बरियारपट्टी।सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित छोटी भन्सार कार्यालय बरियारपट्टी बन्द गरिने चर्चा चलिरहेका बेला स्थानीयवासी, जनप्रतिनिधि तथा सरोकारवालाहरूले भन्सार कार्यालय यथावत् राखी स्तरोन्नति गर्नुपर्ने मागसहित मंगलबार जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थियो।
आज लहानमा केन्द्रीय अर्थमन्त्री आउने जानकारी पाउँदा बजार समिति ,स्थानीय र सचेत युवाहरूले ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बजार समिति अम्बे यादवले जानकारी दिए । विभिन्न पत्र–पत्रिकामा देशभरका छोटी भन्सार कार्यालय बन्द गरिने समाचार प्रकाशित भएपछि बरियारपट्टी क्षेत्रका बासिन्दाहरू चिन्तित बनेका थिए।
स्थानीयका अनुसार बरियारपट्टी छोटी भन्सार कार्यालय बरियारपट्टी बजारको मध्य भागमा अवस्थित रहेको छ र यसबाट सिरहा जिल्लासहित आसपासका लाखौँ जनसंख्या प्रत्यक्ष लाभान्वित हुँदै आएका छन्। यस भन्सारबाट बरियारपट्टी गाउँपालिका, औरही, अर्नामा, नवराजपुर, लक्ष्मीपुर पतारी, सुखिपुर, धनगढीमाई, गोलबजार तथा लहान नगरपालिकाका केही वडाका नागरिक तथा साना–ठूला व्यापारीहरूले घरायसी र व्यावसायिक सामग्री आयात–निर्यात गर्दै आएका छन्।
भौगोलिक रूपमा नेपालतर्फको बरियारपट्टी बजार र भारततर्फको लदनियाँ बजार सिधै जोडिएको हुँदा यस भन्सारको आर्थिक तथा व्यापारिक महत्व उच्च रहेको स्थानीयको भनाइ छ। हाल टाउकोमा सामान बोकी हुने कारोबारबाट मात्र यस भन्सारले मासिक ७ लाखदेखि १२ लाख रुपैयाँसम्म राजस्व संकलन गर्दै आएको बताइएको छ।
स्थानीयवासीहरूले यदि यस भन्सार कार्यालयलाई स्तरोन्नति गरी चारपांग्रे तथा ठूला सवारीसाधन आवागमनको व्यवस्था मिलाइएमा यो भन्सार सिरहा जिल्लाकै प्रमुख र उत्कृष्ट भन्सार बन्न सक्ने सम्भावना रहेको बताएका छन्।
ज्ञापनपत्रमा छोटी भन्सार कार्यालय बरियारपट्टी बन्द नगरी यथावत् सञ्चालन गर्न र आवश्यक पूर्वाधारसहित स्तरोन्नति गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग गरिएको छ।

सम्वन्धित समाचार :