काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका बारेमा र पार्टीका सचिव महेश बस्नेतले मधेसको भाषा नबुझी अल्पज्ञानका आधारमा दिएको अभिव्यक्तिले मधेसी समुदायको भावनामा चोट पुगेको छ ।
चुनावकै मुखमा एमाले अध्यक्ष ओली र उनकै विश्वासपात्र बस्नेतले दिएका अभिव्यक्ति सुनियोजित हुन् वा संयोगमात्र ? यसबारे मधेसमा चर्चा भइरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले केही दिनअघि जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै मैथिली भाषामा भनेका थिए, ‘आइ एगो मधेसी छौरा प्रधानमन्त्री बनेवाला हैं, तइ लेल घण्टी मे भोट नइ दइ के हइ, सही लोग आबै हइ, तइ लेल मत दइ के हइ ।’
ओली र बस्नेतका पछिल्ला अभिव्यक्तिले मधेसमा एमालेको मत कति प्रभावित हुन्छ भन्नेबारे समेत चर्चा हुन थालेको छ ।
जनकपुरमा रहेका राजनीतिक विश्लेषक ई.सत्यनारायण साहले एमाले नेताहरूको अभिव्यक्तिले मधेसी जनताको भावनामा चोट पुगेको बताए । ‘मधेसमा त्यतिकै पनि बालेनको इन्ट्रीले एमालेप्रति त्यहाँका जनता सकारात्मक थिएनन्,’ उनले भने, ‘यही बिचमा एमालेका नेताहरूले यस्ता खालका अभिव्यक्ति दिन थालेपछि मतदातालाई ठेस पुगेको छ ।’
जुन पार्टीका अध्यक्षले नै मतदाताको अपमान हुने गरी अभिव्यक्ति दिन्छन् भने त्यो मतदाताले कसरी त्यस्ता पार्टीलाई मतदान गर्छन् भन्ने प्रश्न स्वाभाविक रूपमा उब्जिने साहको भनाइ छ ।
जनकपुरमा आइतबार बसेको एमाले मधेस प्रदेश समितिको बैठकमा मधेस प्रदेशका सबै उम्मेदवारको उपस्थिति थियो । उक्त बैठकमा समेत यो विषयमा कुरा उठेको थियो ।
एमालेका उम्मेदवारहरूले समेत पार्टीका प्रभावशाली नेताहरूको अभिव्यक्तिले गर्दा क्षेत्रमा गाह्रो भइरहेको धारणा राखेका थिए । एमाले मधेस प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलले भाषाको कारणले त्यस्तो त्रुटि भएको जिकिर गर्दै यसलाई त्यही अनुसार जनतालाई बुझाउन भनिएको बताए ।
उनले भने, ‘हाम्रो पार्टीका नेताहरूले जुन अभिव्यक्ति दिनुभएको छ, त्यो भाषागत त्रुटि हो । सबै भाषाको बारेमा सबैलाई जानकारी हुँदैन, भाषाको ज्ञान नभएका कारण त्यस्तो अभिव्यक्ति आएको हो । कसैलाई होच्याउने वा अपमान गर्ने नियतले होइन ।’
आफूहरूले जनतालाई यसको बारेमा जानकारी गराइरहेको प्रदेश अध्यक्ष मण्डलले बताए । भाषाको त्रुटिका कारण यो अभिव्यक्ति आएको भनेर मतदाताले बुझेका कारण पार्टीलाई कुनै असर नगर्ने उनको दाबी छ ।
यसअघि मधेस आन्दोलनका क्रममा एमालेका नेताहरूले दिएका अभिव्यक्तिका कारण मधेसमा एमालेलाई निकै गाह्रो भएको थियो । तिनै अभिव्यक्तिका कारण एमाले नेताहरूलाई मधेसमा निषेध नै गरिएको थियो । परिणाम स्वरुप २०७४ को निर्वाचनमा मधेसमा एमालेको मत कम आएको थियो । २०७४ को चुनावपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बने । त्यसपछि उनले मधेससँगको सम्बन्ध सुधार गरेका थिए । परिणामस्वरुप २०७९ को निर्वाचनमा एमालेले मधेसमा राम्रो मत पाएको थियो ।
अहिले पनि एमाले नेताहरूको अभिव्यक्तिले मधेसमा एमालेको मत बिग्रिने सम्भावना बढ्दै गएको छ ।


