काठमाडौँ ।  आज मैले मेरा प्रिय साथीहरूसँग विशेषगरी ‘जेनजी’ पुस्ताका युवा अगुवाहरूसँग विमर्श गर्ने अवसर पाएको छु ।

ज्ञानको कुनै सीमा हुँदैन, म पनि निरन्तर सिक्दै छु । न्युटनको प्रसिद्ध भनाइ छ– ‘हामीलाई जे थाहा छ, त्यो थोपा हो । जे थाहा छैन त्यो समुन्द्र हो ।’ जति जानियो, त्यति थाहा हुन्छ कि हामीले कति कम जानेका रहेछौँ । यो विनम्रता, जिज्ञासा र फराकिलो दृष्टिकोण भयो भने मात्र मानिसले सिक्दै जान्छ ।

जेनजी पुस्ताको विशिष्टता र युगको माग

यसैलाई आत्मसात गर्दै तपाईंहरूले बुझ्नुपर्ने कुरा के हो भने प्रत्येक पुस्ताले आफ्नो समयको काम गर्छ ।  म मानव जातिको विकासको सिद्धान्तमा विश्वास गर्छु । ब्रह्माण्डको उत्पत्तिदेखि जीवको उत्पत्ति, हुँदै समाज, राज्य, राजनीति र नीतिहरूको विकास सापेक्षतामा भएका छन् र यिनिहरू निरन्तर विकसित हुन्छन् । यसै सन्दर्भमा, ‘जेनजी’ भन्ने शब्दको बुझाइलाई मैले यहाँ स्पष्ट पार्न चाहन्छु । यो केवल उमेर समूह मात्रै होइन । कतिपय पुराना साथीहरू हामी पनि जेनजी थियौँ भन्नुहुन्छ, तर यो सही होइन । यो निश्चित कालखण्ड, युगलाई बताउने समूह हो ।

दोस्रो विश्वयुद्धपश्चात् पश्चिममा विज्ञान–प्रविधि र सामाजिक रूपान्तरणको तीव्र विकास भयो । यस क्रममा मान्छेको चेतना, सोच्ने शैली, आकाङ्क्षा र इच्छाहरूमा फरक पर्न थाल्यो। यसैलाई परिभाषित गर्ने क्रममा ‘बेबी बुमर’, ‘जेन एक्स’, ‘जेन वाई’ हुँदै अहिले ‘जेन जेड’ (नेपालीमा ’जेनजी’ प्रचलित) र पछि ‘अल्फा’, ‘बिटा’ जस्ता पुस्ताहरू आएका छन् । सन् १९९७ देखि २०१२ को कालखण्डमा जन्मेका र हुर्केका पुस्तालाई ‘जेनजी’ भनिएको हो ।

नेपालको सन्दर्भमा हेर्दा, सन् १९९७ मा हामी भर्खर लोकतन्त्र प्राप्ति भएको अपूर्णता महसुस गर्दै यसलाई पूर्णता दिन ठुलो विद्रोहमा लागेका थियौँ । यही समयमा विश्वमा डिजिटल प्रविधिको तीव्र विकास भइरहेको थियो । सन् २००० मा ह्युमन जिनोम प्रोजेक्ट सम्पन्न भयो र सन् २०१२ मा अहिलेको एआईको ‘ब्रेक थ्रु’ भयो । यसरी तीव्र गतिमा प्रविधि र समाज विकसित भएको यो कालखण्डमा जन्मेका मानिसहरूको चेतना, सोच्ने शैली र आकाङ्क्षा पनि स्वाभाविक रूपमा फरक हुन्छ। यसअनुरूप राज्य व्यवस्था, समाज व्यवस्था, अर्थ–राजनीति, संस्कार, संस्कृतिको पुनव्र्याख्या र राजनीति पनि नयाँ ढंगले पुनर्संगठित हुनुपर्छ ।

नेपालको लोकतान्त्रिक यात्राः अपूर्ण क्रान्ति

हामी ‘जेन एक्स’ र ‘बेबी बुमर’ पुस्ताले उपनिवेशवादको अन्त्य, राजतन्त्रको अन्त्य र लोकतान्त्रिकीकरणका लागि लड्यौँ । नेपालमा सन् १९५० देखि नै राणा र शाहको दोहोरो शासन अन्त्य गरी लोकतन्त्र ल्याउने प्रयास भयो । तर, यो अपूर्ण रह्यो । सन् १९९६ मा हामीले राजतन्त्रको अन्त्य गरी जनताले आफैँ संविधान नबनाएसम्म लोकतन्त्र पूर्ण हुँदैन भन्ने निष्कर्षमा पुग्यौँ ।

अबको लोकतन्त्र व्यक्तिगत स्वतन्त्रता र भोट हाल्ने अधिकार मात्रै होइन, प्रत्यक्ष सहभागितामूलक र समावेशी हुनुपर्छ भन्ने हाम्रो मान्यता थियो । मैले नै १२ बुँदे सम्झौताको मस्यौदा गर्दा नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक र जातपातजन्य वर्णभेदको अन्त्य गर्ने गरी राज्यको पुनर्संरचना गर्ने’ भन्ने शब्द राखेको थिएँ, जुन नेपालको संविधानमा पनि छ । हामीले त्यो गर्‍यौँ । तर समस्या के भयो भने, तीव्र गतिमा अगाडि बढ्ने क्रममा यसलाई पूर्णतामा पुर्‍याउन सकिएन। यहाँ देशभित्रको शक्ति सन्तुलन बुझ्नुपर्छ । राजनीतिमा सबै कुरा दृश्य मात्रै हुँदैन, कहिलेकाहीँ अदृश्य शक्तिहरूले पनि काम गर्छन् । हात्तीसँग कुस्ती खेल्ने होइन, जुक्तिले अङ्कुश लगाएर नियन्त्रण गर्नुपर्छ । हामीले त्यो अपुरो अवस्थामा संविधान बनाउनु पर्‍यो । संविधानसभाबाट बनेको संविधानमा हामीले राजतन्त्र फ्याँकेर गणतन्त्र स्थापना गर्यौँ, संघीयता, धर्मनिरपेक्षता र समावेशिताका कुराहरू स्थापित गर्‍यौँ ।

२०७२ साल असोज ३ गते संविधान जारी भएकै दिन मैले यो संविधान ‘आधा गिलास भरिएको र आधा गिलास खाली’ भएको बताएको थिएँ । खाली भागहरूमा शासकीय स्वरूप, संघीयताको अपूर्ण कार्यान्वयन, न्यायालयलगायत राज्यका अङ्गहरूको पुनर्संरचना, भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचित जनलोकपालको व्यवस्था लगायतका सुधारका कुराहरू पर्छन् । यी मुद्दाहरू समाधान नभएसम्म सुशासन र समृद्धि सम्भव छैन ।
पहिलो संविधानसभालाई तुहाएर र दोस्रो संविधानसभामा परिवर्तनकामी शक्तिहरूलाई कमजोर पारेर संविधान बनाइयो । त्यसपछि पुरानै शक्तिहरू सत्तामा फर्किए, जसका विरुद्ध हामी लडेका थियौँ । उनीहरूले नै १० वर्षसम्म सत्ता चलाए, जसले गर्दा स्थिति झन् बिग्रियो । हामी निरन्तर संघर्षरत रह्यौँ, तर हाम्रो शक्ति पर्याप्त थिएन ।

जेनजी आन्दोलन किन जन्मियो ?

तपाईंहरूको ‘जेनजी’ आन्दोलन यही अपूर्णता र सुशासनको अभावका कारण जन्मिएको हो । म यसलाई नेपाली लोकतान्त्रिक आन्दोलनको ‘चौथो खुड्किलो’ मान्छु र यो महान् छ । हामीले सुशासनका लागि संविधानका अपूर्णताहरूलाई पूर्णता दिँदै, आयोगहरूलाई सशक्त बनाउँदै, पुलिस प्रशासन, अदालत, सेनालगायत ब्युरोक्रेसीको पुनर्संरचना गर्नुपर्छ भनेर सुरुदेखि नै भन्दै आएका छौँ । त्यसपछि मात्रै तीव्र आर्थिक वृद्धि र समृद्धि सम्भव हुन्छ ।

हाम्रो अर्थतन्त्रको आकार सानो छ, प्रतिव्यक्ति जीडीपी १५०० डलर मात्रै छ, जुन विश्वको औसतभन्दा दश गुणा कम हो। यसलाई दश गुणा बढाउनुपर्छ । यसका लागि ‘सर्प घस्रेर होइन, भ्यागुतोझैँ उफ्रिनुपर्छ’ अर्थात् दुई दशकसम्म दुई अंकको आर्थिक वृद्धि दर हासिल गर्नुपर्छ । मैले अर्थमन्त्री हुँदा नै बजेट वक्तव्यमा यो कुरा लेखेको थिएँ ।

तर वृद्धि मात्रै पर्याप्त छैन । अमेरिकाजस्तो विकसित देशमा पनि असमानताका कारण समस्या आएका छन् । त्यसैले, वृद्धि  सँगसँगै समानता  र न्यायपूर्ण वितरणमा पनि ध्यान दिनुपर्छ । तेस्रो, पर्यावरणको संरक्षण अनिवार्य छ । हामी हिमाली भेगमा भएकाले पर्यावरणीय विनाशले हामीकहाँ झन् ठुलो समस्या ल्याउँछ । चौथो, भौतिक सुखले मात्रै पुग्दैन, आत्मीक सुख र खुसीपनको वातावरण पनि आवश्यक छ । यी चार आयाममा आधारित विकासको मोडेल हामीले अघि सारेका छौँ ।

जेनजीका लागि चुनौती र अगाडिको बाटो

तपाईंहरूको आन्दोलनलाई म ‘चौथो खुड्किलो’ भन्छु, किनकि यसले हाम्रो अपूर्ण क्रान्तिलाई पूर्णता दिने सामर्थ्य राख्छ । तर यसको बुझाइमा एकरूपता छैन र सतर्क रहनुपर्ने आवश्यकता छ । पुरानो संरचना ब्युरोक्रेसी, अदालत, सुरक्षा अङ्गहरू, अर्थतन्त्रका खेलाडीहरू उही छन् । तपाईंहरूले ल्याएको अन्तरिम सरकारलाई पनि मैले पटक–पटक जिम्मेवारीबोध गराएको छु । यदि स्पष्ट खाका र कार्ययोजनाबिना अगाडि बढ्ने हो भने यो सरकार पनि बिस्तारै ’कोप्सिँदै’ र ’क्याटलाइज’ हुँदै जानेछ, र तपाईंहरूलाई ‘क्रिमिनलाइज’ गर्ने खतरा पनि रहन्छ ।

baburam_fszzogRXSK

मैले भनेको छु ‘झुलिनु हुँदैन’ तुरुन्तै एउटा टिम बनाएर दुई, चार, पाँच वा दशबुँदे लिखित सहमति गर्नुहोस् । यसले वैधानिकता प्राप्त गर्छ, अभिलेखीकरण हुन्छ र तपाईंको आन्दोलन स्थापित हुन्छ । नत्र, मुखले बोलाएर, चिया खुवाएर, कुरा गरेर,‘ल राम्रो गर्नुभयो, जानुहोस्’ भन्दै फर्काइदिन्छन् । यसो भयो भने ‘हातले आयो, हातले गयो, भुस हुन्छ ।’ के चाहियो, लेखेर भन्नुपर्‍यो । यसका लागि केही मुख्य मागहरूमा छिटो कदम चालिनुपर्छ ।

ठुला भ्रष्टाचारीका काण्डहरूमा तुरुन्तै प्रक्रिया सुरु गर्न सकिन्छ । आयोगहरूलाई तत्काल सक्रिय र सशक्त बनाइनुपर्छ ।

विदेशमा रहेका नेपालीहरूलाई भोट हाल्ने अधिकारको व्यवस्था गरिनुपर्छ । उम्मेदवार हुन पाउने उमेर घटाएर १८ वा २१ वर्ष गरिनुपर्छ, यसलाई अध्यादेशमार्फत तुरुन्तै गर्न सकिन्छ । नागरिकताको उमेर (१६ वर्ष) र भोट हाल्ने उमेर पनि एउटै बनाउन सकिन्छ ।

बेलामा चुनाव हुनुपर्छ । यो सरकारले तपाईंहरूप्रति जवाफदेही भएर काम गरोस् । संविधानको आधा खाली गिलासलाई पूर्णता दिने आन्दोलनलाई कमजोर पार्ने शक्तिहरूबाट सतर्क रहनुपर्छ । मैले यसलाई उक्साएको होइन, तपाईंहरूको सहयोगीका रूपमा, हाम्रो आन्दोलनको पूरकको रूपमा, आधा गिलास भर्ने अभियानका सहयात्रीको रूपमा सहयोग गरेको हो । यो लिखित सहमति ढिलो भइरहेको छ, यसका लागि धर्ना गरेरै भए पनि दबाब दिनुहोस् ।

विचारको शक्ति हुन्छ, व्यक्तित्वको होइन

अब के गर्ने ? केवल उपदेश दिएर बस्ने होइन । ‘जेनजी’ पुस्ता प्रत्येक घरमा छन्; कांग्रेसका घरमा, कम्युनिस्टका घरमा, राजाका घरमा पनि । त्यसैले यो पुस्ताको पार्टी होइन, विचारको संगठन हुनुपर्छ । विचार मिल्नेहरू एक ठाउँमा आउनुपर्छ । घरपरिवारको, बाबुबाजेको परम्पराको पछि लाग्ने होइन, तपाईंहरूको अहिलेका तोडफोडका मागहरू के हुन्, त्यससँग मिल्ने शक्तिहरूसँग मिलेर नयाँ वैकल्पिक शक्ति निर्माण गर्नुपर्छ ।

हामी अहिले यसैका लागि प्रयत्नशील छौँ । केही दिनभित्रै सबै नयाँ र वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्छ र आउँदो निर्वाचनमा पुराना भ्रष्ट दलहरूलाई विस्थापित गर्ने मूल नाराका साथ एकजुट हुनुपर्छ । म यसका लागि सक्दो सहजीकरण गरिरहेको छु ।

तपाईंहरू ‘हिरो पूजा’ गरेर बस्ने होइन । यहाँ विचारको कुरा हो, एजेन्डाको कुरा हो । विचार र एजेन्डा मिल्ने नेतृत्व आवश्यक छ । विचारबिनाको व्यक्तिलाई एकछिन भगवान् बनाउनुहोला, तर भोलिपल्ट राक्षस भन्न बाध्य हुनुहुन्छ । हामीले ‘राम र  रावण’ खोज्ने होइन, असल मान्छे खोज्ने हो । त्यस अर्थमा तपाईंहरू पनि राजनीतिमा अगाडि आउनुपर्छ । मैले व्यक्तिगत रूपमा पनि नयाँ शक्ति अभियानको क्रममा विधानमा नै ४० प्रतिशत युवा प्रतिनिधित्वको व्यवस्था गरेको थिएँ । म अहिले पार्टी नेतृत्वको औपचारिक भूमिकामा नभए पनि तपाईंहरूको आन्दोलनलाई सहयोग गर्न र यसलाई संस्थागत गर्न सधैँ तत्पर छु । एलजीबीटीलगायत अल्पसंख्यकीय अधिकार र मैले उल्लेख गरेका आर्थिक नीतिहरू हाम्रो एजेन्डामा सुरुदेखि नै छन् ।

(जेनजी अगुवाहरूसँग गरेको छलफलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्तुत गरेको भनाइका आधारमा तयार पारिएको)  

सम्वन्धित समाचार :