काठमाडौँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डे एक साता चितवन बसाइपछि सोमबार काठमाडौँ फर्केका छन् । यो निर्वाचनमा पाण्डे उम्मेदवार त छैनन् तरपनि विगतमा आफू निर्वाचन लडेको क्षेत्रको अवस्था बुझ्न पाण्डे चितवन झरेका थिए । पाण्डेलाई पार्टीले चुनावी गतिविधिका लागि चितवन वा कुनै क्षेत्रमा खटाएको वा तोकेको भने छैन ।

उनी आफ्नै ढङ्गले चितवन झरेर त्यहाँको अवस्था बुझेर फर्केको बताउँछन् । ‘मलाई पार्टीले चुनावी गतिविधिका लागि कुनै क्षेत्र वा जिल्लामा जानुपर्छ भनेको छैन, म आफैँ आफ्नो जिल्लाको चुनावी गतिविधिबारे जानकारी लिन चितवन गएको हुँ’, पाण्डेले भने ।  एक साताको चितवन बसाइमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र पुगेर एमाले नेता कार्यकर्तासँग अनौपचारिक भेटवार्ता र संवाद गरेको उनले रातोपाटीलाई बताए ।

पाण्डे फागुन ४ पछि पनि आफ्नै ढङ्गले चितवन झर्ने र उम्मेदवार र मतदातासँग साक्षात्कार गर्ने सोचमा रहेको बताउँछन् । ‘आफैले बनाएको पार्टी हो । त्यसैले उम्मेदवारी दिने दिनपनि म चितवन मै थिएँ’, पाण्डेले भने, ‘पार्टीले कुनै निर्देशन नदिएपनि उम्मेदवारहरूले चाहिँ आउनुपर्छ भनिरहेका छन् ।’

पूर्वअर्थमन्त्री समेत रहेका पाण्डे एमालेको गत पुस पहिलो साता सम्पन्न ११ औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट महासचिवमा प्रतिस्पर्धा गरेका नेता हुन् ।

देश चुनावमय भएका बेला एमालेका उम्मेदवारहरू नेता कार्यकर्तासहित मत माग्न व्यस्त छन् । तर पार्टीमा जिम्मेवारी नभएका तर लामो अनुभव र संगठन विस्तारमा भूमिका निर्वाह गरेका पाण्डेजस्तै केही नेताहरू भने यतिबेला बेरोजगारजस्तै बनेका छन् । नेता युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र गोकुल बाँस्कोटा लगायतका नेताहरू पार्टीले कुनै निर्देशन या जिम्मेवारी दिएर चुनावी अभियानमा खटाइदिए हुन्थ्यो भन्ने पक्षमा छन् ।

यद्यपि पाण्डे पार्टीले कुनै निर्देशन नदिएपनि आफैले सिर्जना गरेको पार्टी भएकाले आफूले सक्ने सहयोग पार्टीलाई गर्ने बताउँछन् । ‘पार्टीले भनेदेखि राम्रै हुन्थ्यो, तर हामी आफै राजनीतिक पार्टी बनाउँदै हिँडेका हौँ । गर्दै जाँदा पार्टी पनि ठुलो बन्यो’, पाण्डेले भने, ‘पार्टीले नभनेपनि आफ्नो ठाउँबाट गर्ने काम गरिरहेको छु ।’

अर्का नेता युवराज ज्ञवाली अहिलेसम्म आफू चुनावी गतिविधिमा खासै नहिँडेको बताउँछन् । ‘अहिलेसम्म पार्टीबाट स्पेसिफिक कुनै निर्देशन छैन, आ-आफ्नो ठाउँमा खट्नु मात्र भनिएको छ । तोकेर फलानो स्थान वा काम भनिएको छैन । त्यसैले खासै हिँडिएको पनि छैन’, ज्ञवालीले भने, ‘अव केन्द्रीय कार्यालयले कतै पठाउला, जिल्ला र उम्मेदवारहरूले बोलाउलान् त्यसपछि गइन्छ होला ।’ ज्ञवालीले खुला प्रचारप्रसार सुरु भएपछि पार्टीले निर्देशन देला भन्ने अपेक्षा गरेको बताए ।

‘जिम्मेवारी नभई त्यसै दौडने कुरा पनि त भएन !’ज्ञवालीको भनाइ छ । उनले पार्टीले केही योजना बनाएर पुराना नेताहरूलाई जिल्ला वा क्षेत्रमा भनेको भए आफूहरूलाई पनि काम गर्न सहज हुने बताए । ‘त्यस्तो योजना बनाएको भए राम्रै हुन्थ्यो तर खै अव हेरौँ’,ज्ञवालीको भनाइ छ ।

अर्का पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि ज्ञवालीकै जस्तो अनुभव सुनाउँछिन् । ‘तपाईँहरू यसरी लाग्नुस् पनि भनिएको छैन, के गर्दै हुनुहुन्छ पनि भनेर सोधिएको छैन’, शाक्यले भनिन्, ‘बरु म आफै पहिला चुनाव लडेको क्षेत्र काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–८ का साथीभाइले बोलाउँदा कहिलेकाहीँ जाने गरेकी छु । सकेको गर्ने हो, हामीजस्तो मान्छेले पार्टीकै निर्देशन खोजेर बस्न पनि मनले मान्दैन ।’ उनले पार्टीमा जिम्मेवारी नभएपनि पार्टी सदस्य भएको नाताले चुपचाप बस्न नसकिने बताइन् ।

‘जिम्मेवारी नभएपनि चुपचाप बस्न नसकिने रहेछ’, शाक्यको भनाइ छ । अनुभवी र पुराना मान्छेहरूलाई परिचालन गर्दा पार्टीलाई सहयोग नै पुग्ने शाक्यको बुझाइ छ । ‘अध्यक्ष महासचिव आफै चुनावी मैदानमा हुनुहुन्छ । त्यही भएर पनि होला’, शाक्यको भनाइ छ । पार्टीले नभनेपनि आफूलाई नागार्जुन, टोखा, कीर्तिपुर लगायतका क्षेत्रका स्थानीय नेता कार्यकर्ताले चुनावी गतिविधिमा आइदिन आग्रह गरेको बताइन् ।

ज्ञवाली र शाक्यले यसअघि नै पार्टीको कार्यकारी पद र संसदीय चुनावमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेपनि पार्टी सदस्यका रूपमा काम गर्ने बताएका थिए । त्यस्तै सक्रिय राजनीति गर्दै आएका पूर्व सांसद तथा नेता गोकुल बाँस्कोटा पनि अन्य नेताजस्तै पार्टीले चुनावका लागि कतै जान नजान केही नभनेको बताउँछन् ।

‘काभ्रेमा उम्मेदवारी दर्ता गर्ने दिन गएको थिएँ, त्यसपछि मकवानपुरको उम्मेदवारले बोलाएर गएँ’, बाँस्कोटाले भने,‘अब फागुन ४ गतेपछि कतैकतै जानुपर्ला भनेको छु ।’ चुनावका सन्दर्भमा पार्टीले कुनै जिम्मेवारी दिएको नदिएकोबारे भने बाँस्कोटा खासै बोल्न चाहेनन् । बाँस्कोटा अघिल्लो निर्वाचनमा गृहजिल्ला काभ्रे २ बाट निर्वाचित भएका थिए । तर यसपटक उनले निर्वाचन लड्दै आएको सो क्षेत्रमा एमालेले धुलिखेल नगरपालिकाको मेयर रहेका अशोककुमार ब्याञ्जुलाई टिकट दियो । ब्याञ्जु मेयर छोडेर बाँस्कोटाले जितेको क्षेत्रमा निर्वाचन लडेपछि काभ्रे २ को चुनावी नतिजा के होला भन्नेबारे एमालेभित्रमात्रै नभएर बाहिर समेत चासो बढेको छ ।

  • प्रतिस्पर्धीलाई बेवास्ता ?

भदौ २३ र २४ पछि नेकपा एमालेमा पनि नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको आवाज उठेको थियो । सोही अनुसार पुसमा भएको ११औँ महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेलले अलगअलग प्यानल बनाएर महाधिवेशनमा प्रतिस्पर्धा गरेका थिए । तर, पोखरेलको प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईमात्र निर्वाचित बन्दा बाँकी सबै पदाधिकारी ओली पक्षबाट निर्वाचित भएका थिए ।

त्यसो त महाधिवेशनमा विपक्षी समूहबाट प्रतिस्पर्धा गरेका नेताहरुमध्ये अत्यन्त कम नेतालाई मात्रै यो निर्वाचनमा ओलीले टिकट वितरण गरेका थिए । उपमहासचिव भट्टराईलाई त अध्यक्ष ओलीले यो चुनावमा टिकट नदिने बैठकमै घोषणा गरेका थिए । तैपनि भट्टराई राजनीतिक नैतिकता निर्वाह गर्दै गृह जिल्ला ताप्लेजुङमा पार्टीका उम्मेदवार क्षितिज थेबेको पक्षमा चुनावी माहौल बनाउन जिल्लामा गएको बताउँछन् ।

सम्वन्धित समाचार :