

‘९ सिटमा खुम्चिएको आजको अवस्थामा पनि चेत खुलेन भने कहिले खुल्ने ? अब स्पष्ट छ – पुरानो ढर्रा र गुटगत घेराबन्दीले अबको एमाले चल्दैन। पार्टीलाई कसैको ’निजी क्लब’ होइन, आम कार्यकर्ता र जनताको साझा संस्था बनाउन साहसिक परिवर्तन र नयाँ मार्गचित्र अनिवार्य छ’, पाण्डेले भनेका छन् ।

पूर्वसांसद तथा लुम्बिनीका एमाले नेता वासुदेव घिमिरेले पनि नेतृत्वको यो कार्यशैलीले पार्टी नसुध्रिने बरु बिलाएर जाने टिप्पणी गरेका छन् ।

एमाले संसदीय दलको नेतामा समानुपातिक सांसद रामबहादुर थापा बादल निर्विरोध चयन भएकोतर्फ लक्षित गर्दै पूर्वसांसद समेत रहेका घिमिरेले यस्तो टिप्पणी गरेका हुन् ।

नेता घिमिरेले तिलोत्तमा नगर प्रमुख हुँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरोधमा नगरपालिका लेटरप्याडमै विज्ञप्ति निकालेर विरोध जनाएका थिए । गत २३ र २४ भदौको जेनजी आन्दोलनमा सरकारको भूमिकामाथि पनि उनले प्रश्न उठाएका थिए भने पार्टी महाधिवेशनमा ईश्वर पोखरेल पक्षमा उभिएका थिए ।

बुधबारका सामाजिक सञ्जालहरू हेर्दा सरकारविरुद्ध आन्दोलनमा उत्रिएको एमाले बादल दलको नेता चयन भएसँगै नेतृत्वका विरुद्ध आन्दोलन गरेजस्तै देखिन्थ्यो । एमालेको जनसंगठन अनेरास्ववियुका एक समूहले त बुधबार बेलुका पार्टी महासचिव शंकर पोखरेलको पुतला जलाउन पुग्यो ।

काठमाडौँको अमृत साइन्स क्याम्पस एमाले कमिटीले महासचिव पोखरेलको पुतला दहन गरेको हो । अस्कल क्याम्पसबाट विरोध जुलुससहित पार्टी केन्द्रीय कार्यालय पुगेका उनीहरूले महासचिवविरुद्ध नाराबाजी गर्दै पुतला जलाएका हुन् ।

पार्टी नेतृत्व नै लागेर संसदीय दल निर्वाचनमा सुहाङ नेम्वाङले प्रस्तावक र समर्थकसमेत पाउन नसक्ने अवस्था सिर्जना गरिएको विरोधस्वरूप महासचिवकै पुतला जलाउनुपरेको अनेरास्ववियु अस्कल क्याम्पस कमिटीका अध्यक्ष गोपालजंग शाहीले बताए ।

त्यतिमात्रै होइन, जनसंगठन र कमिटीकै जिम्मेवार अन्य नेता कार्यकर्ताहरूले पनि एमाले रूपान्तरण नभएको भन्दै विरोध गरिरहेका छन् ।

फागुन २१ गतेको निर्वाचनले राजनीतिक पुस्तान्तरण गरिसक्दा पनि नेतृत्व नसच्चिएपछि आक्रोश पोख्नुको विकल्प नरहेको उनीहरूको भनाइ छ ।

त्यस्तै अनेरास्ववियुका सचिवालय सदस्य रुद्रहरि पोखरेलले नेतृत्व र शैली नबदल्ने एमालेको रबैया सचेत युवाहरूलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

उनले चुनाव नजितेकालाई नेता मान्ने दासताले युवाको प्रतिनिधित्व गर्न नसक्ने भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘ नेतृत्व र शैली नबदल्ने एमालेको यो रबैया सचेत युवाहरूलाई स्वीकार्य छैन। चुनाव नजितेकालाई नेता मान्ने दासताले युवाको प्रतिनिधित्व गर्न सक्दैन ।’

सम्वन्धित समाचार :