• दुर्गा प्रसाईं राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका छन्।
  • प्रसाईंलाई हिंसा भड्काउन सक्ने आशंकामा भक्तपुरबाट पक्राउ गरी काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ।
  • पक्राउ परेका प्रसाईंमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान लगायतका मुद्दा छन्।
  • काठमाडौँ । राष्ट्र, राष्ट्रियता धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ आफ्नो अभियानका कारण कानुनी झमेलामा पर्दै आएका छन् । बैंक र लघुवित्तको चर्को ब्याजदरको विरोधका साथसाथै तिनै बैंक, लघुवित्त र सहकारी पीडितलाई सङ्गठित गरेर आन्दोलन समेत गरिसकेका पछिल्लो समय प्रसाईँले  राजसंस्था पुनर्स्थापनासहितका २७ बुँदे राजनीतिक माग अघि सारेका छन् ।
    सोही माग पूरा गर्न सरकारलाई दबाब दिन मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका उनी गएराति पक्राउ परेका छन् । प्रसाईँले हिंसा भड्काउन सक्ने निष्कर्षका साथ सरकारी योजना निर्देशनमा प्रहरी गएराति उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो। प्रहरीले उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेको छ ।

    उनको आक्रामक अभिव्यक्ति र हर्कतका कारण उनी एक वर्षको अवधिमा पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन् । क्यान्सरका बिरामी समेत रहेका प्रसाईँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको विवादास्पद अभिव्यक्तिपछि एक वर्षअघि पक्राउ परेका थिए । त्यसपछि उनी विभिन्न पक्राउ पर्दै छुट्दै आएका छन् ।

    गतवर्षको मंसिर ४ गते मेडिकल व्यवसायी समेत रहेका प्रसाईँ भक्तपुरस्थित आफ्नै घरबाट सीआईबीको टोलीबाट पक्राउ परेका थिए । उनले आफ्नो साङ्गठनिक गतिविधि सुरु गरेयता उनको त्यो पहिलो गिरफ्तारी थियो ।

    पक्राउ पर्नु केहीदिनअघि प्रसाईँले ‘फेक डकुमेन्ट’ को सहारामा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । सो अभियोगमा उनलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा रिहा गर्ने आदेश गरेपनि सो पुनः पक्राउ गरे ।  विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएपनि उनीविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको हुनाले पक्राउ गरिएको थियो ।

    भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउन उनको पनि हात रहेको आरोप त्यतिबेला लागेको थियो । सोही प्रकरणमा उनको केही सहयोगी पनि समातिएका थिए ।

    तर, उनी सर्वोच्च अदालतको आदेशपछि पुस २७ गते रिहा हुन सफल भए ।  उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसहितका अन्य केही मुद्दा पनि चलेको थियो ।

    कानुनी झमेलका बिच आफ्नो अभियानलाई उस्तै शैलीमा अघि बढाएका उनी राजतन्त्र फर्काउने उद्घोषका साथ आन्दोलनमा लागे । सोहीअनुसार २०८१ चैत १५ गते उनी नै कमान्डर बनेर राजधानीको तीनकुनेमा प्रदर्शन भयो । उक्त प्रदर्शन हिंसात्मक बनेसँगै उनी पुनः पक्राउ परे । दुई जनाको ज्यान जानेगरी भएको घटनापछि भागेर भारत पुगेका उनी चैत २९ गते पक्राउ परे ।

    प्रसाईँलाई भारतबाटै नेपाल ल्याइएको स्रोतहरूले बताएपनि नेपाल प्रहरीले भने झापाको भद्रपुर क्षेत्रबाट नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ ।

    नेपाल र भारतबिचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरूलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास रहँदै आएको छ । अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्‍याउने अभ्यास रहिआएअनुसार प्रसाईँको हकमा पनि सोही भएको बताइन्छ ।

    पक्राउ परेपछि अदालतले उनलाई जेठ ३० मा पुर्पक्षका लागि थुनामा पठायो । प्रसाईँ विरुद्ध सरकारले राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिएको थियो।

    तर, गत साउनमा उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएसँगै उनी डिल्लीबजार कारागारबाट छुटे ।

    उच्च अदालतबाट राजावादी आन्दोलनसँग जोडिएको मुद्दाका साथै बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्ने आदेश भएको थियो । कारागारबाट छुटेपछि पनि आफ्नो अभियानलाई निरन्तरता दिएका उनी जेनजी आन्दोलनबाट समेत देशले निकास पाउने स्थिति नबनेको भन्दै सरकारको विरोध गर्दै मंसिर ७ देखि आन्दोलनमा जान लागेका थिए । तर, उनी त्यसअघि नै पक्राउ परेका हुन् ।

सम्वन्धित समाचार :