बुटवल । जेनजी आन्दोलनबाट परिवर्तन भएको राजनीतिक कोर्सपछि सम्पन्न प्रतिनिधि सभा निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारको नेतृत्वमा पुर्याएको छ । यससँगै आम नागरिकले विगतमा बेथितिको सिकार बनेका कतिपय विषय अब सुध्रिने अपेक्षा गरेका छन् ।
बालेन शाहको नेतृत्वमा बनेको सरकारले शासकीय सुधारका १०० बुँदे कार्यसूची बनाएको छ । उक्त कार्यसूचीमा नपरे पनि बुटवल धागो कारखानाले बालेन सरकारकै पालामा पुनर्जीवन पाउन सक्नेमा सरोकारवालाहरू विश्वस्त देखिएका छन् ।
नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले व्यवस्थापन पक्षको कमजोरीका कारण कारखाना बन्द भएको उल्लेख गर्दै नयाँ सरकारले सञ्चालन गर्न ध्यान दिनुपर्ने बताए ।
अग्रवालले भने, ‘हामी उद्योगीहरू जग्गा नपाएर समस्यामा छौँ, तर औद्योगिक क्षेत्रभित्र धेरै क्षेत्रफल ओगटेको धागो कारखाना बन्द छ । धागो कारखाना नचलाउने हो भने त्यहाँ अन्य उद्योग स्थापना गर्ने वातावरण सरकारले तयार गर्नुपर्छ ।’
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले आधुनिक प्रविधिसहित कारखाना सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले निजीकरणभन्दा सरकार आफैँले उद्योग सञ्चालन गर्दा राष्ट्रलाई दीर्घकालीन फाइदा हुने बताए । सार्वजनिक–निजी साझेदारी मोडल पनि उपयुक्त विकल्प हुन सक्ने उनको भनाइ छ ।
नेपालगन्जको खजुरामा कपास उत्पादन गरेर बुटवलमा धागो बनाउने र हेटौँडामा कपडा उत्पादन गरी बजार पठाउने उद्देश्यले २०३९ सालमा सरकारले बुटवल धागो कारखाना सञ्चालनमा ल्याएको हो । कुनै बेला बुटवल धागो कारखाना देशकै शानका रूपमा हेरिने गरेको वाणिज्य संघका पूर्वअध्यक्ष जीवन प्रसाद ओझाले बताए ।
उनले भने, ‘बुटवलमा उत्पादन भएको धागो हेटौँडामा मात्रै होइन, भारतसम्म पुग्थ्यो । तर राजनीतिक हस्तक्षेपले व्यवस्थापन बिग्रिँदै अन्ततः उद्योग नै बन्द भयो ।’
हालै गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीको पोसाक सरकार आफैँले उत्पादन गर्ने अभिव्यक्ति दिएका छन् । उनको अभिव्यक्तिले पनि बुटवल धागो कारखाना फेरि सञ्चालन हुने हो कि भन्ने आशा जगाएको नेपाल चेम्बर अफ कमर्सका प्रदेश अध्यक्ष टंक पोखरेलको भनाइ छ ।
प्राध्यापक माधव कुमार पौडेलले बुटवल धागो कारखाना सञ्चालन हुँदा बुटवलको मात्रै नभएर मुलुककै अर्थतन्त्रमा ठुलो प्रभाव पार्ने बताए । उनले यो कारखाना सञ्चालन हुँदा युवाहरूलाई रोजगारी मिल्नेमात्र नभएर कपास उद्योग तथा त्यसका आवद्ध किसानदेखि व्यापारीसम्म लाभान्वित हुने प्रस्ट पारे ।
