जेनजी भन्ने शब्दावली र यसको प्रभाव सुरुमा हामीजस्ता प्राज्ञिक व्यक्तिहरूले खासै ख्याल गरेका थिएनौँ । ट्युनिसिया, कायरो, इन्डोनेसिया र फिलिपिन्सजस्ता देशहरूमा भएका घटनाहरूपछि मात्र यो शब्दावली र आन्दोलनको चर्चा चुलियो । कतिपय ठाउँमा यसले सत्ता परिवर्तन नै गरायो । पछिल्लो समय नेपाल हुँदै भारतको बिहार र मोरक्कोसम्म पुग्दा यसले अन्तर्राष्ट्रिय चर्चा पायो ।

नेपालमा देखिएको यो लहर कुनै संगठित आन्दोलन नभई जनतामा व्याप्त चरम नैराश्य र आक्रोशको विस्फोट हो । करिब एक वर्ष अघि एक जना मन्त्रीले हामी केही साथीहरूलाई भेट्न बोलाउनु भयो । उनलाई मैले भनेको थिएँ– तपाईंहरूको सत्ताविरुद्ध आम मानिसमा रहेको नैराश्य आक्रोशमा बदलिँदै छ, जुन भोलि विस्फोट हुन सक्छ । त्यो विस्फोट भयो भने कसैको नियन्त्रणमा रहँदैन र त्यो अराजक बन्न सक्छ । यस्ता आन्दोलनहरू कतिपय अवस्थामा ‘कन्स्ट्रक्टिभ एनार्किजम’ हुन्छन् भने कतिपय अवस्थामा ‘डिकन्स्ट्रक्टिभ एनार्किजम’ हुन्छन् । ‘डिकन्स्ट्रक्टिभ एनार्किजम’ भयो भने त्यो लोकतन्त्रका लागि विनाशकारी पनि हुन सक्छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली यस मामिलामा निकै आत्मविश्वासी छन् भने । उनले कुनै पनि आन्दोलन भयो भने हामी त्यसलाई ट्याकल गर्न सक्छौँ भनी ओलीले भनेको कुरा हामीलाई सुनाए । तर, त्यसको झण्डै एक वर्षमै जेनजीको आन्दोलन भयो र त्यसैले ओलीलाई सत्ताच्युत गरिदियो ।

उनका अभिव्यक्ति र हाउ–भाउ हेर्दा लाग्छ– उनी न त यो परिवर्तन स्विकार्ने पक्षमा छन् न अहिलेको वस्तुगत यथार्थलाई आत्मसाथ गर्ने मनोविज्ञानमा छन् ।

ओलीमा आत्मविश्वास भरिएको छ भन्नेमा कुनै शङ्का भएन तर उनलाई हेर्दा लाग्छ– उनले छुट्टै आफ्नो आभासी संसार बनाएका छन् । उनी कार्यकर्ता वा सल्लाहकारहरूले गरेको ब्रिफिङलाई नै सत्य मान्छन् । त्यसैले सत्ताच्युत भएर पनि उनी अहिलेको परिवर्तनलाई सामान्य परिघटना वा षड्यन्त्र मात्र ठान्छन् । यसले उनी भित्र ‘सेल्फ सेन्टर्ड क्यारेक्टर’ झन् भन्दा झन् बलियो गरि विकास भइरहेको हो कि भन्ने देखिन्छ ।

ओलीसँग बोल्ने र सञ्चार गर्ने क्षमता त छ, तर उनी व्यावहारिक राजनीति र समयको पदचाप बुझ्न चाहँदैनन् । यहाँ बीपी कोइरालाको सन्दर्भ निकै सान्दर्भिक हुन आउँछ । उनी भन्छन्, ‘नेता त्यो हो, जो वास्तविकताको धरातलमा उभिन सक्छ ।’ तर, ओली त्यो भन्दा परे भए जस्तो देखिन्छ । त्यसैले त होला, उनले आफ्नै पार्टीको महाधिवेशनको सन्दर्भमा पनि मैले बोल्छु महाधिवेशन सकिन्छ भने । जबकि महाधिवेशन नै पार्टीको सर्वोच्च निकाय हुने गर्छ ।
उनका अभिव्यक्ति र हाउ–भाउ हेर्दा लाग्छ– उनी न त यो परिवर्तन स्विकार्ने पक्षमा छन् न अहिलेको वस्तुगत यथार्थलाई आत्मसाथ गर्ने मनोविज्ञानमा छन् । तर, उनको आभासी दुनियाँ भन्दा बाहिर मिडिया, सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा भने उनको बारम्बार आलोचना भइरहेको छ ।

मिडियाहरू उनको पालामा भएका भ्रष्टाचारका अनेकौँ काण्डबारे आलोचना गरेको गर्‍यै छन् । तर, उनले त्यसैलाई जायज ठहराउन खोजेका छन् । यो नै आत्मकेन्द्रित सोचको उपज हो ।

नेपालमा भएको जेनजी आन्दोलनमा उत्तर–दक्षिण वा आकाशे मित्रको चासो हुन सक्छ तर यो मूलतः यहीँका जनताको स्वतःस्फूर्त आक्रोश हो । कुनै पनि देशमा हुने आन्दोलनलाई त्यहाँको भूगोलले पनि फरक पार्ने रहेछ । भारत, अमेरिकामा यस्ता कयौँ आन्दोलन भई रहेका छन्, तर त्यसले त्यहाँको केन्द्रीय संरचनालाई थोरै मात्र प्रभाव पारिरहेको हुन्छ । तर नेपालको भूगोलमा यहाँको कुनै पनि क्षेत्रमा आन्दोलन भयो भने त्यसले सिङ्गो देशलाई नै प्रभावित पारिदिन्छ ।

गर्न पनि उनीहरुले नाजायज नै गरेका थिए । संसदीय व्यवस्थामा दुई ठुला दल मिलेर सरकार बनाएको अवस्था रह्यो यहाँ । यसले नेतृत्वप्रति नै ठुलो वितृष्णा जगाई दिएको छ ।

यसको सबै भन्दा राम्रो उदाहरण ०३६ सालको आन्दोलन हो । आन्तरिक राजनीतिबाट आक्रोशित युवाहरूको जमातले पाकिस्तानमा जुल्फिकर अली भुट्टोलाई फाँसी दिएको विषयमा प्रदर्शन गर्ने भए । तर प्रदर्शनमा प्रहरीले अनावश्यक दमन गरेपछि आन्दोलन देशैभर फैलियो । कतिसम्म भने राज्य जनमत सङ्ग्रहको घोषणा गर्न बाध्य भयो । जेनजी आन्दोलनका हकमा पनि यो कुरा त्यति नै सान्दर्भिक हुन आउँछ ।

त्यसैले हामीले इतिहासबाट सिक्नु पर्ने हुन्छ । झन् देशको मूल नेतृत्वले त त्यसलाई नजरअन्दाज गर्नै मिल्दैन । तर, ओलीले वर्तमान समय, परिस्थिति र इतिहासको शिक्षालाई नै नकारी रहेका छन् । तर, परिस्थिति कस्तो छ भने ठुला भनिएका दलहरू, उनीहरूबिचको समीकरणलाई लिएर जनतामा ठुलो आक्रोश व्याप्त छ ।

गर्न पनि उनीहरुले नाजायज नै गरेका थिए । संसदीय व्यवस्थामा दुई ठुला दल मिलेर सरकार बनाएको अवस्था रह्यो यहाँ । यसले नेतृत्वप्रति नै ठुलो वितृष्णा जगाई दिएको छ । र, ओलीले अहिले पनि त्यसैलाई बढवा दिइरहेका छन् । सत्ता र शक्तिको भोक उनमा अझै मरेको देखिँदैन । एकातर्फ युवाहरूको आन्दोलनले उनीहरूलाई म्याद सकिएको औषधि जस्तो बनाई दिएको छ तर उनी भने अझै सत्ता र शक्तिको शिखरमा बसिराख्न चाहन्छन् ।

स्वाभाविक रूपमा उनको चाहनाले नयाँ पुस्तालाई राजनीतिमा आउन अवरोध गरिरहेको छ । किनभने उनले आफूलाई आवश्यक पर्ने सपोर्ट सिस्टम त्यस्तै व्यक्तिहरूबाट निर्माण गर्छन्, जो उनकै उमेर समूहको वरपर छन् ।

यसका साथै ओली कूटनीतिक रूपमा पनि त्यति सक्षम देखिएनन् । कूटनीतिक रूपमा उनी चीनमा भएको जापान विरुद्धको ‘भिक्ट्री परेड’ मा सहभागी हुनु हुँदैनथ्यो । यसका साथै उनले भारतसँगको सम्बन्धलाई थप चिस्याउँदै ‘सिंहमेव जयते’ जस्ता अनावश्यक टिप्पणी गरे । सरकार प्रमुखले कूटनीतिक क्षेत्रमा यो स्तरको अपरिपक्वता देखाउनु राम्रो थिएन ।

यदि ओलीले समयको पदचाप बुझ्न सकेनन् भने समयले उनलाई किनारा लगाइदिनेछ ।

विभिन्न प्रतिकुलताबिच हाम्रो लोकतन्त्रले फेरि पनि खुट्टा टेकेको छ । काला बादलहरू पूर्ण रूपमा नछाटिए पनि अब त्यसबाट डराउनु पर्ने अवस्था भने छैन । लोकतन्त्रको विकल्प अरु कुनै पनि व्यवस्था हुन सक्दैन भनेर स्वयं जेनजीका अगुवा र आन्दोलनले बोलेकै छ । त्यसैले अहिलेको परिस्थितिमा सैन्य ‘कु’ को कुनै सम्भावना छैन । सेनाले बाह्य शक्ति र भू–राजनीतिक अवस्था बुझेको छ, त्यसैले उनीहरू सत्ता हातमा लिने पक्षमा छैनन् ।

जेनजीको आन्दोलनले के देखायो भने नेपालमा अब राजतन्त्र फर्कने वा सैनिक शासन आउने सम्भावना छैन । तर लोकतन्त्रभित्रै नेतृत्व परिवर्तनको माग भने प्रबल छ । जनताले अहिलेको संविधान वा व्यवस्था फाल्न खोजेका होइनन्, बरु दलहरूको कार्यशैली र नेतृत्व सुधार्न खोजेका हुन् ।

यदि ओलीले समयको पदचाप बुझ्न सकेनन् भने समयले उनलाई किनारा लगाइदिनेछ । जेनजीको आन्दोलन प्रतिगमनतिर नभई अग्रगमन, विकास, समावेशिता र सुशासनको पक्षमा छ । त्यसैले, अहिले देखिएका पुराना दलहरूको तत्काल विकल्प नभए पनि उनीहरू सुध्रिएनन् भने जनताले अर्को बाटो खोज्ने निश्चित छ ।

सम्वन्धित समाचार :