नेपालको राजनीति विगत केही दशकदेखि परम्परागत दल र संरचनाबाट परे नयाँ तरंग खोजिरहेको छ । बालेन शाहको उदय अत्यन्तै उल्लेखनीय छ । उनी केवल एक पूर्वमेयर वा राजनीतिक पदका लागि दौडिएका नेता होइनन्, उनी युवा शक्ति, प्रशासनिक दक्षता र एजेन्डा केन्द्रित नेतृत्वको प्रतीक बनेका छन् ।

बालेन शाहको नेतृत्व शैली प्रारम्भिक चरणमा जनताको बिचमा पुग्ने, समस्या बुझ्ने र समाधान गर्ने दृष्टिकोणमा आधारित थियो । उनको चुनावी रणनीति पारम्परागत राजनीतिक शैलीभन्दा भिन्न थियो । उनले आफ्नो अभियानमा एजेन्डा केन्द्रित शैली अपनाए ।

सडक, ढल निकास, स्मार्ट सहर, सार्वजनिक यातायात सुधार र अन्य विकास कार्यक्रम जनतासामु प्रस्तुत गर्दै संवादमा जुटेका थिए । डिजिटल प्रविधि र सामाजिक सञ्जालको प्रयोगले उनलाई युवा वर्गसँग मात्र होइन, पाका नागरिकसँग पनि प्रत्यक्ष सम्पर्क कायम गर्न सहयोग गर्‍यो । यस शैलीले उनलाई केवल लोकप्रियता दिलाएको होइन, काठमाडौंका नागरिकहरूको विश्वास जित्न पनि महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

बालेनको प्रारम्भिक शैलीका मुख्य विशेषताहरू पारदर्शिता, नवप्रवर्तन र प्रत्यक्ष जनसहभागिता थिए । उनी जनतासँग प्रत्यक्ष संवाद गर्न र उनीहरूको समस्या बुझेर समाधान निकाल्न सधैं तत्पर देखिन्थे । यसले पारम्परिक नेपाली राजनीतिक नेतृत्वको शैलीभन्दा पूर्ण भिन्नता प्रस्तुत गर्‍यो । बालेन शाहले देखाएको यस जनता केन्द्रित शैलीले उनलाई मेयर पदमा जिताएको मात्र होइन, युवामाझ राजनीतिक आकांक्षाको प्रतीक पनि बनाएको छ ।तर मेयर बनेपछि बालेनको शैलीमा स्पष्ट परिवर्तन देखियो । उनी अब केवल एजेन्डाकेन्द्रित नेता नभएर राजनीतिक व्यक्तित्वका रूपमा देखा परे । सार्वजनिक कार्यक्रम, निर्णय प्रक्रिया र राजनीतिक गतिविधिहरूमा उनले अब अधिक व्यापक रणनीति अपनाउन थालेका छन् । प्रारम्भिक चरणमा देखिएको नजिकको सम्बन्ध र प्रत्यक्ष संवाद केही कम भएको महसुस गर्न सकिन्छ । यस परिवर्तनले उनका प्रारम्भिक आदर्श र जनता केन्द्रित शैलीमाथि प्रश्न उठाउन थालेको छ ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता बन्दै भावी प्रधानमन्त्रीको एजेन्डा लिएर देश दौडाह गरे । प्रधानमन्त्री पदको आकांक्षासहित अघि बढिरहेका बालेनले जहाँ–जहाँ देश दौडाह गरे, उनलाई हेर्नकै लागि भए पनि मानिसहरूको भिड देखियो । तर त्यस अवधिमा उनको शैली प्रारम्भिक एजेन्डा केन्द्रित अभियानभन्दा फरक देखिन पुग्यो । जहाँ उनले पार्टीका उम्मेदवारहरूलाई भेटघाट गरे, तर जनतासँगको प्रत्यक्ष संवाद गर्ने आँट गर्न सकेनन् । केवल जनतासँग प्रत्यक्ष संवादमा नभएर व्यापक प्रचार, रणनीति र राजनीतिक समीकरणमा ध्यान दिए । यसले देखाउँछ कि बालेनको राजनीतिक आकांक्षा र व्यक्तिगत महत्त्वाकांक्षा बाधक बनिरहेका छन् ।

समलोचनात्मक दृष्टिले हेर्दा पछिल्लो समय उनी एउटा प्रवृत्तिको प्रतिनिधि पात्र बन्न पुगेका छन् । परम्परागत राजनीतिक संस्कार, भाषाशैली र शक्ति प्रयोगको ढाँचालाई अस्वीकार गर्दै उदाएका बालेनले ‘नेतृत्व’ को अर्थलाई पुनर्परिभाषित गरेका छन् । उनीसँग जोडिएको शैली आक्रामक, प्रत्यक्ष, भावनात्मक, कहिलेकाहीँ असहज तर प्रभावकारी शैली आज ‘बालेन शैली’ का रूपमा चिनिन थालेको छ । तर प्रश्न उठेको छ, यो शैली व्यक्तिगत स्वभावको उपज हो कि सामाजिक राजनीतिक प्रवृत्तिको ? यो प्रवृत्ति लोकतन्त्रका लागि दीर्घकालीन रूपमा उपयोगी छ कि जोखिमपूर्ण भन्ने महत्त्वपूर्ण प्रश्न उठेको छ ।

बालेन शाहको उदय कुनै आकस्मिक घटना होइन । यो नेपालको सहरी मध्यवर्गीय निराशा, दलगत राजनीतिप्रतिको वितृष्णा र काम गरेर देखाउने नेतृत्वप्रतिको चाहनाको परिणामको उपज होभन्दा फरक नपर्ला । वर्षौंदेखि राजनीतिक दलहरूले दोहोर्‍याउँदै आएको भाषण, प्रतिबद्धता र असफल कार्यान्वयनले जनतामा गहिरो अविश्वास जन्माएको थियो । यही शून्यतामा बालेन शाहजस्ता पात्र प्रवेश गरे, जो न दलको झण्डा बोकेर आए, न परम्परागत राजनीतिक संस्कारको भार बोकेर ।

उनको शैलीको पहिलो र सबैभन्दा स्पष्ट विशेषता प्रत्यक्षता हो । बालेन शाह घुमाउरो भाषा प्रयोग गर्दैनन् । सामाजिक सञ्जालमा लेखिएका उनका स्टाटसहरू छोटा, तीखा र आदेशात्मक हुन्छन् । ‘भत्काइन्छ’, ‘कारबाही हुन्छ’, ‘अब सह्य छैन’जस्ता शब्दहरूले उनको भाषालाई परिभाषित गर्छ । यो शैली समर्थकका लागि साहसिक र इमानदार लाग्छ भने आलोचकका लागि भने अधिनायकवादी र असंवेदनशील लाग्छ । तर यथार्थ के हो भने यही प्रत्यक्षताले उनलाई जनतासँग तत्काल जोड्न सफल बनाएको छ ।

बालेन शाह शैलीको दोस्रो महत्त्वपूर्ण प्रवृत्ति हो, संस्थाभन्दा व्यक्तिकेन्द्रित नेतृत्व । परम्परागत रूपमा स्थानीय सरकारहरू संस्थागत प्रक्रिया, समिति र निर्णय प्रणालीमा आधारित हुन्छन् । तर बालेनको कार्यशैलीमा ‘मेयर स्वयं’ केन्द्रमा देखिन्छन् । निर्णयहरू छिटो हुन्छन्, निर्देशनहरू सीधै आउँछन् र कार्यान्वयन पनि तुरुन्त सुरु हुन्छ । सडक अतिक्रमण हटाउनेदेखि नक्सा पाससम्मका विषयमा उनको व्यक्तिगत हस्तक्षेप स्पष्ट देखिन्छ । यसले कार्यक्षमता बढाएजस्तो देखिए पनि संस्थागत सन्तुलन र दीर्घकालीन प्रणाली निर्माणको दृष्टिले प्रश्न उठाउँछ ।

तर यही विद्रोही शैली कहिलेकाहीँ समस्याग्रस्त पनि बन्छ । आलोचनालाई सहजै अस्वीकार गर्ने, असहमतिलाई ’विकास विरोधी’ को संज्ञा दिने प्रवृत्ति लोकतान्त्रिक अभ्यासका लागि चुनौतीपूर्ण हुन्छ । उदाहरणका लागि, सडक व्यापारी, सुकुम्बासी वा सांस्कृतिक सम्पदासँग जोडिएका मुद्दामा संवादभन्दा आदेश बढी देखिएको आरोप लाग्दै आएको छ । बालेन शाह शैलीमा संवादको स्थान सीमित देखिन्छ, जुन दीर्घकालीन सामाजिक सहमतिका लागि कमजोर पक्ष हो ।

बालेन शाहको नेतृत्वलाई बुझ्न सामाजिक सञ्जालको भूमिकालाई बेवास्ता गर्न सकिँदैन । उनी सामाजिक सञ्जाललाई केवल सूचना प्रवाहको माध्यम होइन, राजनीतिक हतियारका रूपमा प्रयोग गर्छन् । फेसबुक स्टाटस, प्रत्यक्ष प्रसारण र छोटा भिडियोमार्फत उनले आफ्ना निर्णयहरू सार्वजनिक गर्छन् र समर्थन निर्माण गर्छन् । यसले पारदर्शिता बढाएको त छ, तर भिडको न्यायलाई पनि प्रोत्साहन गरेको छ । जटिल नीतिगत विषयहरू भावनात्मक प्रतिक्रियामा सीमित हुने खतरा यही छ ।

बालेन शाह प्रवृत्तिको उदयले नेपालको राजनीतिक संस्कृतिमा एउटा महत्त्वपूर्ण प्रश्न खडा गरेको छ । के हामी अब दलभन्दा व्यक्ति खोजिरहेका छौँ ? यो प्रवृत्ति केवल काठमाडौंमा सीमित छैन, निर्वाचनका लागि अहिले देशभर स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण बढ्दो छ । यसको अर्थ जनता प्रणालीभन्दा पनि सशक्त पात्रमा विश्वास गर्न थालेका छन् । यसले लोकतन्त्रका लागि दोधारे संकेत गरेको छ । एकातिर पुराना दलहरूका लागि चेतावनी र अर्कोतिर व्यक्तिवादी शासनको सम्भावित खतरालाई उजागर गरेको छ ।

दीर्घकालीन रूपमा हेर्दा, प्रश्न शैलीको होइन, संस्थागत रूपान्तरणको हो । बालेन शैलीले सुरु गरेको ऊर्जा यदि संस्थागत सुधार, स्पष्ट नीति र सहभागितामूलक प्रक्रियामा रूपान्तरण हुन सकेन भने यो प्रवृत्ति क्षणिक लोकप्रियतामा सीमित हुन सक्छ ।

अन्ततः बालेन शाह शैली कि प्रवृत्ति भन्ने बहस वास्तवमा नेपालको राजनीतिक संक्रमणको उपज हो । यो आक्रोश, आशा, विद्रोह र खोजको मिश्रण हो । बालेन शाह स्वयं यस कथाका नायक हुन् वा केवल एउटा चरणका, यो इतिहासले तय गर्नेछ । तर उनले उठाएको प्रश्न – राजनीति कस्तो हुनुपर्छ ? – यसको उत्तर खोज्ने जिम्मेवारी अब समाज, दल र नागरिक सबैको हो ।

प्रारम्भिक चरणमा लोकप्रियता हासिल गर्नु सजिलो छ, तर त्यसलाई दीर्घकालीन रूपमा कायम राख्न कठिनाइ हुन्छ । बालेन शाहको वर्तमान प्रवृत्ति यही चुनौतीको प्रत्यक्ष उदाहरण हो । यदि उनले आफ्नो प्रारम्भिक एजेन्डा, पारदर्शिता र जनसहभागिता कायम राख्न सके भने उनी दीर्घकालीन नेतृत्व र युवा प्रेरणाको प्रतीक बन्न सक्छन् । तर सकेनन् भने राजनीतिमा बालेन शैलीभन्दा पनि एक प्रवृत्तिको रूपमा मात्र रहनेछ ।

सम्वन्धित समाचार :